PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिस नेपाल र बौद्धिकताको स्तर



मिस नेपाल र बौद्धिकताको स्तर

  • भुपेन-
केही समयअघि राजधानीको अन्नपूर्ण होटेलबाट नेपालकी 'सर्वोतम सुन्दरी' को घोषणा भयो। मिस नेपाल नामाकारण गरिएको यो उपाधिका लागि यसपटक अस्मि श्रेष्ठको नाम छानियो। कतिपयले मिस नेपालमा फेरि पनि नेवार युवती? सम्म भने। यसअघिका वर्षहरुमा प्रतियोगिताप्रति खासै चासो नभए पनि यसपटक टेलिभिजनको प्रत्यक्ष प्रसारणले मेरो ध्यान केन्द्रित गर्‍यो। आधा आकासका रुपमा संघर्षरत नारी जगतका प्रतिनिधिहरुको बौद्धिक र सौन्दर्यस्तर मापनको प्रतिस्पर्धाबारे चासो नराख्नु म जस्तो समाजप्रति चासो दिने मान्छेमाथि प्रश्नवाचन चिन्ह बन्न सक्थ्यो।

टेलिभिजन स्क्रिनमा थरीथरी मुहार आउँदा जादा भए। थरीथरीका प्रश्नको सवालजवाफ सुन्न पाइयो। तर प्रतिस्पर्धीको अन्तिम छनौटका लागि सोधिएको प्रश्न जब मेरो कानमा ठोकियो, म एक प्रकारले विचलित हुन पुगेँ। प्रश्न थियो— आरक्षण महिलाका लागि आवश्यक छ या छैन? प्रश्नका जवाफ थरीथरी वाक्यमा विभाजित भएर आए। कसैले आवश्यक छ भने त कसैले छैन भने। विजेता श्रेष्ठ आवश्यक छैन भनेर प्रतिस्पर्धामा विजयी हुन सफल भइन्।

उनको जवाफ सुनिसकेपछि म पुरुष नै भएपनि मिस नेपाल भनेर नामाकरण गरिएको यो उपाधि, जितका लागि सोधिने प्रश्न र बौद्धिकताको स्तरको तालमेलमा एकछिन सोच्न बाध्य भएँ। राज्य सञ्चालनका प्रत्येक जिम्मेवार निकाय, अङ्गप्रत्यङ्गमा हाल महिलाका लागी ३३ प्रतिशत आरक्षण अनिवार्य छ। यो व्यवस्था दयाका रुपमा नभई विगतको पितृसतात्मक समाजले महिलामाथि डोबेका डोबको बदला तथा सम्मान स्वरुप गरिएको हो। जसको प्राप्तिका लागि नारीहरुले अपार संघर्ष र वलिदानको इतिहास पनि रचेका छन्।

समग्र विकास समानुपातिक र समावेशी तवरबाट मात्र सम्भव छ भन्ने आधारभूत सिद्धान्तको आधारमा यस्तो व्यवस्था गरिएको हो। हैन भने विकसित देशका रुपमा चिनिने युरोपियन मुलुकमा आरक्षणको व्यवस्था उहिल्यै खारेज भइसकेको। यस्तो अवस्थाका बावजुद विजयी श्रेष्ठले बुझेअनुसार समग्र नेपाली नारीहरुको अवस्था केही महिला सिएनएन हिरो र राष्ट्रपति महिला हुँदैमा सुधार भइसकेको हो? अझै पनि बोक्सी, छाउपडी लगायतका जघन्य अपराध कायमै रहेको हाम्रो समाजमा राजधानीको अन्नपूर्ण होटेलबाट श्रेष्ठले गरेको मूल्याकन कति मिल्दोजुल्दो होला? मेरो विचलनको स्तर त तब बढ्न थाल्यो जब मैले विगतमा विजेता भएका नेपाल सुन्दरीहरुका प्रश्नजवाफबारे खोतल्दै गए। त्यसमा कतै एकल परिवार उपर्युक्त कि संयुक्त परिवार? बालबालिकालाई लाग्ने कुपोषण सुधारका लागि के गर्नुपर्ला? भगवान प्रकट भए के माग्नुहुन्थ्यो? जस्ता प्रश्नहरुको टुटेफुटेको जवाफका आधारमा विजयी गराइएको रहेछ। यस्ता प्रश्नको जवाफ दिन विद्यार्थी सिर्जनशील भएमा ८ कक्षाको जिल्ला स्तरीय परीक्षा दिँदा पनि नहिचकिचाउलान्। तर यहाँ वर्षौवर्ष यस्तै केटाकेटी प्रश्नको सवाल जवाफबाट बौद्धिकताको स्तर मापन गर्दै नेपाल सुन्दरी छान्ने चलन रहेछ।

मेरो हास्य पारो त झन् बढ्दै गयो जब मैले थाहा पाएँ यिनै प्रश्न तथा जवाफ तयार पार्न आयोजक संस्थाले ५ हप्ताको प्रशिक्षण, लाखौँको खर्च र तामझाम गर्दो रहेछ। सुन्दरताको मापनबारे विभिन्न किसिमका बहसहरु हुँदै आएका छन्। कसैले गोरो छाला र रङलाई सुन्दरताको मापदण्ड मान्दै आएका छन् भने कसैले सौन्दर्यता आन्तरिक र उसको व्यवहारमा सुनिश्चित हुने बताउँदै आएका छन्। तर मिस नेपाल छानिँदा सुन्दरता भन्ने शब्दको नराम्रोसँग कोपभाजन गरिएको अनुभुति मलाई भयो। सुन्दरतालाई परिभाषित गर्दै जाँदा सोच्छु, भोको पेटले रोटी सुन्दर देख्ला कि प्रेमीप्रेमिकाले एक अर्कालाई सुन्दर बताउन विम्बका रुपमा प्रयोग गर्ने जुन? पक्कै पनि भोको पेटले जुन भन्दा रोटी नै सुन्दर देख्छ। भरिएको पेटले जुन नै सुन्दर देख्छ।

यद्यपी आयोजक संस्था हिडन ट्रेजर र स्वयम् विजेता सुन्दरीहरु पनि मिस नेपाल छान्दा आन्तरिक र बाह्य दुबै सौन्दर्यको विचार गरिने दाबी गर्छन्। त्यसो हुँदो हो त मिस नेपालका हालसम्मका एकजना पनि कालो रङका महिलाको नाम अंकित किन छैन? विजेता घोषणा भइसकेपछि 'गोरो बनाउने' विभिन्न वस्तुको विज्ञापन प्रवर्द्धनमा यी सुन्दरीहरुको माग र उपस्थिति किन हुन्छ? होटेलको बन्द कोठामा केही दिनको प्रशिक्षण र तोकिएका केही सीमित नारीहरुले नेपालभरका आम उत्पीडित, शोषणमा परेका नारीको प्रतिनिधित्व गर्छन्? नेपाली नारीहरुको मूलभूत सौन्दर्य उनीहरुको अधिकारप्राप्तिसँग जोडिएको छ या फेरि पश्चिमा मुलुकबाट भित्रिएको छाला संस्कृतिसँग? के मिस नेपाल आयोजना गर्ने यो संस्थाले नेपालभरका महिलाको स्तर मापन गर्ने हैसियत राख्छ? काठमाडौं, पोखरा, धरान, विराटनगर, धनगढी, नेपालगञ्ज मात्र नेपाल हो? सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि समग्र नेपालको नाम प्रयोग गर्नु आफैमा हास्यास्पद कार्य हो।

विजेता भैसकेपछि 'सुन्दरी' हरुको एउटै आवाज सुन्निछ— म नेपाललाई विश्वमा चिनाउनेछु। तर उनीहरुको यस्तो अभियान बिकिनी लगाएको फोटो सुट गर्नु भन्दा अगाडि बढेको इतिहास छैन। नेपालमा कैयन नारीहरु छन्, जस्ले विश्वस्तरमा नेपाललाई चिनाउन योगदान पुर्‍याएका छन्। वर्षौँ मिहिनेत, परिश्रम र समाजसेवाको कदर गर्दै नेपालमात्र हैन विश्वले नै यस्ता महिलालाई सम्मान गरेको छ। सम्मान आफैमा पहिले काम, संघर्ष र त्यसपछि बल्ल सफलताको चक्रसँग जोडिएको हुन्छ। तर यी सुन्दरी प्रतियोगीताको चक्र उल्टो चल्छ। यसमा पहिले कुनै नारीलाई सम्मान गरिन्छ। एउटा ब्रान्डेड उपाधि भिराइन्छ। त्यसपछि १ डेढ वर्ष देखावटी रुपमा समाजसेवाका फुटकर  कार्यहरुमा व्यस्त बनाएजस्तो गरिन्छ। त्यसको निहित उद्देश्य पनि बहुराष्ट्रिय कम्पनीका नाफामूलक उत्पादन विक्रीका लागि उनीहरुको ब्रान्ड भ्यालु बढाउनु हुन्छ।

एउटा साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा मिस नेपाल अस्मि श्रेष्ठको अन्तवार्ता पढेर उनको चेतनास्तप्रति झनै दया जागेर आयो। मिस नेपालको औचित्यबारे प्रष्टयाउँदै उनले ४ सय बढीले विभिन्न अवसर पाएको बताएकी रहिछन्।  'सोसल फिगर' का रुपमा परिचय पाएका ती ४ सय जनाले त्यही समाजलाई के कति अवसर प्रदान गरे? यस विषयमा उनलाई के कति हेक्का छ कुन्नी? कोठे सुन्दरता र बौद्धिकता मापनभन्दा त्यो लाखौँ रुपैयाँ नारी उत्थानका काममा लगानी गरिएको भए त्यो संख्या ४ सय बाट ४ हजारतर्फ उक्लिन्थ्यो कि?

अन्त्यमा, आयोजकले यस प्रतिस्पर्धाको नाम मिस नेपाल नभएर मिस हिडन ट्रेजरसम्म राखिदिएको भए मैले मेरा औंला र मस्तिष्क यति दुखाउन आवश्यक थिएन कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell