PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

देवकीको ‘देउकी सर्च’: डकुमेन्ट्रीले रुवायो नवीना लामालाई



स्वेच्छा राउत

देवकीको ‘देउकी सर्च’: डकुमेन्ट्रीले रुवायो नवीना लामालाई

  • स्वेच्छा राउत/पहिलोपोस्ट -
काठमाडौं : पत्रकार देवकी विष्टले सुदूर पश्चिममा उन्मूलन भइनसकेको प्रथा देउकीमाथि खोजमूलक डकुमेन्ट्री ‘देवकी इन सर्च अफ देवी’ बनाएकी छिन्। कानुनले निषेध गरेको प्रथा घट्दै गइरहे पनि निमिट्यान्न नभइसकेको तथ्यलाई उनले डकुमेन्ट्रीमार्फत् आज सार्वजनिक पनि गरिन्। लामो समयदेखि भिजुअल र प्रिन्ट मिडियामा संलग्न रहँदै आएकी देवकीले डकुमेन्ट्रीमा बालिकालाई मन्दिरमा चढाउने प्रचलन नरोकिएको तथ्यसँगै त्यो तथ्य संकलनमा भोगेको कठिनाइलाई पर्दामा उतारेकी छिन्।

देवकी नाम भएको ‘फाइदा’ उठाउँदै विष्टले यो कुरीतिको खोजतलास गरेकी छिन्। ‍कुनै चाँडपर्व तथा औंशी र पूर्णिमा अहिले पनि सुदूर पश्चिमका मन्दिरमा बालिका चढाइने गरेको गरेको तथ्य खुलासा गर्नु जोखिमपूर्ण काम हो। डकुमेन्ट्री बनाउन उनले त्यो जोखिम मोलिन्। त्यसैले डकुमेन्ट्रीले पत्रकारिता र त्यसको जोखिमपूर्ण अवस्थालाई पनि अघि सारेको छ। ‘यो विषयमा खोज्न निक्कै जोखिमपूर्ण थियो,’ देवकीले भनिन्, ‘हामीले धेरैजसो भिडियो गोप्रोबाट खिच्न पर्‍यो लुकाएर।’ 
 

देवकी र देउकी संयोग

केही महिनाअघिसम्म हिमाल खबर पत्रिकमा काम गरेकी देवकीलाई यो डकुमेन्ट्री बनाउन साथ मिल्यो आफ्नै नामले। सुदूर पश्चिमबाट आएर मुलधारको पत्रकारितामा जमिरहेकी उनलाई देउकी प्रथाबारे खोज गर्ने हुटहुटीले समायो र त्यसैलाई केन्द्रमा राखेर विषय रोजिन्।

डकुमेन्ट्रीका लागि कतिपय ठाउँमा उनले आफूलाई देवकी होइन देउकी नै बताइन्। अनि गोप्रोबाट लुकाएर तीतो यथार्थका भिडियोहरु लिइन्। उनले देउकी बनाइएका महिलादेखि मन्दिरमा देउकी बनाउन चढाउने परिवारसम्मलाई फलो गरिन्। स्कुल पढ्दै गरेकी देउकीलाई पछ्याइन्, पहाड छाडेर तराई झरेकी देउकीको घरसम्मै पुगिन्। उनीहरु कसरी देउकी बनाइए बुझिन्। डकुमेन्ट्रीमा छदम देउकी बनेकी देवकीलाई उनको नामले साथ पनि दियो। त्यसैले उनकै न्यारेसन छ डकुमेन्ट्रीमा। उनी आफैँ पात्र पनि। डकुमेन्ट्री बनाउँदा उनको नामले उनलाई सुरक्षित हुन सहयोग पुर्‍यायो। देउकीको विषयमा मानिसहरु बोल्न समेत डराउने र खेद्ने रहेछन्।

बालिका चढाउने चन्दहरु

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका परिवारले पनि  बालिका चढाएका रहेछन्। यसरी चढाएका देउकीलाई उनको परिवारले घर जग्गा दिएरै राखेको रहेछ। लोकेन्द्रबहादुर चन्दले आफ्नो परिवारले देउकी राखेको डकुमेन्ट्रीमा स्वीकार गरेका छन्। चन्दले यसलाई कुरितीकै रुपमा व्याख्यासमेत गरेका छन्। पछिल्लो समय रमेश चन्दको परिवारले पनि देउकी चढाएको खुलासा डकुमेन्ट्रीले गर्छ।

बालिका चढाउनेहरुमा चन्दहरुमात्र छैन। सबै जातजातिकाले बालिका चढाउने गर्छन्। बाहुनहरुले पनि चढाउँछन्। विशेषगरी छोरा पाउन र अन्य भाकल गरी बालिकालाई मन्दिरमा चढाइने प्रचलन छ। कानुनले बर्जित गरेका कारण यसरी बालिका चढाउँदा धेरैले थाहा पाउँदैनन्।
 
देउकी चढाइएकामाथि यौन सम्पर्क गर्न सबैलाई छुट हुने प्रावधान रहेको र त्यसबाट जन्मेका सन्तानलाई कसैले पनि स्वीकार्दैनन्।
 

भाऊ १ रुपैयाँदेखि ७ लाखसम्म

देवकीले आफ्नो डकुमेन्ट्रीमा देउकी राख्‍न बालिकाको किनबेच हुने गरेको तथ्य खुलासा गरेकी छिन्।

देउकी चढाउन ‘बालिका चाहियो ल्याउनु हुन्छ?’ भन्ने देवकीको प्रश्नमा 'ल्याउने' दावी गर्छन् स्थानीय मानिसहरु।

देवकी सोध्छिन्, ‘कहाँबाट ल्याउनुहुन्छ?’

उनीहरु भन्छन्, ‘जहाँबाट भए पनि ल्याउँछौं।’

लुकाइएको क्यामराले उनीहरुको संवादलाई खिचेको छ। सुरुमा १ रुपैयाँमा बालिका किनेर चढाउने प्रचलन रहेको र अहिले ७ लाख रुपैयाँसम्म तिरेर बालिका किन्ने गरेको तथ्यलाई उनले अघि सारेकी छिन्। बाबु-बाजेले राखेको भाकल भन्दै अहिलेको पुस्ताले समेत बालिका किन्ने र मन्दिरमा चढाउने गरेका छन्।
 

राजा वीरेन्द्रले बनाए पुलिस

सुदूर पश्चिमको भ्रमणमा रहेको समय राजा वीरेन्द्रले देउकी प्रथा रहेको जानकारी पाए। त्यो थाहा पाएपछि कुरित रोक्नुपर्ने तर्क अघि सार्दै राज्यका कुन निकायमा हुन्छ मन्दिरमा चढाइएकी देउकीहरुलाई स्थान दिन निर्देशन दिए। त्यसैअनुसार नेपाल प्रहरीमा देउकी बनाइएका केही महिलाहरुले जागिरसमेत पाए। कति रिटार्यड भइसके भने कति अहिले पनि बहालै छन्।

प्रहरीमै रहेका देउकीहरुलाई देवकीले भेटेर कुराकानी गरेकी छिन्। उनीहरुलाई कसरी देउकी बनाइयो र उनीहरुको जीवनमा राजा वीरेन्द्रले कसरी परिवर्तन ल्याए भन्ने डकुमेन्ट्रीले देखाउँछ। निजी जीवनमा असर पर्न सक्ने भएकाले देवकीले खिचेका देउकीहरुको अनुहारलाई सार्वजनिक गरेकी छैनन्। ‘उनीहरुमाथि बोलेकोमा आक्रमण हुनसक्ने भएकाले मैले अनुहार नदेखाएको हो,’ विष्टले सुनाइन्।

रोइन् नवीना

काठमाडौंमा डकुमेन्ट्री सार्वजनिक भएपछि अनेरास्वियुकी अध्यक्ष नविना लामालाई बोल्न दिइयो। नविना अगाडि पुगिन्। बोल्न खोजिन् र रुन थालिन्।

‘अहिले पनि यस्तो अवस्था रहेछ’ भन्दै उनी रोइन्। र, पछाडि कुर्सीमा आएर बस्दासम्म उनी आँखाबाट आशु पुछिरहेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell