PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

उपाधि खोसिएपछि काठमाडौँ बसाइँ सरेका मुस्ताङी राजा सिकिस्त बिरामी



मुस्ताङ :  मुस्ताङी पूर्वराजा जिग्मे परवल विष्ट पछिल्लो समय सिकिस्त बिरामी भएका छन्। काठमाडौँस्थित बौद्धमा परिवारसहित बस्दै आएका ८४ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या छ।

विसं २०६२/०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै पूर्वराजा विष्टको उपाधि गणतन्त्रको कार्यान्वयनसँगै खोसिएको थियो। त्यसयता भने उनी निष्क्रिय छन्। 

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय छन्। उनीसँग अहिले पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी परवल विष्ट (अशोक), पूर्वराजकुमारी र नातिनातिनी बस्दै आएका छन्।

लोमान्थाङको राजदरबार भने अहिले खाली छ।


बिरामी रहेका कारण विष्ट उपल्लो मुस्ताङको सबैभन्दा ठूलो चाड तिजी पर्वमा दुई वर्षदेखि उपस्थित हुन सकेका छैनन्। 

दरबार निकट रहेर लामो समय सल्लाहकारका रुपमा काम गरेका लोमान्थाङका इन्द्रधारा विष्टले पाँच वर्षदेखि प्रेसरको समस्या झेल्दै आएका पूर्वराजालाई पछिल्लो समय युरिक एसिडसमेत थपिएपछि समस्या भएको बताए। 

“मान्छे त्यति राम्रो गरी चिन्न सक्नुहुन्न, औषधि सेवन गरिराख्नुभएको छ, तैपनि अवस्था सुध्रिएको छैन”, २५ वर्ष सल्लाहकारको काम गरेका विष्टले भने। उनी काठमाडौँ बसाइँ सरेदेखि पनि वर्षको एकपटक लोमान्थाङ पुग्ने गरेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell