PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ज्ञानेन्द्रको गोप्य भारत भ्रमण : भारतीय मिडियासमेत अन्यौलमा



ज्ञानेन्द्रको गोप्य भारत भ्रमण : भारतीय मिडियासमेत अन्यौलमा

काठमाडौँ :  गद्दी च्युत गरिएका राजा ज्ञानेन्द्र शाह बिहीबार अपराह्न भारत गए। शुक्रबार राति नेपाल फर्किए। निजी सचिव सागर तिमल्सिना र अंगरक्षक र अर्दलीमात्र लिएर उनी किन भारत गएका हुन्, नेपालीमात्र हैन भारतीय मिडियासमेत अन्यौलमा छन्।

नेपाल समाचारपत्रले निर्मल निवास स्रोतलाई उल्लेख गर्दै उनी अचानक भारत भ्रमणमा निस्केको र त्यसबारे आफूहरुलाई केही जानकारी नै नभएको समाचार लेखेको छ। ईश्वरराज ढकालको बाइलाइनमा लेखिएको समाचारमा यसअघि गएको पुसमा थाइल्यान्ड भ्रमणमा जानुभएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरूसँग थाइल्यान्डमै भेटघाट गरेको पनि दावी गरिएको छ। 'दरबार उच्चस्रोत' लाई उद्‍धृत समाचारपत्र लेख्छ, 'भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना छ।'

नेपाली मिडिया त अनुमानमा सीमित थियो नै भारतीय मिडिया समेत त्यही अनुमानकारितामा छन्। इकोनोमिक टाइम्सको समाचारको शीर्षक छ- के ज्ञानेन्द्र शाहले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्लान्?

जवाफ भने कुनै पनि भारतीय मिडियामा छैन।

समाचार एजेन्सी इन्डो एसियन न्युज सर्भिस (आइएएनएस) को यो समाचारमा केही मिडिया रिपोर्ट र नेताहरुको दावी भन्दै ज्ञानेन्द्रलाई भारतीय संस्थापनले निमन्त्रणा गरेको र मोदी लगायत अन्य नेताहरुलाई भेट्ने उल्लेख छ। समाचारमा कुन मिडियाको रिपोर्ट हो र को को नेताहरुले दावी गरेका हुन् भन्ने चाहिँ खुलाइएको छैन।

न ज्ञानेन्द्रको कार्यालयले र न भारतीय पक्षले भ्रमणको विषयमा विज्ञप्ति जारी गरिएको उल्लेख गरिएको समाचारमा प्रष्ट नखुलाइएको 'अ मिडिया रिपोर्ट' भन्दै उनले भारतीय प्रम मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुशमा स्वराज र भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली नेताहरुलाई भेट्ने उल्लेख छ।

त्यतिमात्र होइन समाचारमा ज्ञानेन्द्रलाई बिहीबार त्रिभुवन विमानस्थलमा देख्नेहरुले नयाँ दिल्ली जान लागेका उनी 'अपबिट मूड' मा रहेको समेत बयान गर्न भ्याएको छ।

समाचारमा एउटै कोट एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको छ, उनले पनि यति मात्र भनेका छन्- 'हामीले सुनेका छौँ उनले नयाँ दिल्लीमा यस पटक हाइ प्रोफाइल भेटघाट गर्दैछन्।'

सेरेमोनियल राजतन्त्र फर्काउने एजेन्डा !

अर्को मिडिया आउटलुकले ज्ञानेन्द्र निजी भ्रमणमा रहेको र एउटा धार्मिक कार्यक्रममा सहभागी हुने र केही राजनीतिक नेताहरुलाई भेट्न सक्ने उल्लेख गरेको छ।

विगत आठ वर्षमा उनले आधा दर्शनभन्दा बढी पटक भारत भ्रमण गरेको लेख्दै समाचारमा भारत भ्रमणको एजेन्डामा हिन्दु राजतन्त्र कुनै किसिमको सेरेमोनियल ढाँचामा पुनर्स्थापना गर्ने एजेन्डा हुनसक्ने अनुमान गरिएको छ।

ज्ञानेन्द्रसँग उनी राजा रहेको बेला भाजपा नेताहरुको निकट सम्बन्ध रहेको पनि समाचारमा उल्लेख छ।

नयाँ दिल्लीमा उच्च स्तरको भेटघाट हुनसक्ने भन्दै ज्ञानेन्द्र निकटको नाम नखुलाइएको स्रोतलाई समेत समाचारमा उल्लेख गरिएको छ।  

ज्ञानेन्द्र शुक्रबार राति नै फर्किसके पनि कुनै पनि भारतीय मिडियामा उनले उच्चस्तरीय भेटघाट गरे/नगरेको समाचार आएको छैन। न भारतीय प्रधानमन्त्री मोदी लगायतका नेताहरुले भेट भएको आधिकारिक रुपमा जानकारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell