PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टुट्यो दरबारमार्गको नाङ्लो साइनो



टुट्यो दरबारमार्गको नाङ्लो साइनो

काठमाडौँ : ३८ वर्षदेखि दरबारमार्गमा सञ्चालन हुँदै आएको नाङ्लो रेस्टुरेन्ट अचानक बन्द हुने सूचना आइतबार छापियो। आज यो रेस्टुरेन्टका संरचना भत्काउन सुरु भएको छ। 

शनिबार सबै कर्मचारी पिकनिकमा रमाइरहेको बेला सञ्चालकले रेस्टुरेन्ट बन्द गर्ने घोषणा गर्नुअघि कसैलाई यसबारे सुँइकोसमेत थिएन। काठमाडौँको फास्टफुड कल्चरसँग जोडिएको ब्रान्डका रुपमा परिचित नाङ्लोको दरबारमार्ग साइनो अब टुटेको छ। 


१९ वर्षदेखि नाङ्लोमा काम गरिरहेका स्वतन्त्र होटल मजदूर युनियन नाङ्लो इकाइका उपाध्यक्ष धनबहादुर थापा भन्छन्, ‘हामी त खुशीमा रमाइरहेका थियौं, एक्कासी यस्तो खबर सुन्यौं, के गर्ने कसो गर्ने अहिलेसम्म कुनै टुंगो छैन।‘ रेस्टुरेन्ट बन्दको घोषणासँगै त्यहाँ कार्यरत ८० जनाको रोजीरोटी खोसिएको छ। 

नाङ्लो रेष्टुरेन्ट नचलेर बन्द भएको होइन। काठमाडौंका अरु रेष्टुरेन्टले जस्तो यसले ग्राहक पर्खनु पनि पर्दैनथ्यो।

‘कम्तिमा पनि दैनिक चार लाख रुपैयाँको कारोबार हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘यहाँ पिक डेमा सातलाख रुपैयाँसम्मको कारोबार भएको हामीलाई थाहा छ।‘

कर्मचारीहरु पनि रेष्टुरेन्ट बन्द हुनुको कारणबारे बेखबर जस्तै देखिन्छन्। ‘हामी त रमाइरहेका थियौं, एक्कासी सरले भोलिबाट बन्द हुन्छ भन्नुभयो,’ युनियनका सचिव सोमनाथ देवकोटाले भने, ‘सबै साथीहरुलाई हाम्रो सम्पर्कमा रहन भनेका छौं, के गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन।‘ 

कर्मचारी युनियनका प्रतिनिधि पनि अब आफ्ना माउ युनियन गुहार्ने मुडमा पुगेका छन्। उनीहरु आ-आफ्ना माउ युनियनकोमा पनि पुगिसकेका छन्। ‘जिफन्टको कार्यालयमा हाम्रो टोली पुगेको छ,’ सचिव देवकोटाले भने, ‘यहाँ सल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने निश्कर्ष निकाल्छौं।‘


नाङ्लो बन्द हुनुको कारण व्यवस्थापन पक्षले सार्वजनिक गरेको छैन। उसले 'अनएभोइडेबल सर्कमटान्सेस' अर्थात अकाट्य परिस्थितिका कारण रेस्टुरेन्ट बन्द भएको जनाएको छ। 

नाङ्लोका प्रबन्ध निर्देशक गोपालसुन्दरलाल कक्षपतिले रेस्टुरेन्ट बन्द हुनुमा भाडाको विवाद पनि एउटा कारण भएको बताए। नाङ्लो प्रालि रहेको दरबारमार्गको जग्गा स्वर्गीय दयारामभक्त माथेमा तथा स्वर्गीय भुवनेश्वर अमात्यको नाममा छ। भुवनेश्वर अमात्यका छोरा गायक योगेश्वर अमात्य हुन् जो शनिबार मात्रै दुई महिनाका लागि लन्डन उडेका छन्। दुर्इ जनासँग नाङ्लोले मासिक दस लाख रुपैयाँमा जग्गा भाडामा लिएको थियो।

'अहिले भाडा रिभिजनको कुरा पनि चलेको थियो तर रेस्टुरेन्ट नै बन्द हुनुमा त्यो मात्रै कारण होइन्', नाङ्लो सम्बद्ध स्रोतले भन्यो, 'रेस्टुरेन्टका लागि लिएको जग्गाको मासिक भाडा दस लाख रुपैयाँ पुगेको पहिले नै हो। उहाँहरुले तिर्दै पनि आउनु भएको थियो।'

श्रोतका अनुसार भाडाभन्दा पनि विवाद अन्यत्र छ। 'नाङ्लो बेकरीमा भाडाको विवाद भने पनि यो कक्षपति परिवारको विवाद हो', स्रोतले भन्यो,  'रेस्टुरेन्ट बन्द हुनुमा कक्षपति दाजुभाइबीचको विवाद प्रमुख देखिन्छ।'






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell