
- स्वेच्छा राउत -
व्यवसायिक रुपमा पनि राम्रो सफलता हात पारेको मञ्जरी प्रदर्शनअघि भने विवादमा परेको थियो। चलचित्र विकास बोर्डले मञ्जरीमा १० वर्षीय बालकले कोकाकोलामा पिसाब फेरेको दृश्यलाई कैची लगायो। दृश्यले बाल मनोविज्ञानमा असर गर्ने भन्दै सो दृश्य चलचित्रबाट हटाइएको थियो।
निर्देशक गणेश देव पाण्डेले,'बलात्कार गरेको, बेड सिन, काटमार गरेको दृश्य चाहि नराम्रो हुँदैन, देखाइन्छ भने कुनै बच्चाले पिसाब फेरेको दृश्य ब्लर गरेर देखाउनु चाहि कसरी नराम्रो भयो?' भन्दै प्रतिवाद गरेका थिए।
विवादमा आएको दृश्यमा कैंची लगाएपछि प्रदर्शन भएको मञ्जरीले दर्शकको मन र बजार दुवै जित्यो।
गणेशदेव पाण्डेकै निर्देशनमा बन्न लागेको चलचित्र फेरि विवादमा आएको छ। चलचित्र निर्माणका लागि अनुमति लिन चलचित्र विकास बोर्ड पुग्दा बोर्डले 'गाँजाबाजा' को फाइल दर्ता गरेको थियो। निर्माण टिमले सरकारलाई राजस्व पनि बुझाएको दाबी गरेको छ। तर, दर्ता भएको प्रमाणपत्र लिन जाँदा भने बोर्डले "गाँजा" लागु औषधको नाम भएकाले फिल्ममा त्यो शब्द राख्न नमिल्ने भनेर 'गाँजाबाजा'लाई रोक लगाएको छ।
निर्देशक पाण्डेले भने, 'हामीले प्रक्रिया अनुसार काम गरेका छौं। पहिले फाइल दर्ता गर्नेले किन पछि प्रमाणपत्र दिएनन्? कानुन थाहा थियो भने 'गाँजाबाजा' नाममै फाइल दर्ता गर्दा किन राजस्व तिराइयो?'
फिल्ममा दुई पात्रले गाँजा खाएपछि जिन्दगीमा बज्ने बाजाको कथा देखाइएको छ। त्यसैले त्यही नाम फिल्मको लागि उपयुक्त हुने उनले बताए। २०७२ को फागुनदेखि निर्माण टोली र चलचित्र विकास बोर्डबीच लम्बिएको विवाद २०७३ वैशाख २३ गते देखि भने कानुनी रुपमा अगाडि बढ्दै छ।
चलचित्र विकास बोर्डसँग कानुनी मुद्दा लडेरै, नाम किन भएन? भन्ने प्रश्नको जवाफ माग्ने निर्देशक पाण्डेले जानकारी दिए।
स्क्रिप्ट, स्पटदेखि गीत संगीतको काम धमाधम भइरहेको फिल्मको विवाद सुल्झिएपछि मात्र सुटिङको काम अगाडि बढ्नेछ।