PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'रेस्पेक्ट' साथ बाबु बोगटीले भने- 'गायन मेरो तपस्या हो'



स्वेच्छा राउत

'रेस्पेक्ट' साथ बाबु बोगटीले भने- 'गायन मेरो तपस्या हो'

काठमाडौं : टिभीमा अरुले गाएको गीतमा नाच्दै गरेको देखिने बाबु बोगटी बिस्तारै आफू पनि गायक बने। अभिनयमै स्थापित हुन मेहनत गर्ने क्रममा उनले 'सान्नानी तिमीलाई हिर्काउला लौरीले गीत गाए। गीत हिट भएपछि उनको चर्चा चुलियो।

त्यो गीतको क्रेज आजसम्म यस्तो छ कि अहिले पनि कतै कन्सर्टमा सहभागी हुँदा उनले यो गीत गाउनैपर्छ। त्यसपछि उनले चार वटा एकल एल्बम पनि निकाले। गीत हिट हुँदै थियो। बीचमा उनले गीतको भिडियोमात्र होइन ठूलो पर्दाको फिल्ममा अभिनय गरे। अहिले उनले अभिनय गरेको ‘बाटोमुनिको फूल-२’ ले पनि राम्रो चर्चा र व्यावसायिक सफलता हात पारिरहेको छ।

फिल्मकै काममा व्यस्त भइरहँदा बाबुले पाचौं एल्बम 'रेस्पेक्ट' बजारमा ल्याएका छन्। संगीतकर्मी गणेश रसिक, गीतकार डा.कृष्णहरि बराल, अभिनेत्री करिश्मा मानन्धर, संगीतकार तथा गायक जेम्स प्रधान, फिल्मकर्मी मोहन निरौला लगायतले उनको एल्बमलाई संयुक्त रुपमा विमोचन गरे। एल्बम विमोचनसँगै बाबुले तुलसी इन्टरटेनमेन्टको तर्फबाट क्यान्सरपीडित गायिका तारा थापालाई १ हजार १ सय ११ नगद सहयोगका साथ सम्मान गरे।

'ठूलालाई सम्मान र सानालाई माया' यो उनको नयाँ एल्बम रेस्पेक्टको स्लोगन हो। 'ठूलालाई सम्मान, सानालाई माया, यो भनाइ म सधैं व्यवहारमा पनि उतार्छु। र मेरा 'र' बाट नाम सुरु भएका एल्बम सफल हुने भएरै ‘रेस्पेक्ट’ राखेको हुँ', एल्बमको नाम र स्लोगन बारे बोल्दै उनले भने।

कलाकारिता र गायनमध्ये कुनमा खुसी हुनुन्छ भनेर सोध्दा उनले भने, 'अभिनय पनि पाएसम्म छोड्दिन तर गायन त मेरो तपस्या हो, सधैं गरिरहन्छु।'

सार्वजनिक एल्बममा आठ गीत समावेश छन्। कार्यक्रममा एल्बममा रहेका 'माया मिठो सालीको' र 'धेरैपछि' गीतको म्युजिक भिडियो पनि देखाइयो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell