PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बरु फिल्म छाड्छु, संगीतको नशाबाट निस्कन सक्दिनँ : बाबु बोगटी



स्वेच्छा राउत

बरु फिल्म छाड्छु, संगीतको नशाबाट निस्कन सक्दिनँ : बाबु बोगटी

  • स्वेच्छा राउत/पहिलोपोस्ट
बज्दैन मुर्चुंगा छैन बिनायो
सारंगीको तार आज
सारंगीको तार आज कसले छिनायो
बज्दैन मुर्चुंगा…
 
सुरुमै आफ्नो पाँचौं एल्बमको गीत गुनगुनाएर बाबु बोगटीले कुरा सुरु गरे।
 
नेपाली संगीतिक क्षेत्रमा १८ वर्षको यात्रा पूरा गरेका बाबुले यसै सातामात्र पाचौं एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक गरिसकेका छन्। सधैं प्रेमिल, रमाइलो अनि ठट्यौली गीतमा नाच्दै गरेको वा त्यस्तै शैलीको गीत गाएको सुनिने बाबुले पुराना लोकबाजाबारे नै गीत गाएको सुन्दा अनौठो लाग्न सक्ला। तर उनी पुराना बाजागाजातिर फर्कनुका केही कारण छन्।
 
लोप हुँदै गएका र प्रयोगमा कमी आएका र लोकबाजाको प्रयोगबारे बाबुले भने, 'सारंगी र मुर्चुंगाजस्ता बाजा हाम्रो संस्कारको पहिचान हुन्। संस्कारबाटै हामीले गीतसंगीत सिकेका हौं।’ यही कारण पनि गीतमा सारंगी र मुर्चुंगा जोडिएको उनको तर्क छ।
 
आफ्नो नयाँ एल्बमलाई नयाँपन दिन पनि 'बज्दैन मुर्चुंगा' बोलको गीत समावेश गरेको उनो बताउँछन्।
 
 प्राय: माया, प्रेमका रसिक शब्दलाई केन्द्रमा राखेर गीत गाउने बाबुले एल्बममा श्रोताको लागि अर्को एउटा सरप्राइज दिएका छन्। ‘रेस्पेक्ट’मा विछोडको कथा झल्कने गीत पनि छ।
 
धोकापछिको कथा देखाइएको सो गीतको भिडियोमा बाबु स्वयंले अभिनय गरेका छन्। हँसिलो अनुहारका बाबुलाई उनका दर्शकले विरहपूर्ण गीतमा बिरलै देख्न पाउँथे। यो एल्बमसम्म आइपुग्दा उनले आफ्ने शैलीमा फरकपन भित्र्याएका छन्।
 
शास्त्रीय संगीत सिके पनि सधैं अन्य शैलीका गीतबाट लोकप्रियता कमाए उनले। तर यसपटक भने क्लासिकल गीत गाएर बाबु सबै खालका गीत गाउन सक्छन् भन्ने साबित पनि गरिदिए।
  
'एउटै खालका गीत गाएर मात्र सधैं श्रोताको साथ पाउन सकिँदैन। फेरि यो क्षेत्रमा दर्शक-श्रोताको साथ, मायाबिना नाम अनि दाम दुवै कमाउन गाह्रो छ,’ बाबुले खुलाए, ‘श्रोताकै लागि भनेर पनि फरक शैलीका गीत समेट्ने कोसिस गरेको हुँ।'
 
केही वर्षयता फिल्ममा व्यस्त भएका उनी कुशल अभिनेताका रुपमा चिनिन थालेका छन्। 'बाटोमुनिको फूल'जस्तो चर्चित फिल्म खेलेका उनलाई ‘फिल्म पाएपछि संगीत क्षेत्रबाट हरायो’ भन्ने आरोप पनि लाग्यो। आफूलाई लागेको आरोप र आफ्नो गीत मन पराउने सयौं श्रोताको प्रतीक्षा तोड्नकै लागि पाँचौ एल्बम लिएर आएको उनी ढुक्कसाथ सुनाउँछन्।
 
तपाईंको पहिलो प्राथमिकता फिल्म कि संगीत? पहिलोपोस्टको प्रश्नमा उनको जवाफ थियो, 'गीतको एल्बम दुई-तीन वर्षमा एउटा निस्किन्छ, फिल्म पनि मैले एक वर्षमा एक-दुई वटा नै गर्ने हो। कहिलेकाहीँ एउटाको लागि समय दिँदा अर्को छुट्छ।'
 
गायनलाई उनी आफ्नो पकडभित्रको कुराको रुपमा लिन्छन्। ‘आफैं लेख्छु, आफैं संगीत भर्छु, आफैं गाउँछु,’ संगीतको नशामा चुर्लुम्म डुबेका बाबु भन्छन्, ‘संगीत त मेरो तपस्या हो। फिल्म पाउन पनि सक्छु नपाउन पनि। तर गीतसंगीतबाट म टाढा हुन सक्दिनँ।'
 
पहिलो एल्बम ‘रिजल्ट’ र दोस्रो ‘रिक्वेस्ट’ दुवै सफल भएका थिए। उनले पाँचौं एल्बमको नाम पनि ‘र’बाटै जुराए।
 
'आर बाट एल्बमको नाम राख्दा केही फलिफाप होला कि,' रहस्य खुलाउँदै उनी मज्जाले हाँसे।
 
नेपाली सांगीतिक बजारको अहिलेको अवस्थामा एल्बम निकाल्नु व्यावसायिक रुपमा जोखिम मोल्नु हो। एल्बम बेचेर कमाउँछु भन्ने अवस्था छैन। बाबुले त्यो जोखिम मोल्ने आँट गरेका छन्।
 
'गीत राम्रो गाउन सके जस्तो अवस्थामा पनि हिट हुन्छ। हिट भए स्टेज शो टुट्दैन,’ सांगीतिक बजारको अवस्था र आफ्नो एल्बमबारे उनले भने, ‘दर्शकको माया र सबै खालको सन्तुष्टि त्यस्तै कार्यक्रमबाट मात्रै पाइँदो रहेछ।'

(सबै फोटो उनकै फेसबुक पेजबाट लिइएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell