PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फिल्म रिभ्यू : नयाँ अनुहार, पुरानो कथा



स्वेच्छा राउत

फिल्म रिभ्यू : नयाँ अनुहार, पुरानो कथा

काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीले मारेको फड्को र फेरेको धारका कारण नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्च्याउने दर्शकको भिडमा कमी आएको छ। नेपाली फिल्मको चढ्दो व्यवसाय र फिल्म हलहरुमा देखिने बढ्दो दर्शकको भिडले यसलाई प्रष्ट पार्छ।
 
युवावस्था, प्रेम, रहस्य आदिलाई मुख्य विषय बनाएर नयाँ धारका चलचित्र बन्ने क्रम बढिरहेको छ। यही सिलसिलामा अधिकारी ब्रदर्सले गत शुक्रबारदेखि युवा प्रेममा आधारित 'के म तिम्रो होइन र?' प्रदर्शनमा ल्याएको छ।
 
मल्टिप्लेक्स र हलहरुमा चलिरहेको फिल्ममा युवा प्रेम, घरेलु सम्बन्ध, पूर्वाग्रह, अविश्वास, षड्यन्त्र, एक्सन सबै देखाएर मसलेदार बनाउन खोजिएको छ। आधुनिक जीवनशैली, प्रेम र एक्सन मिसाएर नयाँपन दिन खोजे पनि फिल्ममा पुरानै धारको कथानकको झल्को पाइन्छ।
 
अभय, श्रीया, बबी, नेहा, बिक्कीजस्ता मुख्य पात्रको वरिपरि फिल्मले फन्को मारेको छ। श्रीया र बिक्कीको विवाह पारिवारिक सम्बन्धका कारण तय भइसकेको हुन्छ। श्रीयाको जीवनमा खराब आचरण भएको बिक्कीलाई आउन नदिन अभयले निकै प्रयास गर्छ। अन्तत: अभय र श्रीया नै प्रेममा पर्छन्। त्यसपछि बिक्की र उसको दाइले बुन्ने षड्यन्त्र अनि योजनाबद्ध अपराधले फिल्मलाई उत्कर्षमा पुर्‍याउँछ।

फिल्म कस्तो बन्छ भन्ने कुरा चलचित्रको कथाले निर्धारण गर्छ। तर 'के म तिम्रो होईन र?' मा कथा कम एक्सन ज्यादा छ। नयाँ कलाकारको इन्ट्रीमार्फत आधुनिक जीवनशैलीलाई प्रस्तुत गर्न खोजे पनि फिल्मको कथामा दर्शकले नयाँपन पाउँदैनन्।  सुरुवातदेखि नै एक्सनमा जोड दिएकाले पनि फिल्म हेर्दै जाँदा साउथ इन्डियन फिल्मको याद आउँछ।
 
फिल्मका नाटकीय पटकथाले पनि दर्शकलाई निराश बनाउँछ। 'म गल्ती गर्दिनँ, गल्ती गर्नेलाई छोड्दिनँ', '१८ महिना ६ दिन तिमीबिना, न भोक न निद्रा' जस्ता संवाद प्रयोगले पटकथा लेखनको कमजोरी प्रष्ट पार्छ। १८/१९ महिनापछि नायिकाको जन्मदिन आउनु, अभयले श्रीयालाई लिएर आमाको पार्लरमा जाँदा पनि आमाले अभयलाई नचिने जस्तो गर्नु, पहिलो नजरमै मन परेको केटीका लागि सिंगापुरको यात्रा रद्द गर्नु, टाउको र गर्दनमा गम्भीर चोट लागेर बेहोस भएको नायक मोबाइलको रिङटोन सुनेर उठ्नुजस्ता दृश्यले कथा सतही बनेको छ। अझ हिरोको सिक्स प्याक देखाउने होडमा रड र अन्य हतियारले पिटिएको ज्यानमा कुनै घाउचोट नदेखाइनु निकै हास्यास्पद लाग्छ।
 
फिल्ममा प्राय: नयाँ कलाकार देखिन्छन्। यसै फिल्मबाट डेब्यु गरेका नायक आर्यन अधिकारीले भने आफ्नो अभिनयबाट चरित्रलाई न्याय गरेका छ्न्। अन्य कलाकारको तुलनामा उनको अभिनय राम्रो छ। तर फिल्ममा उनको अभिनयभन्दा बढी एक्सनका कारण कुनै पनि प्लटमा नयाँपन पाइँदैन।

त्यस्तै आफ्नो चरित्रलाई कुशलतापूर्ण न्याय गरेकी छिन् नेहा अर्थात् सबिना गोपालीले। उनी फिल्ममा बबीको प्रेमिकाको भूमिकामा देखिन्छिन्। फिल्मकी नायिका मरिस्काले अभिनय गर्न मेहनत गरेको देखिन्छ तर हेरिरहँदा उनको नाटकीय संवादले चरित्रलाई न्यायपूर्ण ढंगले बोक्न सकेको लाग्दैन। फिल्ममा पुराना दुई नायिका गौरी मल्ल र मिथिला शर्माको अभिनय जीवनेत छ तर त्यसको तुलनामा अन्य पात्रहरुको अभिनय र संवाद निकै कमसल लाग्छ।

निर्देशकको रुपमा आकाश अधिकारीले आफ्ना पुराना फिल्मको तुलनामा 'के म तिम्रो होइन र?' मा नयाँपन दिन खोजेका छन्। पटकथा र एक्सनको नाटकीय प्रस्तुति अनि केही कलाकारको फितलो अभिनयले उनको कोसिसमा सन्तुष्ट हुन सकिन्न।
फिल्मको संगीतमा भने वसन्त सापकोटाले निकै मेहनत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell