PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मल निवाससँगै दरबारको पुर्ख्यौली जग्गामा विलासी मल र अत्याधुनिक होटल



विज्ञान अधिकारी

काठमाडौं : अधिराजकुमार रहँदा व्यवसायीको छवि बनाएका पूर्व राजा ज्ञानेन्द्र शाह फुर्सदमै रहे पनि अहिले कुनै व्यवसायसँग देखिने गरी जोडिएका छैनन्। तर, उनको निवाससँगै जोडिएको भाइ धीरेन्द्रको पुर्ख्यौली घरमा भने व्यवसायिक गतिविधि सुरु भएको छ।

मुलुककै भिभिआइपी एरिया मानिने महाराजगञ्जको निर्मल निवाससँगै जोडिएको जीवनकुञ्जमा अत्याधुनिक मल र होटेल बन्नका लागि काम सुरु भएको छ। धीरेन्द्र शाहको नाममा रहेको ३५ रोपनी जग्गाभित्र अत्याधुनिक होटेल र मल बनाउन पुराना संरचना भत्काउन थालिएको हो।

उत्तरमा केही पर अमेरिकी राजदूतावास, दक्षिणमा निर्मल निवास र पश्चिममा मेन रोड र त्यसभन्दा पारी शिक्षण अस्पताल रहेको जीवनकुञ्ज महँगो ठाउँ हो। यहाँ एक महिनाभित्रै घर भत्काइसक्ने र त्यसपछि आधुनिक बिल्डिङ बनाउन काम सुरु हुने स्रोतले बतायो। जीवनकुञ्जमा बस्दै आएका धीरेन्द्रका छोरी शिताष्मा र दिलाशा पुर्ख्यौली सम्पत्ति भाडामा लगाएर भैसेपाटीमा बस्न थालिसकेका छन्।
 
स्रोतका अनुसार धीरेन्द्रका यी दुई छोरीले जीवनकुञ्जभित्र होटल र मल बनाउनका लागि महत्वपूर्ण ठाउँमा रहेको ३५ रोपनी जमिन ४० वर्षका लागि लिजमा दिएका हुन्। रोयल फेमेलीसँग जग्गा लिएर लेमनग्रास इन्टरनेसनल समूहले अत्याधुनिक होटल र मल बनाउन सम्झौता गरेको हो।
 
लेमनग्रास समूहले अहिले पनि लाजिम्पाटमा सिटी होटल एन्ड स्विट संचालन गरिरहेको छ। एनएलजी इन्स्योरेन्सका अध्यक्ष कुश मल्लीको डाउनटाउन विल्डिङ भाडामा लिएर सिटी होटेल संचालन गरेको समूहले नै जीवनकुञ्जमा होटल र मल संचालन गर्न लागेको हो।
 
लेमनग्रास समूहका अध्यक्ष कविरजंग थापा हुन्। थापाले केही समय र्‍याडिसन होटेलमा फूड एन्ड वेभरेज म्यानेजर भएर काम गरेका थिए। उनीसँगै सीमान्त गुरुङ प्रमुख साझेदार हुन्। अहिले मल र होटेल बनाउने सबै काम गुरुङले नै हेरेका छन्। एक महिनाभित्रै घर भत्काउने काम सकिएपछि मल निर्माण सुरु हुने बताउँदै स्रोतले भन्यो, 'काठमाडौंकै ल्याभिस मलको निर्माण गरिनेछ।'
 
स्रोतका अनुसार मल र होटलसँगसँगै निर्माण गरिने भए पनि अन्तर्राष्ट्रिय चेनसँग जोड्ने हिसाबले पाँच तारे होटल निर्माण गर्ने सोचमा संचालक छन्। प्राइम लोकेसनमा रहेकाले पाँचतारे होटलका लागि यो समूहले अन्तर्राष्ट्रिय चेन खोज्न थालेको हो। स्रोतका अनुसार यसका लागि यहाँ होटेल संचालन गरिरहेका समूहहरुसँग छलफल भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell