PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आशिकी ब्वाय राहुल रोय पुगे ऋषि धमलाको क्लबमा, आज होटल अन्नपूर्णमा कार्यक्रम



स्वेच्छा राउत

आशिकी ब्वाय राहुल रोय पुगे ऋषि धमलाको क्लबमा, आज होटल अन्नपूर्णमा कार्यक्रम

काठमाडौँ : ९० को दशकमा तहल्का मच्चाउन सफल हिन्दी फिल्म आशिकीका हिरो राहुल रोय बिहीबार भृकुटीमण्डपस्थित ऋषि धमलाको रिपोर्टस क्लबमा देखिए। 

'नेपाली युवा जमातमा बलिउड आकर्षण बनेको थाहा छ। उनीहरुले हिन्दी कला र कलाकारलाई माया गर्छन्। त्यसैले १० वर्ष पछिको मेरो कमब्याकमा नेपाल भ्रमण फलदायी बन्न सक्छ,' क्लबको ड्यासमा उभिएर उनले भने। 

पूजा भट्टको फिल्मबाट पुन: बलिउड इन्ट्री गर्न लागेका  उनले बोल्न सुरु गर्दा भने,'म इङ्गलिसमा राम्रो छु। तर मलाई हिन्दीमा बोल्दा खुशी मिल्छ।'

उनले नेपाल दोस्रो पटक घुम्न आउन पाउनुको खुशी व्यक्त गरे। उनी आगामी ६ दिन सम्म नेपालमा रहनेछन्। तर कहिले कता घुम्दै छन् चाहीँ खुलाउन चाहेनन्।

रोयले भने,'म कुनै स्टारडम नदेखाई एउटा साधारण मान्छे बनेर घुम्न चाहन्छु।' 

शुक्रबार होटल अन्नपूर्णमा हुन लागेको डिजाइनर कन्टेस्ट 'भोइज अफ क्रियसन–२'को शोज् टपरको रुपमा सहभागी हुन रोय र टिम नेपाल आएका हुन्। उनिसँगै चर्चित भारतीय बिकिनी मोडल साधना सिङ र फेसन कोरियोग्राफर एंव मोडल लक्की, तस्जिन अली सुरी लगायतका मोडलहरु आएका छन्। 

भोइज अफ क्रियसनको यो दोस्रो संस्करण हो। यस अघि २०१४ मा सो कार्यक्रम आयोजना भएको थियो। भूकम्पको कारण एक वर्षको ग्यापमा मात्र आयोजना गर्न लागिएको शोमा नेपालसँगै अफ्रिका र घानाका फेसन डिजाइनरले पनि आफ्नो डिजाइन प्रस्तुत गर्दै छन्। 

नेपालबाट इन्दिरा जोशी, केकी अधिकारी, सुष्मा कार्की, स्वस्तिमा खड्का लगायत २५ कलाकार र्‍याम्पमा देखिने आयोजकहरुले बताएका छन्। पुरुष तर्फ पहिलो इन्टरनेशनल नेपाली मोडल दीपक घिमिरे पनि  विभिन्न डिजाइनका लुगामा देखिने छन्। 

डिजाइनर कन्टेस्टमा प्रथम हुने डिजाइनरले नगद पचास हजार रुपैंया सँगै भारतीय डिजाइनर महेश भट्टसँग काम गर्ने अवसर पाउने दावी आयोजकले गरे।
 
कार्यक्रम आयोजक अमित झाले भने,'नेपालमा फेसन र डिजाइन अझै ओझेलमा परेको छ। यो प्रतियोगिताले डिजाइनरहरु प्रोत्साहन गर्न मद्दत गर्छ भन्ने आशा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell