PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घिमिरे युवराज भन्छन्- ‘जीवन जटिल छ, नाटकमा खुसी र मज्जा दुवै छ’



स्वेच्छा राउत

घिमिरे युवराज भन्छन्- ‘जीवन जटिल छ, नाटकमा खुसी र मज्जा दुवै छ’

बुवाआमा चाहन्थे- छोरोले ‘कमर्स’ पढोस् र धेरै पैसा कमाउने मान्छे बनोस्। तर उनको रुचि थियो कला-साहित्यमा।
 
२०५४ सालमा उच्च शिक्षाका लागि मोरङको इन्द्रपुरबाट काठमाडौं आएपछि घिमिरे युवराजले चाहेर पनि साहित्य पढ्न पाएनन्। मीनभवन क्याम्पस भर्ना भए र परिवारकै दबाबमा कमर्स पढ्न थाले।
 
सानो छँदा बुवा कथा, कविता र नाटकहरु खुब पढ्ने। दराजभरि साहित्यका किताब हुने नै भयो। कसोकसो युवराज पनि साहित्यतिर आकर्षित हुन थाले। बुवाले पढ्न ल्याएका कथा, कविता, नाटकका किताब पढ्थे उनी। यसरी सानैदेखि साहित्य उनको रुचिको विषय बन्यो।
 
जनता माध्यमिक विद्यालय पढ्दा त उनी नाटकमा अभिनय गर्ने भइसकेका थिए।
 
यसरी नाटकप्रतिको आकर्षणले उनलाई तान्दै लग्यो। कलेज आइपुग्दा पनि उनी  नाटकका किताब खोजीखोजी पढ्थे। कुनै कार्यक्रम भइहाल्यो भने नाटकमा अभियन गर्न आफैं अगाडि सरिहाल्थे।
 
भर्खर विद्यालय छोडेर कलेज पढ्न थालेको युवा जोस हो या मार्न नचाहेको रहरको परिणाम- नाटक सिक्न जोस्सिए। नाट्य तालिमको भर्ना खुलेको विज्ञापन पढे, फाराम भरे र राष्ट्रिय नाचघरमा नाटक सिक्न थाले। वीरेन्द्र हमाल, सुनील पोखरेल, प्रभाकर शर्मा, अनुप बरालजस्ता नाट्यकर्मीको उनी चेला बनेर निस्किए।

तर सहपाठीहरुमा द्विविधामा थिए- भविष्यमा नाटक या अरु नै केही पो गर्ने हो कि?
 
नाटकलाई नै निरन्तरता दिन्छु भन्ने त युवराजलाई पनि लागेको रहेनछ। ‘नाटक सिक्ने अवस्था जस्तो भए पनि अवसर राम्रो थियो,’ उनी नोस्टाल्जिक बने, ‘थाहा थिएन, नाट्य यात्रा कहाँसम्म पुग्छ भनेर तर यसको नशाले म फुत्किनै सकिनँ।’
 
पहिलोपटक नै ठूलो मञ्चमा आफ्नो कला पस्किन पाएपछि त उनमा झनै ऊर्जा थपिँदै गयो। आरोहण गुरुकुलमा सुनील पोखरेल निर्देशित 'कुमारी'मा खेल्ने अवसर पाए। 'कुमारी नाटक त टिभीमा पनि देखायो। त्यसपछि मात्रै मैले निर्णय गरेँ- म नाटकबाट अलग हुन सक्दिनँ,’ घिमिरे गम्भीर बने।
 
त्यो बेला नाटककै समर्पित भएर कमाउने अवस्था बनिसकेको थिएन। उनी त पढ्दै पनि थिए। पढाइ एकातिर, नाटक अर्कातिर। दुवैलाई सँगै अगाडि बढाउँदै बीचको बाटो तय गर्नु थियो। ‘काठमाडौंमा बसेपछि खर्च यसै पनि भइहाल्छ। खर्च भरथेग गर्नका लागि नयाँ सडक र हिमालय टाइम्स पत्रिकामा काम गर्न थालेँ,’ यसरी आफूले बीचको बाटो तय गरेको उनी सुनाउँछन्।
 

टर्निङ प्वाइन्ट गुरुकुल

रहरै रहरमा नाटकमा लागेका युवराज २०५९ सालदेखि गुरुकुल नाट्य समूहसँग आबद्ध भए। जिम्मेवारी पनि थपियो। नाटकका लागि बढी समय दिनुपर्ने भयो। अन्तत: पूर्णकालीन रुपमा नाटकमै समर्पित हुने निर्णय लिए र पत्रिकाको काम छोडिदिए।
 
मुस्कुराउँदै भन्छन्, 'नाटक रहर थियो, सपना बन्यो।'
 
गुरुकुलमा पाँच वर्ष रहुन्जेल उनले नाटकबारे अझ बढी अध्ययन-अनुसन्धान गर्ने मौका पाए। नाटकले नै उनलाई भारत, बंगलादेश, नर्वेजस्ता देश घुमायो। ‘त्यहाँ गएर मैले थाहा पाएँ- नेपालमा पनि नाटकलाई निकै माथि उठाउन सकिन्छ,’ उनको दिमागमा नयाँ योजनाको बीजारोपण भइसकेको रहेछ, ‘नाटकमा पनि फिल्मको जस्तै दर्शक जम्मा पार्न सकिन्छ भन्ने लाग्यो।’ त्यसपछि त उनले नेपालमा नाटक महोत्सव नै संयोजन गरे।
 
उता गुरुकुलको चर्चा चुलिँदै थियो। किनकि गुरुकुलमा सुनील पोखरेल थिए, निशा शर्मा थिइन्। पोखरेलको निर्देशनमा काम गरिरहँदा युवराजले निर्देशकीय पक्षबारे पनि सिकिरहेकै थिए।
 
‘आफैं नाटक लेख्छु, निर्देशन गर्छु र गुरुकुलमै देखाउँछु’ उनमा यस्तो हुटहुटी चलिसकेको थियो। तर केही ‘कूल’ भएर सोचे- गुरुकुलमै यो प्रयास गर्दा गल्ती हुन्छ। ठूलो समूहमा बसेर गल्ती गर्नु ठिक हुँदैन।
 
त्यही हुटहुटी पूरा गर्न लुनिभा तुलाधर, गंगाप्रसाद तिवारी, राजन खतिवडा, कुमार आले लगायतका साथीहरुले साथ दिए।
 
अन्तत: उनीहरुकै साथबाट सुरु भएको शिल्पी थिएटर अहिले चलायमान गोठाले नाटकघरको रुपमा छाइरहेको छ।
 

शिल्पी सपना


२०६३ मा स्थापना भएको शिल्पी किशोर अवस्थामा प्रवेश गर्दै छ। तर यहाँसम्म ल्याउन नाट्यकर्मी युवराज र उनका सहकर्मीलाई सजिलो पक्कै भएन।
 
'संस्थागत भएर काम गर्दा आरोह-अवरोह झेल्नैपर्छ, हामीले पनि झेल्यौं,’ युवराजले भने, ‘विचार, योजना केके नमिलेर समूह टुक्रियो पनि तर हामीले शिल्पीलाई टुक्रिन दिएनौं।'
 
शिल्पी स्थापना गर्दा सुनील पोखरेलले भनेको पनि सम्झिए, 'काम गर्न सजिलो होउन्जेल, मन होउन्जेल सबै जना सँगै गर्नु। मन नभएपछि त अप्ठेरो, विकल्प रोज्नु।'
 
स्थापनाकालमा सबैलाई सँगै मिलेर काम गर्न अप्ठेरो थियो। अप्ठेरोसँगै शिल्पीको सपना पनि थियो। समूह सानो हुँदै गयो तर योजना ठूलो बन्दै गयो।
 
नाटकमा अहिलेजस्तो दर्शक हुँदैन थिए। टिकट खरिद गरेर नाटक हेर्ने निकै कम हुन्थे। नाटक मञ्चनबाहेक समूहको आर्थिक स्रोत अरु थिएन। आफ्नै मञ्च नभएपछि सानो कोठामा रिहर्सल गर्दा अनि मार्टिन चौतारी र डिइसिसीको हलमा मञ्चन गर्दाको अवस्था निकै गाह्रो रह्यो। आर्थिक रुपले शिल्पी भित्रभित्रै कमजोर बन्दै गयो। ‘त्यो चरमबिन्दु थियो,’ उनी सम्झिन्छन्, ‘हार खाने मनस्थितिमा पुगिसकेको थिएँ तर अभाव र संकटबाटै नयाँ सिर्जना गर्नुपर्छ भन्ने लागेर फेरि ब्युँतिएँ।’
 
अनेक संकटका बीच पनि अहिलेसम्म शिल्पीले ३५ वटा नाटक निर्देशन गर्‍यो। एप्पल कार्ड, मधेस-तराई, समाजका नाइके, तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला र लाटो पहाड जस्ता नाटकले त निकै चर्चा र लोकप्रियता पनि कमाए।
 
घिमिरेले देखेको सपना असाधारण थियो। साधारण हुन्थ्यो भने उनले सपना पूरा गर्न अनेक चुनौती स्विकार्ने थिएनन्। तर उनले दृढ भएर प्रयास गरी नै रहे।

सन् २००९ मा नाटक तालिमकै लागि उनी डेनमार्क पुगे। दुई वर्षको ज्ञान लिएर २०११ को अन्तिमतिर फर्किएपछि शिल्पीले नयाँ योजना पायो, नयाँ स्वरुप पायो। शिल्पीको आफ्नै थिएटर हुने भयो। सानै सही, आफ्नै मञ्चमा नाटक मञ्चन हुने भयो।
 
‘तीन वर्षअघि शिल्पीको सिलन्यास हुँदाजति खुसी आजसम्म भएको थिइनँ,’  उत्साहका साथ युवराज सुनाउँछन्, 'लागेको थियो- अब बिरालोले बच्चा सारेको जस्तो हामीले मञ्च सार्न पर्दैन।'
 
उनलाई डर थियो- केही वर्ष हराएर फर्किंदा दर्शकले बिर्सिएकी भन्ने तर उनले झन् धेरै साथ पाए, दर्शक पाए, खुसी पाए।
 

‘खुसी छु, सन्तुष्ट त कोही पनि हुँदैन’ 


युवराज खुसी छन्, शिल्पीको लागि केही गर्न सकेकोमा। तीन वर्ष लाग्यो सपनाको पहिलो चरण पूरा हुन। त्यसयता थिएटरमा शिल्पीको आफ्नै निर्देशन र बाहिर निर्देशित नाटकहरु मञ्चन हुँदै आएका छन्। नाटक हेर्ने, पढ्ने वातावरण बन्दै जाँदा शिल्पीले पनि आफ्नो पहिचान बनाइसकेको छ। ‘पूरा सन्तुष्टि त कहीँ कसैलाई पनि हुँदैन,’ उनी चित्त बुझाउँछन्, ‘तर म नाट्य क्षेत्रमै रमाइरहेको छु।'
 
असीमित सपना छन् युवराजका। काठमाडौंमा शिल्पीले थिएटर निर्माण गर्नुलाई मात्र सपना पूरा भएको मान्दैनन् उनी। उनी चाहन्छन्- नाटक लेखन, निर्देशनसँगै मञ्चनलाई देशव्यापी पुर्‍याऊँ। शिल्पीको योजना नै छ, पाँच वर्षभित्रमा चार वटा थिएटर खोल्न विभिन्न ठाउँका नाट्यकर्मीलाई सहयोग गर्ने। केही महिनाअघि शिल्पीको सहकार्यमा मोरङमा झोराहट थिएटर स्थापना भयो। अब बर्दिया र जनकपुरका नाट्यकर्मीसँग सहकार्य गर्ने सोच छ, युवराजको। 'हाम्रो सहकार्यमा पक्कै बन्नेछ तर ती हाम्रो शाखाको रुपमा हुनेछैनन्,’ उनले प्रस्ट पारे, ‘स्थापनापछि ती स्वतन्त्र ढंगले चल्नेछन्।'
 
चिल्ड्रेन थिएटरको विकास आवश्यक भएकाले शिल्पीले गोठाले नाटक घर नजिकै बाल नाटक घर पनि बनाउन सुरु गरिसकेको छ। अझ व्यावसायिक रुपमा नाट्य क्षेत्रलाई अघि बढाउन शिल्पीले आफ्नै लाइब्रेरी र क्याफ्टेरिया खोल्दै छ।
 
राम्रो नाटकमात्र होइन राम्रा कलाकार उत्पादन गर्नु पनि युवराजसँगै शिल्पी समूहको सपना हो। त्यसका लागि नाट्य तालिम सञ्चालन भइरहेका छन्। १०/१५ दिने तालिम देशभरका २० वटा समूहलाई दिइसकेको शिल्पीले तीन महिने तालिमको पाँचौं समूहलाई अहिले प्रशिक्षणमा छ।
 
नाटक सिर्जनशीलताको प्रयास हो। त्यो सिर्जनशीलता थिएटरभित्र मात्र सीमित हुनुहुन्न भन्ने कुरामा विश्वास राख्छ शिल्पी। त्यसैले २०७३ मा युवराजको टोली 'ओपन इयर थिएटर' लिएर यात्रा गर्दै छ। यो अभियानमा सडकपेटी र चौताराहरुमा लाइट र साउन्डबिना नै नाटक देखाइने योजना छ।
 
ठूलो संघर्षले बनाएको नाम हो- घिमिरे युवराज। उनले सिंगो शिल्पी कमाए, सयौं दर्शक र शुभचिन्तक कमाए। उनलाई आज पनि 'के नाटकमा भविष्य छ त? भन्ने प्रश्न निकै जटिल लाग्छ। तर पनि उनी भन्छन्, 'भविष्य त आफैं बनाउने हो, आफ्नो मेहनतले। जीवन जटिल होला तर नाटकमा खुसी र मज्जा धेरै छ।'
 
नाटकका लागि राम्रो वातावरण बनेकोमा उनी निकै आशावादी छन्। किनकि नाटक सिर्जनशीलताको अभ्यास र सामाजिक रुपान्तरणको प्रयास हो। यसले समाजको सोच बदल्न सक्छ। त्यसैले पनि सामाजिक, व्यावसायिक अनि शैक्षिक सबै क्षेत्रमा नाटकको चाँडो विकास भएको देख्न चाहन्छन् उनी।
 
‘फेरिनुपर्ने पुराना सोचहरुमा नाटकले डोजर लगाओस्,’ लामो संघर्ष र साधनाबाट खारिएका यी जुझारु नाट्यकर्मी भन्छन्, ‘हरेक आमाबुवाले ढुक्क भएर भन्न सकून्- छोराछोरीले कला, साहित्य, नाटकको क्षेत्रमा नाम कमाए, दाम कमाए। अनि सफल मान्छे भए।’
 
युवराजले भनेझैं सामाजिक सोच र मान्यता फेरिएका छन्। कला, साहित्य, संगीतमा आकर्षित हुनेहरु बढेका छन्। नाटक हेर्नका लागि लाइन लाग्नुपर्ने अवस्थाले उत्साह थपेको छ।
 
र त उनी खुसी छन्। किनकि पहिले कमर्स पढ्न दबाब दिने आमाबुवा नै भन्छन्- छोराले नाटकमै नाम कमायो, दाम कमायो अनि सफल भयो।

(यहाँ प्रयोग भएका फोटोहरु घिमिरे युवराजबाटै प्राप्त भएका हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell