PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र



सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र

काठमाडौँ : केही वर्ष पहिले पुस १४ गते नेपालमा सार्वजनिक बिदा हुने गर्थ्यो, तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिनको उपलक्ष्यमा। अहिले देशमा गणतन्त्र आएको छ। राजतन्त्र देशबाट हटिसकेको छ। विक्रम संवत् २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो। 



उनी नेपालका दशौं शाहवंशीय राजा थिए। उनको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो।

वीरेन्द्रकै समयमा २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनर्बहाली भएको थियो। नेपाली जनताबीच प्रिय राजाको छवि बनाएका वीरेन्द्रको वंश विनाश हुने गरी जेठ १९ मा नारायणहिटी दरबारभित्रै हत्याकाण्ड मच्चाइएपछि नेपाली धर्तीबाट राजतन्त्रको अन्त्य प्रक्रिया शुरु भएको मानिन्छ। 

वीरेन्द्रले २०३४ साल मंसिर २० गते कोलम्बो योजनाको परामर्श दातृ समितिको पूर्ण बैठकको समुद्घाटन अवसरमा यस क्षेत्रका सबै मुलुकहरुको हितका लागि नेपालले आफ्नो जलसम्पदा उपयोग गर्ने प्रस्ताव राखेका थिए।

वीरेन्द्रकै कार्यकालमा पहिलोपटक २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रह घोषणा गरिएको थियो। जनमतसंग्रहमा सुधारिएको पञ्चायतले जितेपछि तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले जनमत संग्रहको परिणाम तलमाथि पारेको आरोप समेत लागेको थियो। तर बहुदल पक्षको नेतृत्व गरेका बिपी कोइरालाले परिणाम स्वीकार गरेका थिए। 
 
२०४६ सालमा राजसत्ता तथा मुलुकको स्थायित्वका लागि आफूमा निहित सार्वभौमसत्ता दलहरुलाई सुम्पने निर्णय गरेका उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका थिए।

वीरेन्द्र दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क) का एकजना संस्थापक पनि हुन्। २०४२ साल मंसिर २२ र २३ गते (सन् १९९५ डिसेम्बर ७ र ८)का दिन दक्षिण एशियाली नेताहरु बंगलादेशका स्वर्गीय राष्ट्रपति जियाउल रहमान, नेपालका स्वर्गीय राजा श्री ५ वीरेन्द्र, श्रीलंकाका स्वर्गीय राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने, भारतका पूर्व राष्ट्रपति स्वर्गीय निलम सञ्जीवा रेड्डी, बंगलादेशका राष्ट्रपति स्वर्गीय मोहम्म्द यासिर तथा पाकिस्तानका स्वर्गीय राष्ट्रपति मोहम्मद जियाउल हक लगायत यस क्षेत्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु बीच बंगलादेशको राजधानी ढाकामा भएको बैठकले यसको बडापत्रलाई स्वीकृत तथा अनुमोदन गरेको थियो।

राजपरिवारका सदस्यहरु एकै ठाउँमा भेला भएको बेलामा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, निराजन, राजकुमारी श्रुतीसहित १० जनाको मृत्यु भएको थियो। हत्याकाण्ड कसले गराएको हो, त्यसको रहस्य भने अझै खुल्न सकेको छैन। वीरेन्द्र शाहकै जेठा छोरा दीपेन्द्र शाहले घरायसी बेमेलका कारण गोली चलाएको भन्ने प्रतिवेदन सार्वजनिक गरिएपनि धेरैले यसलाई विश्वास गर्न सकेका छैनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell