चर्चित हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' यतिखेर सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाउनका लागि मरिमेटेर लागेका छन्। भूकम्पपीडितहरुले उनीहरुको साथ पाएका छन्। आर्थिक स्रोत जुटाउनेदेखि इँटाढुङ्गा र जस्ता बोक्ने जिम्मा पनि उनीहरुकै काँधमा छ। तर उनीहरुकी दुई वर्षकी छोरी सुबिहानी अरुकै काँधमा रमाइरहेकी छिन्।
***
ललितपुरको कुसुन्तीस्थित मदन तिमल्सिनाको घर पुग्दा उनकी श्रीमती पवित्रा घिमिरे सानी नानीलाई फकाइफकाई दूध खुवाउँदै थिइन्।
'नखाने' भन्दै घरीघरी गिलास पर सारे पनि पवित्राले 'मेरो सुबी ज्ञानी छ' भनेपछि फेरि अर्को घुट्को पिउन उनलाई करै लाग्थ्यो। आफ्नोअगाडि नयाँ मान्छे देखेर होला पहिले त उनी लजाइन्। तर पवित्राले हामीलाई ‘दाइ-दिदी’ भनेर चिनाएपछि परैबाट नमस्ते गरिन्।
पबित्राको काखबाट उठेर सोफा देखाउँदै मिठो तोतेबोलीमा भनिन्, 'बस्नुस् न।'
यिनै सानी नानी सुबिहानी कट्टेलको स्वागतसँग हामी बस्यौं। र, कुरा गर्न थाल्यौं।
***
चर्चित हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'की छोरी हुन्, सुबिहानी। २०७० फागुन ३० गते जन्मिएकी उनी दुई महिनाको हुँदादेखि नै ठूलीआमा र ठुलोबुवा सँगै हुर्किइरहेकी छिन्।
जन्मेदेखि नै ज्वरोले सताएर अस्पताल भर्ना भएपछि सुन्तलीसँगै सुबिहानीलाई स्याहार्ने र हेरचाह गर्ने जिम्मा लिइन् पवित्राले। चिकित्सकको चेकजाँचबाट सुबिहानीमा मेनिन्जाइटिस देखियो। घुँडा सुन्निने र पिप जम्ने समस्याले त उनी झनै ग्रस्त भइन्। न दूध चुस्न सक्थिन् न अरु केही खान नै मन गर्थिन्। सलाइनको भरमा उनको ढुकढुकी चल्यो। एकपटक त सबैले माया मारिसकेका थिए। दुनियाँ हँसाउने दुई कलाकार जोडीको यो झन्डैझन्डै रुवाउने क्षण बनेको थियो।
छोरीको स्वास्थ्य समस्या पूरै नसुल्झिए पनि ३५ दिनपछि सुन्तली र सुबिहानी डिस्चार्ज भए। केही समयका लागि धुर्मुस एक्लैले देश-विदेशका स्टेज कार्यक्रम र सुटिङ भ्याउनुपर्यो। उनी प्राय: बाहिर नै हुने भएकाले सुत्केरीको चाकरमा उनै दिदी-भिनाजु निरन्तर खटिइरहे।
व्यक्तिगत जीवनलाई छोडेर हिँड्न अनिवार्य त थिएन। तर हजारौंको माया दिएको कलाकारितालाई धर्म मानेका धुर्मुस र सुन्तलीको व्यक्तिगत जीवन र दायित्वबाट फरक अर्को जीवन र जिम्मेवारी पनि थियो।
छोरी जन्मिनुको खुसी र बिरामी हुनुको पीडा दुवैलाई एकैपटक अनुभूत गरिरहेकी सुन्तलीलाई दर्शकले खोजे। आमासँगै कलाकारको धर्म पनि निर्वाह गर्न उनी धुर्मुससँगै कार्यक्रमहरुमा धाउन थालिन्। त्यति बेला सुबिहानी दुई महिनाकी मात्र थिइन्।
बच्चाको लागि आमाको दूधजस्तो पौष्टिक आहार अरु केही हुँदैन भनिन्छ तर सुबिहानीले जन्मेदेखि नै आमाको दूध खान सकिनन्। त्यसकारण पनि सुन्तलीलाई छोरी छोडेर सुटिङमा हिँड्न अलि सहज भयो।
यसरी सुन्तलीको कोखबाट जन्मिएकी सुबिहानी ठूलीआमाको काखमा हुर्किन थालिन्।
पवित्राले सुबिहानीलाई आमाको दूधको सट्टा ल्याक्टोजिन, सेर्लेक्स र लिटो खुवाइन्। उसको दिसा, पिसाबसँग घिन मानिनन्। उसलाई सन्चो नहुँदा बरु आफू अनिँदो बसिन्। घरधन्दासँगै सुबिहानीलाई सम्हालिन्।
उनले दिदी-बहिनीको सम्बन्ध कुशलतासाथ निभाइन्। त्योभन्दा बढी एउटी आमा हुनुको धर्म पूरा गरिन्।
'कुञ्जनाको कोखबाट जन्मिन् तर सुबिहानी मेरी पनि छोरी हो,’ पवित्राले हँसिलो मुहार बनाउँदै भनिन्, ‘छोरी मेरो रहर थिई तर अब खुसी बनेकी छे।'
धुर्मुस र सुन्तली सुटिङ र कार्यक्रमबाट फुर्सद हुँदा सुबिहानीलाई भेट्न आउँथे। घर लग्थे। छोरीसँग समय बिताउँथे। गतसाल भूकम्पपछि भने दुवै झन् व्यस्त भए। आफ्ना केही घरायसी दु:ख र हँसाउने जिम्मेवारीलाई पनि थाती राख्दै रातदिन भूकम्पपीडितको सेवामा लागे।
आमाको अनुपस्थितिमा पनि पवित्राले स्नेह, माया र स्याहारको कमी हुन दिइनन्। त्यसमा उनको पति र छोराको पनि साथ थियो। सुबिहानी धेरै रात बिरामी पर्थिन्, पवित्रामात्र होइन उनका पति पनि निदाउन सक्दैनथे।
सुबिहानीको घुँडाको समस्या अहिले पनि ठिक भइसकेको छैन। मदन घरी अस्पताल त घरी थेरापी गराउन कताकता हिँडिरहन्छन्। 'धुर्मुस र सुन्तली अनि म र पवित्रा,’ उनी एकछिन रोकिए, ‘हामी चार बुवाआमाको दुई छोराछोरी हुन्- मञ्जिल र सुबिहानी।'
पवित्रा र मदनको छोरा मञ्जिल पनि पढाइबाट समय मिल्नासाथ बहिनीसँग खेल्ने, उसलाई केही नयाँ कुरा सिकाउनमै व्यस्त हुन्छन्।
सुबिहानी तोते बोली सुनूँसुनूँ लाग्छ। रमाइलो त उनले पवित्रालाई ममी भनेरै बोलाउँछिन्। कुञ्जनालाई चाहिँ 'सुन्तली ममी' भन्दिरहिछिन्। मदनलाई 'बाबा' अनि सीतारामलाई 'धुर्मुस बाबा'।
ललितपुरको रिजेन्ट मन्टेश्वरी जान सुरु गरेकी सुबिहानी आजकाल देखेको नयाँ मान्छेलाई नमस्ते र छुट्टिन लागेको कसैलाई बाईबाई भन्न पनि जान्ने भइसकिन्।
'डान्सको स्टेप त जस्ताको त्यस्तै उतार्छे,' मदनले मख्ख पर्दै भने।
हरेकपटक काठमाडौं आउँदा र फुर्सद हुँदा धुर्मुस-सुन्तलीले सुबिहानी आफ्नो घरमा लिएर जान्छन्। तर खुब दुःख दिन्छिन् उनीहरुलाई।
पवित्रा सुनाउँछिन्, 'कुञ्जनाभन्दा मैसँग ज्ञानी भएर बस्छे।'
जहाँ भए पनि हरेक साँझ धुर्मुस-सुन्तली फोनमा छोरीसँग कुरा गर्न भुल्दैनन्। छोरीले पनि तोते आवाजमा सोध्छिन्, 'धुर्मुस बाबा माम खाइस्यो?' 'कुञ्जना मामु कहिले यता आउने?' अझ टिभीतिर देख्दा त दंग पर्दै बोलाउँछिन्।
सुबिहानीलाई हुर्काउन मदन र पवित्राको बाध्यता होइन रहर हो। उनीहरु खुसी छन्। यी दुई परिवार अब चाडै सँगै घर बनाएर एउटा परिवार बनेर बस्ने योजनामा छन्। कारण- सुबिहानी जोसँग चाहन्छे, आफ्नो इच्छाअनुसार बसोस्। दुवै आमाबुबालाई छुट्टिन नपरोस्।
सानोमा एउटै पुतलीको लागि झगडा गर्ने दिदीबहिनी दुवै मिलेर एउटै छोरी स्याहार्दै छन्। भन्छन्, ‘सुबि मेरो होइन हाम्री छोरी हुन्।’
'मेरो छोरा जन्मेको भए सायद दिदीले स्याहार्दैन थिई कि,’ कुञ्जना हाँस्दै भन्छिन्, ‘छोरी जन्मिई त्यसैले ऊ पनि खुसी छे। उसलाई छोरीको खुब रहर थियो।'
भूकम्पपीडितका लागि काम गरिरहेका धुर्मुस र सुन्तलीले दुई जिम्मेवार काँधमा छोरी राखिदिए र असल नागरिक हुनुको जिम्मेवारी आफ्नो काँधमा उठाए। हामी सबैको लागि गर्वको विषय पनि हो यो। जब सुबिहानी बुझ्ने हुनेछिन्, पक्कै गर्व गर्नेछिन्।