PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​यसरी मनाइयो नेवाः एकता दिवस



​यसरी मनाइयो नेवाः एकता दिवस

काठमाडौँ : नेवाः पहिचानसहितको स्वायत्त नेवाः राज्य स्थापनाका लागि बसन्तपुरमा मंगलबार नेवाः एकता दिवस मनाइयो ।

कांग्रेस, एमाले, माओवादीसहित विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरु सदस्य रहेको नेवाः राज्य संयुक्त सङ्घर्ष समितिको आयोजनामा भएको पाँचौँ नेवाः एकता दिवसको अवसरमा विभिन्न बाजागाजासहित उपत्यका नेवार समुदायले बसन्तपुरबाट र्‍यालीसमेत गरेका थिए।
 
सो अवसरमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले सम्पूर्ण पिछडिएका वर्गको अधिकार स्थापना हुनेगरी पहिचानसहितका सङ्घीय राज्य प्राप्त नभएसम्म निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिए।
 
नेवाः राज्य संयुक्त सङ्घर्ष समितिका सचिवालय सदस्य मल्ल के सुन्दरले नेपाली काँग्रेस र नेकपा (एमाले)बाट प्रस्तावित सात प्रदेश आफूहरूलाई मान्य नहुने र स्वायत्ततासहितको नेवाः राज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताए।
 
सो अवसरमा सङ्घर्ष समितिका सदस्य शोभा बज्राचार्य, राजभाइ जकमी र ज्यापु समाजका ललितपुरका अध्यक्ष मङ्गल महर्जनलगायतले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त अधिकारलाई संविधानमा संस्थागत गर्नुपर्ने र स्वायत्त नेवाः राज्य स्थापनाका निरन्तर आन्दोलन गर्ने बताए।
 
कार्यक्रममा बनेपा, पनौती, काठमाडौँ, कीर्तिपुर, भक्तपुर, थिमि, ललितपुर, खोकना, साँखु, टोखा, बलम्बुलगायतका क्षेत्रबाट आएका नेवार समुदायको सहभागिता थियो। रासस









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell