शुक्रबार राइजिङ मलको हिमालयन जाभामा श्वेता खड्कालाई देख्दा अलिकति असामान्य लाग्यो। उनी त्यहाँ केही कागजी काममा व्यस्त देखिन्थिन्। थुप्रै मान्छे आवतजावत गर्ने खुल्ला ठाउँ- कुनै हिरोइन त्यसरी बस्नु प्राय:लाई असामान्य लाग्न सक्छ।
हामीलाई देखेपछि उनी जुरुक्क उठिन् र हाँस्दै इसारा दिएर नजिकको कुर्सीमा बस्न भनिन्।
'आफ्नै घरमा पाहुना स्वागत गर्नुभए जस्तै लाग्यो', मैले भनेँ।
उनले थपिन्, 'घर जस्तै त हो नि।'
साँच्चै, सात महिनादेखि यो उनको अर्को घर भएको छ। हामीले कुराकानीको सुरुवात क्याफेबाटै गर्यौँ।
'सँधै इन्टरभ्युदेखि विभिन्न मिटिङका लागि मान्छेहरु भेटिरहनुपर्ने। कहिले एउटा ठाउँको क्याफेमा, कहिले कताको रेस्टुरेन्टमा,' श्वेताले हाँस्दै भनिन्, 'अहिले सजिलो भएको छ आफ्नै क्याफेमा बोलायो। मन लागेसम्म कुरा गर्यो।'
काठमाडौंका विभिन्न कफी सपहरुले आकर्षित गरेको रहेछ श्वेतालाई। 'राम्रो व्यवसाय पनि हुने, साथीहरुसँग आफ्नै ठाउँमा भेट्न पनि पाइने', श्वेताको बिजनेस माइन्ड चल्यो, 'कफीको राम्रै बिजनेस हुन्छ।'
तर उनलाई कफीसम्बन्धी कुनै ज्ञान थिएन। हिमालयन जाभाको फ्रान्चाइज खोल्नुअघि उनले कफीसम्बन्धी कोर्स नै लिइन्।
व्यावसायिक जीवन
हिट फिल्महरुकी धेरैले रुचाएकी नायिका। फिल्म खेल्न, स्टेज प्रोग्रामहरु गर्न भ्याइनभ्याइ हुनुपर्नेमा कफी शप खोलेर व्यवसाय सुरु गरेको सुन्दा अनौठो लाग्न सक्छ।तर उनको जीवनमा फिल्मभन्दा व्यवसाय अगाडि आयो। श्वेताका रुपमा पर्दामा चिनिनुअघि नै उनको व्यवसायिक जीवन रन्जना खड्काका रुपमा सुरु भइसकेको थियो। 'फिल्मलाई त मैले पछिमात्रै माया गर्न थालेकी हुँ', उनले भनिन्, 'मेरो लागि व्यवसाय नै अगाडि आयो र अहिले पनि त्यही नै अगाडि आउँछ।‘
'कहाँ भेटिएला', 'कोहिनुर' जस्ता हिट फिल्मकी हिरोइनका रुपमा मात्र धेरैले चिन्ने उनको यो उद्यमी रुप कस्तो छ त?
प्रश्न गर्नुअघि नै उनले भनिन्,’मेरो बिजनेस यही हिमालयन जाभामा मात्र लिमिटेड छैन नि त।‘
थोरै मुस्कुराउँदै भन्दा श्वेताको मुहारमा गर्वको भाव झल्किन्थ्यो। राइजिङ मलको सबैभन्दा माथिल्लो तल्लामा आँखा पुर्याउदै थपिन्, 'यो बिल्डिङको इन्टेरिअर डिजाइनिङ मेरै कम्पनीले गरेको हो।'
कलेज पढ्दादेखिनै श्वेताले एश्वर्या इन्टेरिअर इन्जिनियरिङ कम्पनीमा मार्केटिङ सम्हाल्थिन्। त्यहाँ काम गर्दा उनमा आफैं पनि त्यस्तो कम्पनी चलाउन सक्छु भन्ने आत्मविश्वास जाग्यो।
श्वेता उमेरले सानै थिइन् तर लक्ष्य ठूलो थियो। परिवार, आफन्त अनि केही साथीभाइको साथ र सहयोगमा उनले इन्जिनियरिङ कम्पनी खोलिन्। उनको कम्पनीले भवन निर्माण, इन्टेरिअर, एक्स्टेरिअर डिजाइनिङको काम गर्छ। सानो प्रयास र थोरै लगानी अनि ठूलो सपना र धेरै मेहनतका कारण उनको पहिलो कम्पनी एम.आर.एस एन्ड इन्जिनियरिङ प्रालि आज सातौं वर्षमा पनि राम्रो चलिरहेको श्वेताले दाबी गरिन्। हामा टावर, भाटभटेनी सुपर स्टोरको महाराजगन्ज बाहेकको अन्य शाखाहरुको भवन, ग्राण्ड बैँक, प्रभु बैँक लगायतका ठूला भवनको पार्टिसन र एक्स्टियर डिजाइन उनकै कम्पनीले गरेको हो।
उनको कम्पनीले आफ्नै लागि र बाहिर व्यापारका लागि भवन निर्माण सामाग्रीहरुको आयात-निर्यात पनि गर्छ।
श्वेताको लागि व्यापार व्यवसाय 'कन्टिनियस प्राक्टिस' हो। उनलाई लाग्छ, 'व्यवसाय गर्नेहरु एउटै काममा सीमित हुनु भनेको जोखिम मोल्नु हो। बिजनेसमा जे पनि हुन सक्छ।'
उनको इन्द्रेणी ग्रुपसँग पनि सहकार्य छ। इन्द्रेणी ग्रुपको थ्री स्टार होटल इन्द्रेणी हिमालयमा पार्टनरको रुपमा संलग्न श्वेता हिरोइनभन्दा पनि व्यवसायीको रुपमा चिनिन चाहन्छिन्।
'पढ्नु र पर्नु फरक'
हिमालयन जाभाबारे चाही एक वर्षअघि आइडिया आयो। त्यसको पाँच महिनामै क्याफे सुरु भइहाल्यो।विदेश घुम्दा देखेको कफीको मार्केट र काठमाडौंभित्रकै कफी शपहरु बारे बुझेपछि सानातिना जमघट र मिटिङहरुका लागि क्याफे सही ठाउँ बन्न सक्ने उनले अनुमान गरिन्। उनले क्याफे चलाउनेबारे विचारमात्र गरिनन्, कफी शपको लागि पहिलो कदम चालिन् र हिमालयन जाभाको फ्रान्चाइज सुरु गरिन्।
अहिले भन्छिन्, ’बिजनेस राम्रो छ। विज्ञापन गर्नुपरेको छैन। अझ फाइदा त, आफ्नो भेटघाट पनि यतै गर्न पाइन्छ।‘
थोरै हाँस्दै थपिन्, ’क्याफे हुनुपहिले यसै पनि खर्च हुन्थ्यो, अहिले त गेस्ट अनि साथीभाइलाई आफ्नै शपको सर्भ गर्न पाउँदा खुसी लाग्छ।'
समाजशास्त्र र अर्थशास्त्रमा डबल ब्याचलर्स गरेकी बताउने श्वेताले पढाइको विषयभन्दा भिन्न कामहरु आँटिन्। जति गरेकी छिन् त्यसमा सफल भएको लाग्छ उनलाई।
श्वेताकै शब्दमा- जे पढियो, त्यो होइन। जे सिकियो, त्यो काम गर्न सजिलो हुने रहेछ।
उनी भन्छिन्, 'समय, परिस्थिति र अनुभवले मान्छेलाई कुन दिशामा धकेल्छ थाहा हुँदैन। पढ्नु र पर्नु फरक कुरा हुन्।'
'रियल लाइफकी पनि हिरोइन'
इन्जिनियरिङ, आयात निर्यातसँगै कफी शपसम्मको व्यवसायमा हात हालेकी श्वेतालाई समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण लाग्छ। आफ्ना दर्शकदेखि कर्मचारी, पार्टनरदेखि फिल्मकर्मी सबैलाई समय दिनुपर्छ। कहिले व्यावसायिक मिटिङ त कहिले सिनेकर्मीको जमघट र कार्यक्रम। यी सबैलाई सम्हालिरहेकी छिन् उनी। उनलाई केही सहज छ। किनकि परिवार, दर्शक र आफन्तको साथ छ।श्वेता आफ्नो व्यावसायिक जीवन मजाले अगाडि बढ्नुको श्रेय परिवारसँगै आफ्ना कर्मचारीहरुलाई दिन्छिन्। केही कर्मचारी त विगत ७ वर्षदेखि उनीसँगै काम गर्दै आएका छन्। निरन्तर उनकै कम्पनीमा रहेर काम गर्दै आएका शैलेश खड्का भन्छन्, 'उनको व्यवहार र काम गर्ने हरेकसँग हाँस्ने, बोल्ने बानी निकै राम्रो छ।'
त्यस्तै श्वेताको हिमालयन जाभाका बारिस्टा (कफी हाउसमा कफी बनाउने र सर्भ गर्ने) विशाल मगरले भने, 'म्याम टिभीमा मात्र होइन, रियल लाइफमा पनि हिरोइन हुन्। अन्य क्याफेका ओनरहरु म्याम जस्तो आफ्नो स्टाफसँग घुलमिल हुँदैनन् होला सायद।'
श्वेतालाई कहिलेकाहीँ लाग्छ,’मैले मेरो बिजनेस बन्द गरेर पूरै समय फिल्मलाई दिए मेरा कर्मचारी कता जालान्? के काम गर्लान्? उनीहरुको माया लाग्छ। भावनात्मक रुपमा पनि म उनीहरुको नजिक भइसकेँ।'
उनले क्याफेमा काम गरिरहेका केही स्टाफतर्फ हेर्दै भनिन्, 'कहिलेकाहीँ झुक्याएर आउनुस् न, मलाई यतै उहाँहरुसँगै भेट्नुहुनेछ।'
र, फिल्मका कुरा
उनी दुःखी छिन् केही समययता सिनेमामा समय दिन नपाउँदा। उनले आफ्ना फ्यानसँग माफी माग्दै आफूले हाल फिल्म नगर्नुको कारण खुलाइन्- 'केही महिनायता म आफैँलाई अनि आफ्नो व्यवसायलाई सम्हाल्नमा व्यस्त छु। एउटा दु:खको घडी भर्खरै मबाट गुज्रियो। त्यस बेलादेखि व्यवसायिक कामहरु केही तलमाथि भएका छन्। सबै कुरा मिलाएर म फेरि फिल्ममा फर्कन्छु।'उनले हतारमा फिल्म नगर्नुको अर्को पनि कारण बताइन्,’म फिल्ममा रहरले लागेको होइन तर पनि यो क्षेत्रसँग मेरो नाता बस्यो। चटक्क माया मार्न सक्दिनँ। तर जस्तो पायो त्यस्तै फिल्म गरेर मलाई दर्शकको माया, विश्वास गुमाउनुछैन। भन्छिन्, ’दर्शक त मेरा 'गुडविल' हुन्।‘
उनी आफ्नै प्रोडक्सन हाउसबाट फिल्म बनाउने तर्खरमा छिन्। भन्छिन्,’व्यवसाय राम्रो भए न हो राम्रो फिल्म बन्ने, कलाकारले राम्रो कमाउने। त्यसैले अब सिनेमालाई पनि व्यवसायिक ढंगबाट विकास गर्नुपर्छ।‘
प्यासन, योग्यता, प्रयास र लगनशीलतामा विश्वास गर्ने श्वेता आर्थिक उन्नति भएमात्र सबै खालको विकास सम्भव छ भन्छिन्।
उनी लडेपछि थचक्क बस्न रुचाउँदिनन्। भन्छिन्, 'रेसमा जो कुद्छ उसैले हो जित्ने। नत्र अन्तिममा पर्नेको त कुरै छोडौं, केही सेकेण्डको अन्तरले दोस्रो हुनेले पनि कुनै पदक पाउँदैन।'
(श्वेता खड्काले उपलब्ध गराएको सुरुको र तेस्रो फोटो विशाल राईले खिचेका हुन्)