PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​हामीले पनि तरकारी किन्न जापानको जस्तो १० हजारको नोट छापेर जानुपर्ला



  • राम कार्की -
फिडेल क्यास्ट्रोले मन्त्रिपरिषद् बनाउँदा उनका अर्थमन्त्री थिएनन्। चे ग्वेभारा उद्योग मन्त्री बने। सोभियत रुसको प्रभावमा अर्थ राजनीति अगाडि जानु हुँदैन भन्ने अन्तिम भाषण गरेपछि चे ग्वेभारा हराए।
 
अहिले पनि विभिन्न पत्रिकामा आइराखेको छ अहिलेका अर्थमन्त्री अर्थशास्त्रका विद्यार्थी होइनन्। अर्थशास्त्र पढाउन खोजिँदैछ। म पनि अर्थशास्त्रको विद्यार्थी होइन। तर मार्क्सिस्ट भएकाले राजनीतिक अर्थशास्त्र म बुझ्छु।
 
नेपालको दुर्दशा कस्तो छ भन्ने नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रष्ट राख्नुभयो। तर त्यो अवस्था जन्माउन यो २४ वर्षको बहुदलीय राजनीतिमा १८ वर्षजति अर्थ मन्त्रालय चलाउने नेपाली कांग्रेस कति जिम्मेवार छ?
 
विशुद्ध अर्थशास्त्रलाई आधार मानेर जुन भ्यागुता र सर्पको कुरा गर्नुभयो। त्यो कुरा गर्ने अर्थमन्त्री पनि अहिले तपाईँहरु जस्तै स्टक एक्सचेनजको स्क्रिनमा हेरेर अर्थतन्त्रमा कुरा गर्ने अवस्थामा पुग्नु भएको छ।
 
उदाहरणका लागि झापामा अहिले कयौँ टन गहुँ छ। झापाको कुनै एउटा व्यापारीको गोदाममा छ कि जनताको घरमा ? लाखौँ जनता त्यहाँ खान नपाएका होलान् तर गोदाममा छ भने ढुक्क हुन्छन् अर्थशास्त्री। छ नि त - झापामा गहुँ।
 
हामी समाजवादीहरु यसरी सोच्न सक्दैनौँ। जनताको घरमा गहुँ छ कि छैन? सुत्ने बेलामा जनताका छोरा छोरीले अलिकति तातो खान पाए कि पाएनन्? हामी हेर्छौं।
 
बजेटमा किसानको पेन्सनको कुरा आयो। यसबारे अध्ययन गर्ने भनिएको छ। नेपालको किसानको बारेमा अध्ययन गर्न बाँकी के छ? अधिँया खेती गर्ने, आधा आङ लुगा लगाउने, आधा जीवन ज्यूने भनेकै किसान हो। अर्को कुरा जमिनको वर्गीकरण गर्ने विषय अमूर्तरुपमा आयो। बजेट नै छुट्याएर जमिनको वर्गीकरण गर्नुपर्छ नत्र बिलम्ब हुन्छ।
 
समाजवाद उन्मुख भनेर अर्थमन्त्रीले बजेटका बेला बारम्बार भन्नुभयो। तर समाजवाद उन्मुख हुनलाई अलिकति समाजवादबारे बहस गर्न चाहान्छु।
 
वृद्ध भत्ता बढाइएको छ। विनोद चौधरीको बाबु र भुरन चौधरीको बाबुलाई एउटै सम्झने? बर्दियाको एउटा बेचिएको किसान भुरन चौधरीको बाबु र विनोद चौधरीको बाबुलाई एउटै ठान्ने कस्तो समाजवाद?
 
अर्को कर्मचारीको तलब बारे। तपाईँले पिउनदेखि सुब्बासम्म २५ प्रतिशत बढाउनुभयो। अब पिउन र सचिव एउटै हुन् समाजवादमा? सुब्बाभन्दा माथि १५ प्रतिशत बढाउनुस्। ज्वाइन्ट सेक्रेटरी भन्दा माथिका लाई दश प्रतिशत बढाउनुस् तब पो समाजवाद हुन्छ। एकदम २५ प्रतिशत भन्दिनुभयो। यसले पपुलिस्ट हो कि जस्तो लागेको छ।
 
त्यसैले अर्थतन्त्रमा बुझ्ने कुरा के हो भने हामी कस्तो ठाउँमा खर्च गर्दै छौँ? हामीलाई दया लागेर बाँड्दै छौँ भने त्यसले स्वभाविक रुपमा मूल्यवृद्धि गराउँछ। पैसाको मूल्य नै रहँदैन। हामीले पनि तरकारी किन्न जापानको जस्तो दश हजारको २० हजारको नोट छापेर जानुपर्छ।
 
तर हामीले उत्पादनमूलक ठाउँमा लगाउनुपर्छ। सामान्यरुपमा भनौँ न घरमा किन लोग्ने मान्छे महिला भन्दा हावी छ? किनकि महिला बिहानभरि काम गर्छिन्। उनले काम गर्दा दुई माना चामल घट्छ, दुई माना मकै घट्छ।
 
उनको पति हलो लिएर जान्छन्। मकै छरेर आउँछन् र भन्छन् – २० डोको जति त फल्ला! उनको बढाउने काम भयो त्यसैले उ परिवारमा हावी छन्। काम त दुवैले गरेकै हो। त्यसैले किसानलाइ पेन्सन दिनुस्। उसले उत्पादकत्व बढाउने काम गर्छ।
 
२० वर्षमा हुने कुराका लागि अहिले नै बजेट दिनु हुन्न। त्यसले त गाडी किन्ने काम हुन्छ। अनि हाम्रा प्रोजेक्टका डाइरेक्टरहरु २० रुपैयाँको आलु किन्न २० रुपैयाँको तेल खर्च गर्छन्। त्यहाँ बढी खर्च हुन्छ। त्यसैले हामीले हाम्रो प्राथमिकता निश्चित गर्नुपर्ने हुन्छ।
 
सबैभन्दा बढी जहाँबाट वृद्धि हुन्छ त्यहाँ लगाउनुपर्छ।
 
नेपालजस्तो देशले केवल मार्क्सिस्ट भएर पुग्दैन। हामीले बुद्धको अर्थशास्त्रबाट हामीले पर्याप्त शिक्षा लिनुपर्ने छ।
 
एक जना साथीले उत्तर दक्षिण कनेक्टिभिटी भनेर जानुभयो। म त्यसमा धेरै विश्वास गर्दिन। नेपाल भारत र चीन जस्ता विशाल अर्थतन्त्र भएका मुलुकलाई बेस्सरी इन्गेज हुन दियो भने नेपाल भनेको नो म्यान्स ल्याण्ड बन्छ। नेपालको अस्तित्व नै रहँदैन पोलिटिक्कली र इकोनोमिकल्ली। त्यसैले नेपालले मौलिक अर्थतन्त्रको बाटो कोर्नै पर्छ।
 
अहिलेको बामपन्थी सरकारले नेपाली कांग्रेसले सुरु गरेको बजेट परम्परासँग सम्बन्ध बिच्छेद गरेर अर्थतन्त्रको नयाँ बाटो कोर्दिन्छ भन्ने लागेको थियो। बाटो कोर्न त सकेन तर त्यतैतिर फर्केफर्के जस्तो छ।
 
अब सबैले यो बजेट लागू हुन सक्दैन भनिराखेका छन्। खड्कुलामा पनि छैन, डाडू पन्यौ पनि गतिलो छैन भनेका छन्। त्यसैले हामीले अहिले पनि प्राथमिकताको क्षेत्र निश्चित गर्नुपर्छ।


 
(संसदमा जारी बजेटमाथिको छलफलको क्रममा बुधबार कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकमा ठूलो बजेट ल्याउँदा आर्थिक वृद्धिदर उकालो लाग्नु साटो घटेको उदाहरण दिएका थिए। उनले बाबुराम भट्टराईको पालामा सर्प जस्तो घस्रने भन्दा भ्यागुतो जस्तो उफ्रने आर्थिक वृद्धिदर हासिल गर्ने भने पनि उल्टो मूल्य वृद्धिदर दोहोरो अंकमा पुगेको उदाहरण दिए। छलफलमा एमालेका नेता रविन्द्र अधिकारीले भारत र चीनको कनेक्टिभिटीमा बजेटले जोड दिएकाले मुलुकको अर्थतन्त्र अब उकालो लाग्ने बताए। तर एमाओवादी नेता राम (सुरेन्द्रकुमार) कार्कीले मार्क्सिस्ट र बुद्धिस्ट अर्थतन्त्रको विषय उठाएर सबैको ध्यान खिचे। यो उनको संसदमा अभिव्यक्त विचार हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell