PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नवगायकको गायन मोह, भन्छन्- ‘नाम, दाम नहोस् तर संगीतको नशा लागिरहोस्’



स्वेच्छा राउत

नवगायकको गायन मोह, भन्छन्- ‘नाम, दाम नहोस् तर संगीतको नशा लागिरहोस्’

काठमाडौं : स्कुल पढ्दादेखि नै गायक बन्ने सपना बोकेका भोजपुरका बाबु शेर्पा एसएलसी सकेलगत्तै काठमाडौं हान्निए। गीत गाउने, एल्बम निकाल्ने, नामी गायक बन्ने- यस्तै थियो उनको सपना। तर काठमाडौं आएपछि थाहा पाए, गायक बन्ने सपना पूरा गर्न सजिलो छैन।
 
एल्बम निकाल्ने हुटहुटीले गर्दा उनले बाआमालाई कुरा लुकाउनै सकेनन्। चाहिने खर्चबारे कुरा गरे। 'पैसा नफर्किने काममा लगानी गरेर के गर्ने?' बाको उल्टो प्रश्नले उनलाई ठूलो धक्का लाग्यो। एल्बमको सपना त्यागे र तत्काल निर्णय लिए, विदेश जाने।
भरखर एसएलसी सकेर बसेको छोरोलाई विदेश पठाउन बाआमा तयार थिएनन्। तर उनको जिद्दीसामु हार खाए। पढ्ने खर्चले विदेश गएर कमाउने र नेपाल फर्केर एल्बम निकाल्ने उनको सपना जीवितै थियो। यो एक किशोर छोरोको हुर्किंदै गरेको सपनालाई उनीहरुले मार्न चाहेनन्।
 


२०७२ साल।

एसएलसी सकेर ठूलो सपना लिएर मलेसिया उडेको किशोर बाबु दुई वर्षपछि फर्कँदा परिपक्व बनिसकेका थिए। आएलगत्तै भोजपुरमै गीत-संगीतको कक्षा लिए। केही समयको कडा मेहनतपछि उनी ढुक्क भए- सपनाको खुड्किलो अब सुर हुँदै छ।

पहिलोपटक स्टुडियोमा गीत रेकर्ड गर्दाको क्षण सम्झिए उनले, 'डर लागेको थियो। तर सक्दो राम्रो गरेको छु जस्तो लाग्छ।'
२०७३ को सुरुवातमा त उनले पहिलो एल्बम नै निकाले। 'साथी' नामको एल्बममा दुई गीत समावेश छन्। चाँडै दुवैको भिडियो पनि सार्वजनिक हुँदै छ।

'अब फेरि पैसा कमाउन त विदेश नै जान्छु होला तर गाउनचाहिँ छोड्दिन,' बाबु भन्छन्, ‘नेपालमा गीत गाएर पैसा कमाउन सकिन्छ जस्तो लाग्दैन।’

नेपाली सांगीतिक उद्योगको अवस्थाबारे थोरबहुत जानकार यी नवगायकको मूल्यांकनमा गाएर कमाउन नसके पनि नाम छ। त्यही नामका कारण बाबुआमा पनि खुसी छन्। बाबुले थपे, 'अहिले पनि खर्च त धेरै हुन्छ तर मेरो नाम पत्रपत्रिका र रेडियोतिर सुनेर उहाँहरु खुसी हुनुहुन्छ।'

बाबु संघर्षरत युवा गायकको एक प्रतिनिधि पात्रमात्र हुन्।
मेहनत, संघर्ष, मिठो स्वर र सुरका बावजुत पनि थुप्रै गायक-गायिका नेपाली सांगीतिक क्षेत्रमा केही समय झुल्किए र गुमनाम भएका पनि छन्। क्षमता भए पनि मिडियासम्म पहुँच नहुँदा र प्लेटफर्म नपाउँदा पछि परेका उदाहरण थुप्रै छन्।
 

गायन मेरो नशा हो


केही यस्ता गायक हुन्छन् जो नाम र दाम कमाउन गाह्रो भए पनि गाउन छोड्दैनन्। उनीहरुका लागि गीत नै नशा हो।

यस्तैमा पर्छन् गायक रोजिन पाण्डे। उनी पनि स्कुलको प्यारेन्ट्स डेमा गीत गाउन थालेदेखि नै गायन क्षेत्रमा आकर्षित भए। स्कुलमा शिक्षकले जीवनको लक्ष्यबारे सोध्दा उनीमात्र एक्ला थिए- जो गायक बन्न चाहन्थे। उनको हकमा पनि गायक बन्नु सजिलो रहेन। स्थापित हुन त धेरै साधना गर्नुपर्ने उनले बुझिसकेका छन्।

पर्दामा भने उनी गायकभन्दा अगाडि मोडलका रुपमा देखा परे। तर अरुको गीतको भिडियोमा मात्र आफूलाई सीमित राख्न चाहेनन्। आफैं गीतको एल्बम निकाल्न कस्सिए।  


'आफूलाई जुन खालको सन्तुष्टिको आशा थियो, त्यो मोडलिङबाट पाइनँ,' उनी मोडलिङ छोड्नुको कारण बताउँछन्।
 
बिजनेस स्टडिज पढेको छोरोले एक्कासि 'गीत गाउँछु पैसा दिनुस्' भन्दै गएपछि आमा-बुबाबाट खप्की पनि नखाएका होइनन् उनले। तर भाइको गायन कला र गायक बन्ने सपना पूरा गर्न तत्पर भए आफ्नै दाइ।

दाइकै सहयोगमा २०१५ मा उनले 'आज आकाश' सार्वजनिक गरे। भिडियोसहित सार्वजनिक पहिलो गीत 'आज आकाशमा उड्दैछु म' युट्युबमा एक लाख १५ हजारपटक हेरिसकिएको छ। त्यही एल्बममा उनले 'यो दसैं' बोलको गीत समावेश गरे। दसैंताका यही गीत चर्चामा आएपछि उनको सफलता स्टेजतिर पनि उक्लिन थाल्यो।

'पहिलो पटक स्टुडियो छिर्दा आवाज आएको थिएन,’ स्टेज कार्यक्रममा व्यस्त भइरहने उनी भन्छन्, ‘अहिले सयौंको भिडलाई गाएरै सम्हाल्छु।'
आफ्नो गायकीलाई उनी 'इन्बर्न ट्यालेन्ट्'को रुपमा लिन्छन्। उनलाई लाग्छ- कुनै पनि कुराको ज्ञान नभएकाले हो सिक्नुपर्ने। 'मलाई गाउन आउँछ, त्यसैले आजसम्म सिकेको छैन।'
 

आनन्दका लागि गाउँछु


आफूलाई स्थापित गराउने होडमा छन्, गायक दावा के शेर्पा।

भोजपुरबाट काठमाडौं आएर एक्सिस ब्यान्डका संगीतकर्मीहरूसँग संगीतको औपचारिक प्रशिक्षण लिए उनले। त्यसयता गीतसंगीतमै सक्रिय उनको आफ्नै शब्द, संगीत र स्वर रहेको एल्बम 'अन्यौल' लिएर आए। व्यावसायिक रुपमा राम्रो गर्न नसकेपछि उनले बुझे- अझ मेहनत गर्नुपर्ने रहेछ।

निरन्तर प्रशिक्षणपछि खारिएका उनले दोस्रो एल्बम 'ब्रिटीश' सार्वजनिक गरे। त्यसपछि भने उनको चर्चा चुलिँदै गयो। 

'अन्यौललाई आफैं 'पुस सेल' गरेको थिएँ। 'ब्रिटीश'लाई त्यसो गर्नुपरेन,’ उनी भन्छन्, ‘स्रोताले मन पराउनुभयो। यसले अझै बढी मेहनत गर्नको लागि ऊर्जा थपेको छ।'

आफैं लेख्दै, आफै संगीत भर्दै र आफैं गाउने दावाको कलालाई मन पराउने थुप्रै छन्। उनलाई आजकाल स्टेज शोका लागि पनि प्रशस्त अवसर मिलिरहेकै छ।

दोस्रो एल्बम राम्रो चलेपछि विदेशबाट पनि कार्यक्रमको अफर आयो तर पासपोर्ट नभएका कारण जान पाएनन्।

‘जे गर्छु आफ्नै देशमा गर्छु भन्ने थियो,’ अहिलेसम्म पासपोर्ट नबनाएका उनी भन्छन्, ‘विदेश गएर काम गर्न मनै थिएन। त्यही भएर पासपोर्ट बनाउनेतिर ध्यानै गएन।'

अहिले उनी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन्। 'के यो माया हो?’ र ‘आमा’ बोलका दुई गीत जेठ २४ गतेसम्ममा आउँदै छन्,’ उनी भन्छन्, ‘नयाँ गीतहरुको भिडियो पनि तयार भइसकेको छ।’

संगीतकै साधनामा लागिरहेका दावा नाम र दामभन्दा पनि आनन्दकै लागि आफूले गाउने गरेको बताउँछन्। तर अलिकति निराशा भने उनमा रहेछ। 'तर पेट पाल्नका लागि गायनबाहेक अन्य कामका पनि आबद्ध छु,’  उनी सरसर्ती मूल्यांकन गर्छन्, ‘नेपालमा त गाएर कमाउन सक्ने वातावरण भए पो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell