PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

उध्रेको चोली हेर्न डान्सबार फर्किँदै निश्चल



स्वेच्छा राउत

उध्रेको चोली हेर्न डान्सबार फर्किँदै निश्चल

काठमाडौं : सन् २०१२ मा प्रदर्शन भएको चलचित्र 'लुट'मा हाकु कालेको 'मास्तर प्लान'ले बैंक त लुट्यो नै, दर्शकको मन र खल्ती पनि दुवै मज्जाले लुट्यो। नेपाली चलचित्र क्षेत्रमा लुटको वाहवाही सँगै चुलियो निर्देशक निश्चल बस्नेतको चर्चा पनि। लुट, टलक जंग भर्सेस टुल्के जस्ता सफल फिल्म बनाएर एक आइडिएल निर्देशकको रुपमा स्थापित भए त्यो पनि कम उमेरमै।

हरेक वर्ष सफल फिल्म दिए पनि उनलाई दर्शकको एउटा प्रश्नले कहिल्यै छोडेन - 'लुट-२ चाँहि नबनाउने?'

उनका लागि यो प्रश्न निकै जटिल बन्यो।

बस्नेतले भने, "लुट-२ का लागि उपयुक्त कथा नै भेटेको थिइन।"

यस पटक निश्चल बस्नेतले चित्त बुझ्दो कथा फेला पारेका छन्। र यसै वर्ष दर्शकको रहर पनि पूरा हुँदैछ लुट-२ बाट।

उसो त उनको मास्टर प्लान अर्कै थियो। लुट रिलिज हुनु अघिनै फिल्म सफल भए, त्यसको सिक्वेल बनाउँछु भन्ने पहिल्यै सोचेका रहेछन्।

बस्नेतले सिक्वेलको लागि पनि कथा तयार गरिसकेका थिए।

भने, ‘तर लुट सोचेको भन्दा बढी सफल भयो। सिक्वेलका लागि लेखेको कथाले लुटको लेभल मिट गर्दैन जस्तो लाग्यो।‘

त्यसपछि, लुट- २ का लागि लेखेको कथा त्यसै थन्क्याए। 

२०१२ बाट सन् २०१५ मा आइपुग्दा बल्ल उनले लुट-२ आँट्न सक्ने कथा भेटे।

बस्नेतले भने, "लुट-२ मेरो लागि आफ्नै पहिलो फिल्मले दिएको चुनौती हो। जस्तो पायो त्यस्तै कथामा बनाउँदा मैले दर्शकको आशा पूरा गर्न सक्दैनथेँ।"

पात्रहरु दोहोरिनेछन्। कथाले पनि 'लुट' जहाँ टुङ्गिएको थियो, त्यहाँबाटनै निरन्तरता पाउने छ। हाकु कालेसँगको रिस गोप्ले, पाण्डे लगायतले लुट- २ मा पोख्नेछन्। लुटमा एक बेरोजगार, गैरजिम्मवार र हाँस्य पात्रका रुपमा देखिएका गोप्लेले त रोमान्सका लागि पार्टनर पनि पाँउदैछन्।
निर्देशक बस्नेतले खुसीको भावमा सुनाए, ‘म लेख्न बस्दा कति पटक एक्लै हाँसे। आफैलाई सोध्थेँ, गोप्लेले लभ गर्न परे कसरी गर्ला?"

तिनै पात्रहरुको सोच, अवस्था र योजनामा आएको परिवर्तन लुट-२ मा देखिनेछ। 'सँगै भूकम्प र नाकाबन्दीको मार यसले निम्त्याएको असर पनि नयाँ लुटको कथामा अटाउँछ'- निश्चल बस्नेतले लुट २ बारे केही जानकारी दिए।

बस्नेतले थपे, 'दुई नम्बरी धन्दा गर्नेलाई भूकम्प कसरी दसैं तिहार भन्दा बढी भयो भन्ने कुरा देखाउन खोजेको छु।'

लुट नेपाली चलचित्र क्षेत्रको टर्निङ पोइन्ट बनेको दाबी गर्ने धेरै छन्। थुप्रै नेपाली चलचित्र निर्देशकले धार परिवर्तन गरेर लुट जस्तै चलचित्र बनाउन खोजे। निर्देशक बस्नेत भने लुट जस्तै शैली, विषयवस्तुको फिल्म बन्नुलाई ‘प्याट्रन फलो’ गरेको भन्छन्। जुन नेपाली मात्र होइन हरेक देशको सिने क्षेत्रमा हुन्छ।

'एउटै प्याट्रनलाई फलो गर्ने काम त हलिउड, बलिउडमा पनि हुन्छ। तर नेपालको केसमा शैली मात्र होइन हरेक कुरा चोर्न खप्पिसहरु धेरै हुनुन्छ,' उनको अनुभव बोल्यो।

४ वर्षमा थुप्रै फिल्म बने। निश्चल बस्नेतका लागि चुनौती भनेको आफ्नो पहिलो फिल्म लुट र दर्शकको अपेक्षा हो। उनी लुट-२ लाई आफ्नो जिम्मेवारी मान्छन्।

‘किनकि पहिलो फिल्म सिक्दै गर्दा बनाएँ, प्रयास गर्दैगर्दा पनि सोचेभन्दा सफल भयो। अब त पक्कै दर्शकले बढी आशा गरेका छन्,’ उनले भने।

दैनिक जीवनमा जे देखिन्छ फिल्मका कथामा ती कुराहरु गायब हुने गर्छन प्राय। तर लुटमा साधारण लोकल जीवन देखापर्‍यो। लोकल भट्टी र नेवारी खाजासँगै लवज पनि।  त्यसैले लुट अरु भन्दा फरक फिल्म बन्यो। बजारले पनि स्वाद फेर्‍यो। फिल्मले पनि कमायो दुवै नाम र दाम।

निश्चल लुट-२ लाई अझै फरक बनाउने सोचमा छन्। 'टेक्नोलोजीकल्ली' लुट भन्दा लुट-२ धेरै राम्रो हुनेमा उनी ढुक्क छन्। कथा पनि दमदार लागेर मात्र लुट २ आँटे उनले। तर भन्छन्, 'मलाई र टिमलाई मन पर्‍यो भन्दैमा त्यही कथा सबैलाई मन नपर्न सक्छ।'

२०१२ देखि २०१६ सम्म धेरै परिवर्तन भए। पात्रहरुको सोच, अवस्था र विचारमा परिवर्तन। त्यस बीचमा भूकम्प पनि आयो गयो। तर देशको, हाम्रो समाजको अवस्था उस्तै छ। उनी भन्छन्, ‘बिल्डिङ ठडिए होलान्, बाटो चिल्लो भयो होला, तर पीडा भोग्ने पीडामै छन्।‘ त्यही पीडामा भएकाहरुलाई पनि ठाउँ छ लुट-२ मा।

निश्चल भन्छन्,’उस्तै बेरोजगार, पीडितहरुको कथा छ तर लुट-२ केही फरक हुन्छ। किनकि मुख्य कुरा मेरो सिकाइ, बुझाइमा फेरिएको छ। लुट सिक्दै गर्दा बन्यो। अचम्म गरी हिट भयो अहिले लाग्छ केही जानेको रहेनछु।‘

‘गोप्लेको त योजना छ होला नि डान्स बार खोल्ने’, उनले उत्साही हुँदै थपे, ‘त्यसैले पहिले लुटे देखि अहिले सम्म डान्सबारमा के चेन्ज भयो, त्यो बुझ्नु छ।‘ डान्सबारमा सुषमा कार्की नाच्ने उध्रेको चोली... अझै पनि धेरैको मुखमा झुन्डिएको छ।


लामो हाँसो हाँस्दै निश्चलले थपे, ‘अब ३, ४ वटा डान्स बार छिर्ने हो। अनि ४ वर्षमा के नयाँ हुन थाल्यो त्यो अध्ययन गर्ने।‘ यसपाला फेरि उनी डान्सबार छिर्दैछन्। थाहा छैन यसपाला उध्रेको चोलीबाहेक उनले के हेर्छन् र के छुन्छन्?

बस्नेत फिल्मको स्क्रिप्ट अझै सुधार्न सकिन्छ कि भनेर केही दिनलाई काठमाडौं बाहिर जाने मुडमा रहेछन्। असार भरको वर्कसप पछि साउनको पहिलो हप्ता नै युनिट फ्लोरमा निस्कन्छ। फिल्मको पूरै छायाँकन काठमाडौं भित्रै हुन्छ। 'काठमाडौं सहर हेर्दा लाग्छ रहर' ट्याग लाइन बनेको छ फिल्मको।

र यो टोली फेरि एक पटक तपाईँलाई लुट्न ‘लुट २’ लिएर फागुन १३ गते हलहलमा आइपुग्नेछ। लुटिन तयार हुनुहुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell