PahiloPost

May 15, 2024 | २ जेठ २०८१

युरोप टुरको तयारी थाल्न नेपाललाई आइसीसीको पत्र



गोविन्दराज नेपाल

युरोप टुरको तयारी थाल्न नेपाललाई आइसीसीको पत्र

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पत्र पठाउँदै नेपाली क्रिकेट टोलीको युरोप भ्रमणको तयारी थाल्न आग्रह गरेको छ।

अगष्टमा हुने आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुने खेलको लागि तयारी अगाडि बढाउन भनेको हो।
आइसीसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टीम एण्डरसनले निर्वाचित क्रिकेट समितिका अध्यक्ष चतुर बहादुर चन्दलाई पत्र पठाएका छन् जसमा तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार बिष्ट र भावना घिमिरेलाई सीसी गरिएको छ।

नेदरल्याण्ड्स विरुद्धको खेलका लागि स्थानीय स्तरमा समन्वय गर्न निलम्बन भइसकेको क्यानकी सिइओ भावना घिमिरेलाई जिम्मेवारी दिएको छ। र आवश्यक परेको खण्डमा आइसीसी स्थानीय रुपमा अतिरिक्त सहयोग खोज्ने पत्रमा उल्लेख छ।

यस्तै कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई खेलाडी छनोटको जिम्मा दिइएको छ भने पूर्व भारतीय खेलाडी तथा एसियाली विकास निर्देशक राजु बैंकपटी सल्लाहकारको भूमिकामा रहनेछन्।

यस अघि नेपालमै वैशाख ४ र ६ गते भएको नामिविया विरुद्धको खेलमा पनि आइसीसीले यही प्रक्रिया अपनाएको थियो।

डब्लुसिएल अन्तर्गत चौथो चरणको खेलमा नेपालले आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सकै मैदानमा दुई खेल खेल्नेछ। त्यसअघि साउन ४ गते नेपालले लड्र्समा मेरिलिबोन क्रिकेट क्लब एमसीसी सँग खेल्ने कार्यक्रम छ।

नेदरल्याण्ड्स टुरका लागि आवश्यक रकम पनि आइसीसीले नै उपलब्ध गराउने भएको छ जुन आइसीसीले नेपाल क्रिकेट संघको रोक्का रहेको रकमबाट पनि हुन सक्ने पत्रमा जनाएको छ। तर, आइसीसीले क्यानलाई भने कुनै फण्ड उपलब्ध नगराउने पत्रमा उल्लेख गरेको छ।

आइसीसी सन् २०१४ देखि नै नेपाललाई दिँदै आएको सहयोग रोक्का गरेको छ र उक्त रकम ९ लाख डलर भन्दा बढी रहेको छ।

नेपाल क्रिकेटको सर्वोच्च संस्था क्यानलाई निलम्बन गरेपछि आइसीसीले नेपाली क्रिकेट गतिविधि आफैँले हेर्न थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell