PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कोपा अमेरिकामा मंगलबार अर्जेन्टिना र चिली भिड्दै



गोविन्दराज नेपाल

कोपा अमेरिकामा मंगलबार अर्जेन्टिना र चिली भिड्दै

काठमाडौं : कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत मंगलबार बिहान समूह 'डी'का दुई खेल हुँदै छन्।

मंगलबार बिहान २:४५ बजे पानामा र बोलिभिया तथा ७:४५ बजे अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना र चिलीबीचको खेललाई गतवर्षको फाइनलको रिम्याचको रुपमा हेरिएको छ।

घरेलु भूमिमा भएको ४४ औं संस्करणको फाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलोपटक उपाधि जितेको थियो। १४ पटकको विजेता अर्जेन्टिना गतवर्षको बदला लिने दाउमा हुनेछ भने सयौं वर्षगाँठको अवसरमा कोपा अमेरिकाको उपाधि जित्दै २३ वर्षे उपाधि खडेरीसमेत तोड्ने सुरमा छ।
 
वर्तमान विश्व फुटबलको उत्कृष्ट फरवार्डहरु समावेश रहेको अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिका जितेपछि कुनै प्रतियोगिताको उपाधि जित्न सकेको छैन। तर अर्जेन्टिनाको लागि कप्तान लियोनल मेसीको फर्म र मानसिक तनाव समस्या बन्न सक्छ। गत हप्ता होण्डुरससँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका मेसी पहिलो रोजाइमा खेल्ने सम्भावना कम रहेको छ। कर छलीको मुद्दा खेपिरहेका मेसी अर्जेन्टिनाको खेल हुने अघिल्लो दिनमात्र अमेरिका पुगेका हुन्। यद्यपि मेसीबाहेक पनि अर्जेन्टिनामा गोन्जालो हिग्वेन, सर्जियो अगुएरो, एन्जल डि मारियाजस्ता स्टार खेलाडीहरु छन्। मेसीको स्थानमा भने निकोलस गाइटन खेल्ने सम्भावना रहेको छ।
 
सन् २००५ देखि अर्जेन्टिनी टीमबाट खेल्न थालेका मेसीले ५ पटक फिफा बालोन डेअर जिते पनि राष्ट्रका लागि भने अहिलेसम्म मुख्य प्रतियोगिता उपाधि जित्न सकेका छैनन्। यता जुवान एन्टोनियो पिज्जी प्रशिक्षक नियुक्त भए पनि साविक विजेता चिली खेल जित्न नै संघर्ष गरिरहेको छ। चिलीले पछिल्ला ५ खेलमा १ मात्र जित हात पार्दा ४ खेल गुमाएको छ। युरोपियन लिगमा खेल्ने गोलरक्षक क्लाउडियो ब्राभो, अर्टुरो भिदाल र एल्सिस सान्चेजजस्ता खेलाडीहरुले चिलीलाई राहत दिन सक्नेछन्।
 
वर्तमान विश्व फुटबलका केही उत्कृष्ट खेलाडीहरु समावेश खेल जित्दै दुवै टीम ३ अंक जोड्ने तयारीमा छन्। यी दुईबीचको पछिल्ला ५ खेलमा अर्जेन्टिना ३ तथा चिली २ खेलमा विजयी भएको छ। कोपा अमेरिकामा चिलीविरुद्ध अर्जेन्टिनाको इतिहास राम्रो छ। पेनाल्टी सुटआउट बाहेक २५ खेलमा अर्जेन्टिना चिलीविरुद्ध अपराजित रहेको छ। जसमा १९ खेल जितेको छ भने ६ खेल बराबरीमा सकिएको छ। अर्जेन्टिना र चिलीबिचको खेल क्यालिफोर्नियास्थित लेभिज स्टेडियममा हुनेछ।
 
मंगलबारै समूह 'डी'को पहिलो खेलमा पानामा र बोलिभिया भिड्दै छन्। पानामा यसै संस्करणमार्फत कोपा अमेरिकामा डेब्यु गर्दै छ भने बोलिभिया एकपटकको च्याम्पियन हो। तर अहिले बोलिभियाको स्तर खस्केको छ।
 
पछिल्ला ५ खेलमा बोलिभियाले एक खेलमात्र जितेको छ भने ४ मा हार बेहोरेको छ। पानामासँगको पछिल्ला २ भेटमा पनि बोलिभिया पराजित भएको थियो । कोपा अमेरिकामा पहिलोपटक खेल्न लागेको पानामाले गतवर्ष कोपा ओरो कपमा अमेरिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो। पानामा र बोलिभियाबिचको खेल फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell