PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कोपा अमेरिका : पाराग्वेलाई २-१ ले हराउँदै कोलम्बिया दोस्रो चरणमा प्रवेश



गोविन्दराज नेपाल

कोपा अमेरिका : पाराग्वेलाई २-१ ले हराउँदै कोलम्बिया दोस्रो चरणमा प्रवेश

काठमाडौं : अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको पाराग्वेलाई २–१ ले पराजित गर्दै कोलम्बिया समूह चरणको एक खेल बाँकी छँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
 
खेलको १२ औं मिनेटमा कार्लोस बाक्काले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। ३० औं मिनेटमा कप्तान जेम्स रोड्रिग्वेजले गोल गरेपछि पाराग्वेका लागि चुनौती थपिएको थियो। पहिलो हाफमा २ गोलले पछि परेको पाराग्वे दोस्रो हाफमा खेलमा फर्कने प्रयासमा थियो। ७१ औं मिनेटमा पाराग्वेका भिक्टोर आयालाले गोल गर्दै खेल २–१ म पुर्‍याए। तर, ८१ औं मिनेटमा ओस्कार रोमेरोले दोहोरो पहेँलो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित रह्यो।

२–१ ले विजयी भएसँगै कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ भने पाराग्वेको १ अंक छ। दोस्रो चरण प्रवेका लागि पाराग्वेले अन्तिम खेलमा अमेरिकालाई पराजित गर्नुपर्ने हुन्छ। यसअघि समूह ए को उद्घाटन खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले पराजित गरेको थियो।
 
बुधबारै भएको समूह ए को पहिलो खेलमा आयोजक अमेरिकाले कोस्टारिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना कायमै राखेको छ। समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा अब अमेरिका र पाराग्वे तथा कोलम्बिया र कोस्टारिकाबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell