PahiloPost

May 15, 2024 | २ जेठ २०८१

युरो कपमा १० नम्बर जर्सी लगाउने यी हुन् भाग्यमानी ११ खेलाडी



गोविन्दराज नेपाल

युरो कपमा १० नम्बर जर्सी लगाउने यी हुन् भाग्यमानी ११ खेलाडी

काठमाडौं : जर्सी नम्बर १० फुटबल खेलाडीले लगाउने सबैभन्दा चर्चित नम्बर हो। प्राय: स्टार खेलाडीहरु यही जर्सी लगाउने गर्छन्। तर सबैको भाग्यमा कहाँ जर्सी नम्बर १० लगाउने अवसर जुर्छ र!

विश्व फुटबलमा पेले, म्याराडोना, रोनाल्डिन्हो, जिदान, फिगो, मिचेल प्लाटिनी, रोबर्टो बाजियो जस्ता खेलाडीहरुले १० नम्बर जर्सी लगाएरै खेले। मेसी, नेमार, रुनी लगायतका खेलाडीले पनि १० नम्बर  जर्सीमै चम्किइरहेका छन्। 

यही जेठ २८ गतेबाट फ्रान्समा १५ औं संस्करणको युरो कप सुरु हुँदै छ। सो प्रतियोगितामा १० नम्बरको जर्सी लगाउने खेलाडीहरु यस्ता छन्- 

१. आन्द्रे पिएरे गिगनाक, फ्रान्स


एन्टोनी ग्रिज्म्यान, एन्टोनी मार्सिएल, ओलिभर जिरुड, पउल पोग्वा जस्ता स्टार खेलाडीहरु रहेको फ्रान्सेली टीममा जर्सी नम्बर १० भने आन्द्रे पिएरे गिग्नाकले लगाउनेछन्। सन् २००९ मै फ्रान्सका लागि डेब्यु गरे पनि गिग्नाकले अहिलेसम्म २६ खेल खेल्दै मात्र ७ गोल गरेका छन्। मेक्सिकन क्लब टाइग्रेसमा उत्कृष्ट प्रदर्शन गरेको र मुख्य फरवार्ड करिम बेन्जिमाको अनुपस्थितिका कारण प्रशिक्षक डिडिएर डेसच्याम्सले गत मार्चमा गिग्नाकलाई टीममा राखेका हुन्। 

२. वायन रुनी, इङ्ग्ल्यान्ड 


इङ्ग्लिस टीमका सबैभन्दा पाका खेलाडी हुन्, वायन रुनी। इङगल्यान्डका लागि सर्वाधिक गोल गर्ने रेकर्ड कायम गरेका ३० वर्षे रुनीले ११० खेलमा ५२ गोल गरिसकेका छन्। यति मात्र होइन रुनी इङ्गल्यान्डका लागि सबैभन्दा कम उमेरमा डेब्यु गर्ने र कम उमेरमा गोल गर्ने खेलाडी समेत हुन्। उनले १७ वर्षकै उमेरमा उक्त उपलब्धि हात पारेका थिए। तर हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा रुनीको फिटनेस र फर्म भने कमजोर रहँदै आएको छ। ठुला प्रतियोगितामा आफूलाई प्रमाणित गर्नको लागि कप्तान रुनीको यो नै अन्तिम अवसर हुन सक्छ। 

३. लुकास पोडोल्स्की, जर्मनी


पोल्याण्डमा जन्मेका पोडोल्स्की दुई वर्षको हुँदा उनको परिवार जर्मनी सरेका थिए। सन् २००४ मा जर्मनीको लागि डेब्यु गरेका पोडोल्स्की २००६ मा घरेलु भूमिमा भएको विश्वकप फुटबलमा उत्कृष्ट युवा खेलाडी घोषित भए। त्यसपछि भने पोडोल्स्की निरन्तर टीममा पर्दै आएका छन्। २०१२ मा कोलोग्न ब्यान्ड ब्रिङ्गसँग मिलेर गीत निकालेका पोडोल्स्कीले आफू हुर्केको स्थान बर्गेइममा युथ फुटबलमा लगानी समेत गरेका छन्। पोलिस क्लब गोर्निक जाब्रेजलाई एडिडाससँग स्पोनसर डिलका लागि समेत सहयोग गरेका थिए। ३१ वर्षे पोडोल्स्कीले १२७ खेल खेल्दै जर्मनीका लागि ४८ गोल गरेका छन्।  

४. सेस फाब्रेगास, स्पेन


सन् २०१२ मा फल्स नाइनमा सफल रुपमा प्रयोग भएका खेलाडी हुन् सेस फाब्रेगास। स्पेनले २००८ देखि २०१२ सम्म महत्वपूर्ण तीन उपाधि जित्दा फाब्रेगासको पनि महत्वपूर्ण योगदान रहेको थियो। स्पेनको लागि पहिलो रोजाइमा विरलै पर्ने फाब्रेगास महत्वपूर्ण समयमा निर्णायक प्रदर्शन गर्ने खेलाडीका रुपमा चिनिन्छन्। २००८ को युरो अन्तर्गत इटली विरुद्धको पेनान्टी सुटआउटमा फाब्रेगासले निर्णायक गोल गरेका थिए भने २०१० को विश्वकप र २०१२ को युरोकपमा स्पेनले जित्दा गोलका लागि असिस्ट गरेका थिए। २९ वर्षे फाब्रेगासका स्पेनको लागि १०४ खेल खेल्दै १४ गोल गरेका छन्। 

५. एडेन हाजार्ड, बेल्जियम


यस पटकको युरो कप कप्तानी सम्हाल्ने हाजार्ड सबैभन्दा कान्छो खेलाडी हुन्। नियमित कप्तान भिनसेन्ट कोम्पनी चोटका कारण युरोबाट बाहिरिएपछि प्रशिक्षकले २५ वर्षे हाजार्डलाई आर्मब्यान्डको जिम्मेवारी दिएका छन्। इङ्ग्लिस क्लब चेल्सीका लागि गत सिजन उल्लेख्य प्रदर्शन गर्न नसके पनि बेल्जियमका लागि भने हाजार्डले राम्रो प्रदर्शन गर्दै आएका छन्। गत वर्ष उनले रेड डेभिलका लागि ५ गोल गरेका थिए। सन् २००८ मै बेल्जियमका लागि डेब्यु गरेका हाजार्डले २०११ मा पहिलो गोल गरे। बेल्जियमका लागि हाजार्ड ६३ खेलमा १२ गोल गरिसकेका छन्। 

६. थियागो मोट्टा, इटली


इटलीका मुख्य मिडफिल्डर हुन् थियागो मोट्टा। आन्द्रे पिर्लो, क्लाउडियो मार्सिसियो र मार्को भेराट्टी जस्ता खेलाडीहरुको अनुपस्थितमा इटलीको मिडफिल्डको जिम्मेवारी मोट्टाकै काँधमा आएको छ। ३३ वर्षे मोट्टाले आफ्नो करियरमा तीन फरक राष्ट्र इटली, स्पेन र फ्रान्सबाट लिगको उपाधि जितिसकेका छन्। ब्राजिलमा जन्मेका ३३ वर्षे मोट्टाले सन् २०११ मा इटलीका लागि डेब्यु गरेका थिए। उनले इटलीको लागि २५ खेल खेल्दै १ गोल मात्र गरेका छन्। 

७. ज्लाटन इब्राहिमोभिक, स्वीडेन


चार फरक राष्ट्रको लिग उपाधि जित्ने खेलाडी हुन्, इब्राहिमोभिक। ३४ वर्षको उमेरमा पनि गोल गर्न माहिर उनका लागि स्वीडेनको तर्फबाट यो नै अन्तिम प्रतियोगिता हुन सक्नेछ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई लगातार चौथो पटक फ्रेन्च लिग वान उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका इब्राहिमोभिकले स्वीडेनलाई युरोमा छनोट गराउन समेत महत्वपूर्ण भुमिका खेलेका थिए । ज्लाटनलाई धेरै महत्व दिएको भन्दै स्वीडेनका प्रशिक्षक एरिक हामरेनको आलोचना भए पनि इब्राहिमोभिकले छनोट चरणमा स्वीडेनले गरेको १९ मध्ये ११ गोल गर्दै आफूलाई प्रमाणित गरिसकेका छन्। 'बेस्ट सेलिङ अटोबायोग्राफी आई एम ज्लाटन' प्रकाशन गरेका इब्राहिमोभिक स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन्। ३४ वर्षे उनले ११२ खेलमा ६२ गोल गरिसकेका छन्। युरोकपमा ६ गोल गरिसकेका ज्लाटन र रोनाल्डोले यसपटक फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको सर्वाधिक ९ गोलको रेकर्ड तोड्ने अपेक्षा गरिएको छ।

८. लुका मोडरिक, क्रोएसिया


स्पेनी क्लब रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मोडरिक क्रोएसियाका मुख्य खेलाडी हुन्। स्पेन, टर्की, चेक रिपब्लिक जस्ता राष्ट्र रहेको समूह चरणबाट अगाडि बढ्न मोडरिचकको प्रदर्शन क्रोएसियाको लागि महत्वपूर्ण हुनेछ। सन् २००६ मा अर्जेन्टिना विरुद्धको खेलमा क्रोएसियाको लागि डेब्यु गरेका ३० वर्षे मोडरिकले ९० खेल खेल्दै १० गोल गरेका छन्।  

९. टोमस रोसिस्की, चेक रिपब्लिक 


चेक टीमका कप्तान समेत हुन्, टोमस रोसिस्की। १५ वर्षको उमेरदेखि चेकको विभिन्न उमेर समूहका लागि खेल्न थालेका टोमसले सन् २००२ मा १९ वर्षको उमेरमा आयरल्यान्डविरुद्ध चेकका लागि डेब्यु गरेका थिए। गत वर्ष आइसल्यान्ड विरुद्धको खेलमा उनले चेकका लागि सयौं खेल पूरा गरेका थिए। ३५ वर्षे टोमसले चेकका लागि १०२ खेलमा २२ गोल गरेका छन्। 

१०. जोएओ मारिओ, पोर्चुगल


रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोको टीम हो। पोर्चुगल र यस टीममा भने १० नम्बरको जर्सी लगाउने खेलाडी हुन् जोएओ मारिओ। पछिल्लो समय इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आँखा लगाइरहेका खेलाडी हुन् मारिओ। २३ वर्षे प्लेमेकर मारिओले पोर्चुगलका लागि १० खेलमा कुनै गोल गर्न नसके पनि गत सिजन स्पोर्टिङका लागि शानदार प्रदर्शन गरेका थिए। उनले त्यहाँ ४५ खेल खेल्दै ७ गोल र १२ असिस्ट गरेका थिए। मारिओले सन् २०१४ मा फ्रान्स विरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका थिए।

११. आरोन राम्से, वेल्स


२० वर्षको उमेरमै सन् २०११ मा वेल्सका कप्तान बनेका राम्सेलाई प्रशिक्षक कोलमनले १९ महिनापछि नै हटाएका थिए। त्यसपछि कोलमनले एस्ले विलियम्सलाई वेल्स टीमका कप्तान बनाएका हुन् । रियल मड्रिड स्टार गारेथ बेल रहेको वेल्स टीमको १० नम्बर जर्सी राम्सले लगाउनेछन्। सन् २००८ मा डेनमार्कविरुद्ध वेल्सका लागि डेब्यु गरेका २५ वर्षे राम्सेले ३९ खेल खेल्दै १० गोल गरेका छन्। यस्तै सन् २०१२ को ओलम्पिकमा ग्रेट ब्रिटेनको तर्फबाट प्रतिस्पर्धा गरेका उनले ४ खेल खेल्दै १ गोल समेत गरे। तर उनको टीम भने क्वाटरफाइनलमा दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell