PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

महिलाले चलाएको एउटा त्यस्तो क्याफे जहाँ पुरुषका लागि छुट्टै आरक्षण टेबल तोकिएको छ



स्वेच्छा राउत

काठमाडौं : सुन्दर सजावट सहितको 'लेडिज कर्नर'। त्यहीँ छन्, माओवादी सभासद मन्जी, समाजशास्त्रका स्नातकोत्तर गर्दै गरेकी युमा, पूर्व कमलरी खुश्बुसहित अन्य केही युवती। यिनै महिलाहरुद्वारा सञ्चालित क्याफेको नाम हो- लेडिज कर्नर।
 
त्यसो त यहाँ पुरुष ग्राहकहरु पनि आइरहन्छन्। उनीहरुकै लागि छुट्टै टेबल तोकिएको छ, ‘पुरुष आरक्षण’ भनेर।  
 
महिला आत्मनिर्भरता, उत्थान, विद्रोह र स्वतन्त्रताको झल्को दिने कर्नरमा राजनीति, समाजदेखि गीतसंगीत, मायाप्रेमसम्मका कुरा हुन्छन्।
 
राजधानीको मण्डला थिएटरमा चलिरहेको नाटक ‘युमा’को दृश्यांश हो यो। अहिले सहरमा यही नाटकको चर्चा छ। लेखक युग पाठक, निर्देशक सिर्जना सुब्बा र रंगकर्मीहरुको मेहनतको कोलाजबाट निर्मित नाटकको मूल विषय नै नारी स्वतन्त्रता र मुक्तिको मुद्दा हो।
 

नाटक बन्नुअघिको कथा

लेखक युग पाठक
आफूले भोगेको, समाजमा देखिएको वा कुनै मिथकमा रहेर सिर्जना गर्छन् लेखकहरु। युग पाठकको मस्तिष्कमा पनि मिथकिय पात्र 'युमा'को त्यसै गरी प्रवेश भयो।

देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो भरथेग गरिरहेको हाम्रो देशमा विदेशिएका पति र तिनका पत्नीको सम्बन्धबारे विभिन्न समाचार आइरहेका छन्।

– पति विदेशमा मेहनत गर्ने, अनि स्वदेशमा पत्नीको मस्ती।

युग सोच्थे, के आधारमा लेखियो होला यस्तो समाचार? किन लगाइयो यस्तो आरोप?

के विदेशमा रहेका हरेक पतिका पत्नीले मस्तीमात्रै गर्छन्?

नाटकको थिम बन्दै गर्दा उनले लिम्बु मिथकीय पात्र युमालाई सम्झिए। मुन्धुममा वर्णित युमा, जो विद्रोह, स्वतन्त्रता र शक्तिको प्रतीक पनि हो। तिनै युमालाई

वर्तमान समयमा उपस्थित गराई विद्रोह र स्वतन्त्रताको लागि आह्वान गरे युगले।
 
युमाको कथा लेख्नुअघि उनले यथार्थमा अर्को एउटा यस्तो पुरुष पात्र भेटे जो सबैको प्यारो छ। किनकि ऊ सबैलाई परेको बेलामा साथ दिन्छ, सहयोग गर्छ। ऊ राम्रो संगीतकार पनि हो। तर ऊ धेरै महिलासँग प्रेम गर्छ। प्रेम र संगीतको साधक बताउने त्यो स्वच्छन्द युवक प्रेम त गर्छ तर कुनै एक महिलासँग जीवन बिताउनुपर्नेमा विश्वास राख्दैन।

त्यही युवक र विदेशमा पति भए पनि दबाब र शोषणमा परेकी युमालाई एकै ठाउँ भेट गराउने सोच बनाए लेखक युगले। र, जन्मियो- युमा।
 

मुन्धुममा युमाको कथा


युमाको मिथबारे पहिलेदेखि नै सुनेका थिए युगले। उसको विद्रोहको, अरुलाई दिएको ज्ञानको, संकटमा निभाएको भूमिकाको थुप्रै कथा छन् युमाका। त्यस्तै कथामध्येको एक खण्डलाई उनले नाटकमा उतारे।
 
शक्ति, ज्ञान, स्वतन्त्रता र विद्रोहको प्रतीकका रुपमा चिनिने युमालाई लिम्बु समुदायमा देवीको रुपमा पुजिन्छिन्। जीवन जिउनका लागि उनले अरुलाई तान बुन्ने, माछा मार्ने, जालो बुन्ने कला सिकाउँछिन्।

उनको विवाह हुन्छ। अन्य नारीले जस्तै बच्चा पनि जन्माउँछिन्। विवाहअघिकी युमा र आमा बनिसकेकी युमाबीचमा धेरै परिवर्तन देखा पर्छ। दैनिकी घरपरिवारभित्रै खुम्चन थालेपछि उनमा विद्रोह र स्वतन्त्रताको सोच पलाउँछ।

म त सारा समाजलाई ज्ञान दिनुपर्ने नारी, स्वतन्त्रताको पाठ पढाउने नारी, विद्रोह सिकाउने नारी। कसरी म घरभित्र मात्र बाँधिएर बस्न सक्छु? यही सोचको परिणाम उनी परिवार त्याग्न विवश हुन्छिन्।

शिरमा चापको फूल सिउरिएर खोलाको किनारैकिनार हिँड्छिन्। त्यति नै बेला उनको शिर वरिपरि प्रकाश झल्कन्छ। अचानक उनी गायब हुन्छिन्।
 

मिथकको प्रयोग नाटकमा


'लेडिज कर्नर'मा नारीहरुसँगै वकिल, पूर्व माओवादी लडाकु, संगीतकार पनि बहसमा जुटिरहन्छन्। उनीहरुकै निरन्तरको छलफलले पतिले दिने यातनाका कारण शारीरिक र मानसिक पीडा भोगिरहेकी तनुजाले न्याय पाउँछे। विद्रोह जन्माउन सिकाउने लेडिज कर्नरको अभियान सफल हुन्छ।

नाटकको हरेक प्लटलाई कर्नरभित्रको यस्तै घटनाक्रमसँगै बाँधेर राख्छ।

युमा आफैंमा पीडित पात्र पनि हो। सुन्दरसँग अन्तरजातीय विवाह गरेकी उसको बच्चा पनि हुन्छ। विदेशमा रहे पनि पतिले फोन र स्काइपबाट गाली गर्ने, शंका गर्ने व्यवहारले युमा विक्षिप्त हुन्छे।

पतिलाई युमाले क्याफे चलाएको मन पर्दैन। ‘महिलावादी’को संगत गरेको मन पराउँदैन। त्यसैले उसले बाहिराबाटै युमामाथि नजर राख्न जासुस खटाउँछ।

'ज्यान टाढा भएपछि मन पनि टाढा हुने रैछ।' युमाले नाटकमा बोल्ने यो संवादले पनि धेरै अर्थ राख्छ।

उता पतिको गाली र शंका यता संगीत र प्रेमको साधक बताउने रंगीन रागसँगको निकटता। दुईबीच बिस्तारै सम्बन्ध बाक्लिन्छ। दुवै प्रेममा पर्छन्।

आफूले स्वतन्त्रतापूर्वक गरेको काममा पनि भाँजो हाल्ने पतिप्रति असन्तुष्ट बनेकी युमालाई रंगीन रागले साथ दिन्छ। उसको आगमन नै युमाका लागि जीवनको अर्को मोड बन्छ।

विदेशबाट पति फर्कने बेलासम्म युवमाले डिभोर्सको तयारी गरिसकेकी हुन्छे। ऊ समाज परिवर्तनको नयाँ आयामको खोजीमा हुन्छे। मुन्धुमकी युमाजस्तै पारिवारिक दायराबाट बाहिर निस्किन चाहन्छे।

'म हजारौं नारीमध्ये एक हुँ तर विशेष पनि हुँ। मेरो शिरको फूल चाँपको हो। म युमा हुँ युमा।' उसको बोल्ड संवादले सबैलाई सोच्न बाध्य बनाउँछ।

विदेशबाट फर्किएको पति पहिले त निकै आक्रामक प्रस्तुत हुन्छ। तर युमाको निर्णय सुनेपछि ऊ पग्लन्छ, माफ माग्छ। दुईबीचको सबै समस्या सुल्झाएर अघि बढ्ने कुरा गर्छ। तर युमाले शाइबाज जस्तै स्वतन्त्र उड्न पखेटा उठाइसकेकी हुन्छे। नाटकमा शाइबाज प्रेम अनि स्वतन्त्रताको प्रतीक हुन्छ, जसको पश्चिम नेपालमा छुट्टै मिथक मान्यता छ।
 
अन्तत: उसले आफ्नो बाटो फरक बनाउँछे, स्वतन्त्रताको बाटो। मुन्धुमदेखि नै 'युमा' एक स्वतन्त्र र एकल नारी हो। जो एक्लै उभिँदा पनि शक्तिशाली छे। उसँग कोही पुरुष हुँदैन। उसको पहिचान कुनै पुरुषको परिचयसँग जोडिएको हुँदैन। ऊ एक्लै पुजिन्छे तर पहिले पुजिन्छे। यता आधुनिक युमाले पनि पतिसँग डिभोर्स गर्छे तर रंगीन रागलाई अँगाल्दिन। किनकि उसलाई थाहा छ, विवाह गर्ने पुन: शंका र यातनाको सिकार हुनु हो। यसर्थ ऊ खुल्ला आकाशमा स्वच्छन्द विचरण गर्न चाहन्छे।
फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell