PahiloPost

May 15, 2024 | २ जेठ २०८१

युरो विशेष : रोनाल्डोका फ्यान नवयुगले किन रोजे स्पेनलाई?



गोविन्दराज नेपाल

युरो विशेष : रोनाल्डोका फ्यान नवयुगले किन रोजे स्पेनलाई?

काठमाडौं : काठमाडौंबाट करिब ४ हजार ५ सय माइल टाढा रहेको पश्चिमेली राष्ट्र फ्रान्सको पेरिसमा हुँदै छ, युरो कप २०१६। तर नेपाली दर्शक टेलिभिजनमा लाइभ हेरेरै भए पनि त्यसको मज्जा लिन आतुर छन्।
 
त्यसैमध्येका एक हुन्- फुटबलर नवयुग श्रेष्ठ।
 
सानै उमेरदेखि फुटबल खेल्दै आए पनि सन् २००८ देखिमात्र युरो कप हेर्न थालेका हुन् नवयुगले। ‘त्यसअघि पनि हेरेको थिएँ होला तर अलि बुझ्ने गरीचाहिँ २००८ पछि हेर्न थालेको हुँ,’ पहिलोपोस्टसँगको युरो विशेष कुराकानीमा उनले सम्झिए।
 
त्यस बेला उनी भर्खरै नेपाली सेनामा आबद्ध हुँदै थिए। २००८ को उपाधि स्पेनले आफ्नो कब्जामा पारेको थियो। त्यही प्रभाव हुन सक्छ, नवयुग यसपालिको युरो कपमा स्पेनलाई समर्थन गर्दै छन्। आफ्नो मन पर्ने टीम पोर्चुगल भए पनि यस पटकको दाबेदार स्पेन रहेको नवयुगले सुनाए। ‘स्पेनको टीम राम्रो छ। सबै पोजिसनमा खेल्ने खेलाडीहरु उत्कृष्ट छन्,’ उनी ढुक्क छन्, ‘त्यसैले यो पटक पनि स्पेनले नै उपाधि जित्छ जस्तो लाग्छ।’
 
यद्यपि नवयुगको मन पर्ने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हुन्, जो पोर्चुगलका स्टार खेलाडीका रुपमा चिनिन्छन्।
 
किन त रोनाल्डोको टीम छाडेर स्पेनतिर?
 
‘पोर्चुगलमा रोनाल्डो मात्रै छन्, अन्य खेलाडी खासै उत्कृष्ट छैनन्,’ कारणसहित नवयुग भन्छन्, ‘त्यसैले स्पेनको टीम मन पर्छ।’
 
सन् २००८ देखि लगातार तीन उपाधि जित्ने क्रममा स्पेनले २०१० को विश्वकप र २०१२ को युरोकप पनि जितिसकेको छ। तर २०१४ को ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गरेको स्पेनले त्यसबाट पाठ सिक्दै यो पटक राम्रो गर्नेमा नवयुग विश्वस्त छन्।
 
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा छँदादेखि नै रोनाल्डोको खेल कौशलबाट प्रभावित रहेछन् नवयुग। स्पेनपछि विश्व विजेता जर्मनी, आयोजक फ्रान्स, इङ्गल्याण्ड पनि युरो दाबेदारको रुपमा रहेको उनले बताए।
 

हेर्नेमात्र होइन सिक्ने पनि


सारा विश्न नै युरो कपमा झुम्ने बेला नेपाली फुटबल समर्थक र पारखी त्यसबाट अछुतो नरहने कुरै भएन। आजबाट अबको एक महिना फ्रान्स युरोमय हुनेछ। २४ राष्ट्रका ५ सय ५२ खेलाडी फ्रान्स पुगिसकेको छन्, च्याम्पियन बन्नका लागि। आयोजक फ्रान्स र रोमानियाको खेलसँगै १५ औं संस्करणको युरो उद्घाटन हुनेछ।
 
२४ वटै टीम छनोट चरण पार गरेर आएको र सबै टीममा उत्कृष्ट युवा खेलाडी समेटिएका कारण यसपटक युरो कपमा कडा प्रतिस्पर्धा हुने नवयुगको आँकलन छ। ‘सुरुसुरुमा युरो कप हेर्दा रमाइलो र मनोरञ्जनका लागि मात्र हेरिन्थ्यो, अन्य कुनै कुराको वास्ता हुन्थेन,’ उनले आफ्नो अनुभव साटे, ‘तर अहिले हेर्ने तरिका फरक भएको छ। खेल कसरी खेलिन्छ, त्यसको टेक्निक, आफ्नो पोजिसनमा खेल्ने खेलाडीहरुको प्रदर्शन, खेल कौशल सबैतिर ध्यान पुर्‍याएर खेल हेर्ने गर्छु।’
 
युरो कप र विश्व कपजस्ता ठूला प्रतियोगिता हेरेरै पनि धेरै सिक्न सकिन्छ भन्ने लाग्छ नवयुगलाई।
 
‘युरोपेली कोचहरु उच्च स्तरका हुन्छन्, खेलाडीहरुको खेल्ने शैली, वातावरण, ट्रेनिङ उच्च स्तरको हुन्छ; जसबाट सिकेर आफूमा पनि लागू गर्न सक्छौं,’ उनी भन्छन्। नेपाली कोचहरुले अझ बढी ध्यान दिएर हेर्ने हो भने त्यसको फाइदा आफूहरु जस्त खेलाडीका लागि उनको भनाइ छ।
 
युरो कप सुरु हुन केही घन्टामात्रै बाँकी छ। तर अहिले अर्को महादेशीय प्रतियोगिता कोपा अमेरिका सेन्टेनारिया अमेरिकामा जारी छ। ल्याटिन अमेरिकी प्रतियोगिता भए पनि सयौं वर्षगाँठको अवसर पारेर कोपा अमेरिकाको ४५ औं संस्करण पहिलो पटक अमेरिकामै आयोजना गरिएको हो।
 
तर, नवयुगले कोपा अमेरिका हेर्न भ्याएनन्।
 
सधैं नै कोपाभन्दा युरो नै बढी चर्चामा आउने गरेको छ। अहिले सबैको नजर नै युरोपमा छ। युरोपमा जे छ, त्यो बिक्छ। युरोपियन स्टाइलको माग बढ्दो छ। यस्तै फुटबलमा पनि युरोप हाबी हुँदै आएको छ।
 
व्यावसायिक हिसाबले युरोपको फुटबल मार्केट बढी छ। केहीलाई छाड्ने हो भने युरोपका खेलाडी उत्कृष्ट नै छन्।
 

प्रेमिकासँगै हेर्ने चाहना


युरोकप युरोप महादेशको फुटबल प्रतियोगिता हो। अन्य महादेशको फुटबल प्रतियोगिताभन्दा युरोकप बढी चर्चामा छाउँछ। कतिपयले यसलाई विश्व कपपछिकै सर्वाधिक ठूलो फुटबल टुर्नामेन्ट समेत मान्ने गरेका छन्।
 
युरो कपको पूर्वसन्ध्यामै नेपालको राजधानी लगायत ठूला सहर र अन्य ठाउँमा पनि दर्शकहरुले आ-आफ्ना योजना बनाइसकेका छन्। कहाँ हेर्ने, कुन टीमलाई सपोर्ट गर्ने, परिवार कि साथीसँग बसेर हेर्ने- तारतम्य मिलाउँदै छन् उनीहरु।
 
नवयुगको भित्री चाहना भने युरो कपका सबै खेल प्रेमिकासँगै बसेर हेर्न पाऊँ भन्ने रहेछ। तर कुन ठाउँमा बसेर हेर्ने? अहिलेसम्म टुङ्गो लागिसकेको छैन।
 
आफ्नी प्रेमिकासँग युरो कप हेर्ने वा नहेर्ने दोधारमा छन्। किनकि प्रेमिका काठमाडौंबाहिर छिन्। ‘आफू पनि ड्युटीमा खटिनुपर्ने भएकाले सँगै हेर्ने सम्भावना कम छ,’ उनले लजाउँदै भने, ‘समय मिल्यो र साइत जुर्‍यो भने प्रेमिकालाई छुटाएर कसरी हेर्न सकूँला र।’
 
नवयुग भन्छन्, ‘खेल सुरु भएपछि कहाँ बसेर हेरिन्छ भन्ने त त्यस बेलै थाहा होला।’
 
के थाहा, नवयुगकी प्रेमिका उनैलाई कुरेर बसिरहेकी छिन् कि?

फोटो : मनोज सत्याल/पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell