PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

चपली गर्लको ग्ल्यामरस छवि मेट्ला त विनिताको 'जुइनो'ले?



स्वेच्छा राउत

चपली गर्लको ग्ल्यामरस छवि मेट्ला त विनिताको 'जुइनो'ले?


​गोँगबुको नर्थ क्याफेभित्र निलो कुर्ता सलवार लगाएकी युवती मात्र देख्दा हामी अलमल्ल परेका थियौं। तर हातमा आफ्नै किताब जुइनो पढ्दै चिसो पिउँदै गरेकी उनी हामीलाई हेर्दै मुस्कुराएपछि ढुक्क भयौं उनी चपली गर्लको उपनामले एकताका चर्चित बिनिता बरालनै थिइन्। 

छोटो कपाल,  हल्का मेकअप - नायिका कम लेखक ज्यादा देखिएकी थिइन् बिनिता।

उनी दश महिनादेखि एमबिए गर्नका लागि अमेरिकामा थिइन्।

कला, कृषि हुँदै अर्को 'क' कृतिमा हात हालेकी उनी आफ्नो पुस्तक विमोचनका लागि एक महिने बिदा लिएर नेपाल आइन्।
खुशी हुँदै सुनाइन्,'धन्न बिदा मिल्यो नि।'

२०७२ सालको सुरुवातमै हुने भनिएको जुइनो विमोचन भूकम्पका कारणपछि सर्यो । त्यसपछि उनी अमेरिका हानिइन्।

२०१५ को डिसेम्बरमा पनि उनले बिदा त पाएकी थिइन् तर नाकाबन्दीका कारण पुस्तक विमोचनको भने लगन जुर्न सकेन।
लेखेको २ वर्षपछि फुर्सदमा पुस्तक सार्वजनिक हुँदैछ, तर नेपाल आएदेखि उनले फुर्सद पाएकी छैनन्। किताबकै काम र अन्तर्वार्ताले उनलाई भ्याई नभ्याई छ।

चपली हाइटमा देखिएपछि ग्ल्यामरस नायिकाका रुपमा पनि उनको परिचयले हाइट लियो। कलाकारिताले दिएको परिचय कला क्षेत्रमै थियो। तर पहिलेदेखि नै उनको सोच कलाकारिता बाहेक अरु पनि केहि व्यवसाय गर्ने थियो।

भनिन्, 'मलाई व्यवसाय पनि गरेर अगाडि बढ्नु थियो।'

पहिले त के गर्ने होला सोच्नै नसकेकी उनलाई लाग्यो, 'मेरै बाबाले गर्ने खेतिपातीलाई किन व्यवसायिक बनाउन जोड नदिने?"
त्यसपछि उनले अर्गानिक खेती अँगालिन्।

सुटिङ् र कार्यक्रम बाहेक उनी टोखामा रहेको कृषि फार्ममा व्यस्त रहन थालिन्। पर्दाकी हिरोइन कहिले बारी गोड्दै हुन्थिन् त कहिले गाई दुहुँदै।
त्यसैबीच कृषि फार्मबाट बचेको समय कृषि अनुभव लेख्नतिर लगाइन् बरालले। 

बिनिताले थोरै लजाउँदै भनिन्,'आफूले लेखेको खुशी हुँदै भाइ बहिनीलाई सुनाउथें। उनीहरु त मतलव नगर्ने।' 
भन्थे, 'तपाईंको खेती अनुभव सुन्न हाम्लाई इन्ट्रेस्ट लाग्छ त?'

उनलाई यो प्रश्नले क्लिक गर्योे। 

किताब पढ्ने ट्रेन्ड सुरु भएको थियो। त्यसमाथि युवा पाठक बढ्दो।

बिनिताले भनिन्,'सोचें, युवाले रुचाउने कथा, पात्रहरुलाई मेरो अनुभवभित्र बाँध्नुपर्छ।'

लेखन यात्रामा पनि कृषिलाई छोड्ने पक्षमा थिइनन्। उनले कृषि अनुभवलाई पृष्ठभूमिमा राखेर दिमागमा कथा बुनिन्। लेख्ने वातावरण खोज्दै पुगिन् नुवाकोटको मदनपुर। र बनाउन थालिन् शब्दहरुको 'जुइनो'।  

कृषकको जीवनशैली बुझ्न बिनितालाई धेरै समय लागेन किनकी उनी स्वयं एक किसानकी छोरी हुन्। नुवाकोटमा बसेर आफ्नो पात्रहरुलाई मिल्दो वातावरण र जीवनशैली बारे उनले थप अध्ययन गरिन्।

र लेखिन् कृषि पृष्ठभूमिमा आधारित रोमान्टिक प्रेम कथा।

लेखन सजिलो छैन भन्ने उनलाई थाहा थियो। तर सानैदेखि साहित्य पढ्ने बानीले उनलाई लेख्न उत्प्रेरित गरिरह्यो। त्यो उत्प्रेरणाले उनलाई कृषि उत्थानका लागि साहित्य कोर्नेसम्म बनायो।

भनिन्, 'आम नेपाली प्रेम कथालाई कृषिसँग जोडेर लेखेको छुँ। हामीले सधैं देखेर पनि मतलब नगर्ने विषय किताबमा प्रस्तुत गरेकी हुँ।'
उनलाई लागेको थियो, कलाकार भनेको यसै पनि साहित्यसँग खेल्ने मान्छे हो। अरुको परिकल्पना र शब्दहरुमा आफूलाई खोज्छ। आफैलाई बिर्सेर कसैको साहित्यको पात्र बन्छ। त्यसैले पनि मन दिएर कला क्षेत्रमा लाग्नेहरुको साहित्य पढ्नु र लेख्नुसँग गहिरो नाता हुन्छ।

तर पुस्तक लेखनदेखि प्रकाशन सम्मको यात्रा उनको लागि सहज भने भएन। प्रकाशकले उनलाई पटक पटक पुनर्लेखन गर्न लगाए। उनले पहिले आनन्दका लागि मात्र पढ्थिन्, आफैंले लेखी सकेपछि भने विश्लेषण गर्दै पढ्न थालिन्। आफ्नो भावना र सोचले मात्र तयार भएको किताब
अध्ययन पछि टेक्निकल्ली पनि फर्म्याटमा आउन थाल्यो।

बराललाई किताबको नाम जुराउन पनि सहज भएन। किताबका लागि ठेट नेपाली नाम चाहिएको थियो।

'मिल्दो नाम खुब खोज्नु पर्यो्', उनले भनिन्।

नेपाली कृषि कस्तो हुनु पर्छ? नयाँ पुस्ताले कृषिलाई कसरी लिनुपर्छ भन्ने विषयमा आफ्नो भावना प्रष्ट पार्न खोजेको छु। उनले किताबको बारेमा थप जानकारी दिइन्।

भनिन्,'यो मेरो फार्मको तरकारी जस्तै अर्गानिक किताब हो।'

बिनिताले गर्वका साथ सुनाइन्, 'पहिलो किताब हो कमजोरी होलान् तर चपली हाइट खेल्ने केटी सेक्सी मात्र हुन सक्दिन, बौद्धिक पनि हुन सक्छे भन्ने कुरा मेरो किताबले प्रमाणित गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell