काठमाडौँ : दुई दशकपछि चीनका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ। भ्रमणको यकिन मिति सार्वजनिक भइनसके पनि चिनियाँ राष्ट्रपति सि जिनपिङ असोज ३० गते नेपाल आउन सक्ने संकेत देखिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार भारतमा असोज २९ र ३० मा हुने ब्रिक्स सम्मेलनबाट फर्कने क्रममा असोज ३० गते नेपाल भ्रमण गर्न सक्नेछन्। असोज ३० दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको भोलिपल्ट हो। उसले यो भ्रमणलाई दक्षिण एसियामा प्रभाव बढाउने चीनको संघर्षमा प्रमुख भूमिकामा रुपमा हेरिएको विश्लेषण पनि गरेको छ।
पछिल्लो पटक सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेका थिए।
दुई देशबीच भइरहेको उच्चस्तरीय भ्रमण आदानप्रदानले पनि चिनियाँ राष्ट्रपतिको भ्रमण लगभग निश्चित भएको संकेत देखिएको छ।
उपराष्ट्रपति नन्दकिशोर पुन शुक्रबार चीन भ्रमणमा गएका छन् भने भर्खरै नेपाल आएका चिनियाँ सेनाका डेपुटी चिफ एडमिरल सन जिआन्गोले रक्षामन्त्री भीम रावललाई राष्ट्रपति सीको भ्रमणको तयारीका लागि चीनमा आउन निम्ता दिएका छन्।
चिनियाँ उच्च सैनिक नेतृत्वको भ्रमण त्यहाँका राष्ट्रपतिको भ्रमणअघि नेपालको राजनीतिक यथार्थ बुझ्ने मिसनका रुपमा पनि काठमाडौँमा व्याख्या भएको पोस्टले लेखेको छ।
नेपालको आठ महिने गठबन्धन सरकारले आन्तरिक रुपमा अस्थिरता भोग्नुपरिरहेकोले बेइजिङले राष्ट्रपति सिको भ्रमणको मिति घोषणै भने गरिनहाल्ने संकेत नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले दिएको पोस्ट बताउँछ।
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टको विश्लेषण छ- आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेपालले परम्परागत रुपमा नजिक रहेको भारतसँगको निकटतालाई कम गर्न सन् २००८ यता पहिलो पटक चीनको समर्थन खोज्दैछ।
उसले अगाडि लेखेको छ, ‘त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालले चीन नेपाल सम्बन्धलाई पुनर्संरचना गर्न नेतृत्व लिएका थिए। प्रधानमन्त्री ओलीको विदेश नीति भने भारत र चीन दुवैलाई खुसी बनाउने रहेको छ र उनले यो वर्ष नयाँ दिल्ली र बेइजिङको भ्रमण गरेका थिए।‘
प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति जिनपिङलाई नेपाल आउन निमन्त्रणा दिएका थिए। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन नेपालले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवैलाई निमन्त्रणा दिए पनि अन्तिममा सम्मेलन न लुम्बिनीमा भयो, न दुवै देशका उच्च स्तरीय प्रतिनिधि नै नेपाल आए। सम्मेलनका क्रममा चीनले भारतविरुद्ध धार्मिक कू गरेको प्रतिक्रियासमेत भारतीय मिडियामा आयो।
राष्ट्रपति स्तरमा चीनको नेपाल भ्रमण नभएको २० वर्ष भइसके पनि प्रधानमन्त्री स्तरमा पछिल्लो पटक २०६६ सालमा भ्रमण भएको थियो। सात वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले तीन दिने भ्रमण गर्ने तयारी भइसके पनि अन्तिम अवस्थामा रद्द भई पछि पाँच घण्टाका लागि भ्रमण भएको थियो। त्यतिबेला भ्रमण तालिका पहिले नै सार्वजनिक हुनुलाई पनि रद्द हुनुको एउटा कारण मानिएको थियो।