PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

शेखर कोइरालाको जीवनको त्यस्तो मोड जसले उनलाई प्रलोभनमा धर्म परिवर्तनको विरोधी बनायो



शेखर कोइरालाको जीवनको त्यस्तो मोड जसले उनलाई प्रलोभनमा धर्म परिवर्तनको विरोधी बनायो

  • डा. शेखर कोइराला -
२०३३ सालको घटना हो। म डाक्टर भएर भर्खर नेपाल आएको थिएँ। कलिलो डाक्टर हुन्छ नि एमबिबिएस डाक्टर। तर पनि एक वर्षसम्म मैले नोकरी पाइनँ। त्यतिबेला नेपालमा ४ सय १८ जना मात्र डाक्टर थिए। तर पनि एक वर्ष जागिर पाइनँ। चार पाँच जोर जुत्ता मैले घिसारेँ होला। स्वास्थ्य मन्त्रालय निर्वाचन आयोग भएको बहादुर भवनमा थियो। मैले जहाँपनि जान्छु भनेँ, देशको कुनै पनि कुनामा पठाऊ भन्थेँ। नेपाल सरकारले दिने तलब ६ सय ५० रुपैयाँ थियो। 

धेरै गिजगिज भयो। म अनररी काम गरिराखेको थिएँ। प्राक्टिस गर्थे। नत्र बिर्सिन्छ, भर्खर सिकेको मान्छे। मैले वीर अस्पताल टेकु अस्पतालामा काम गरिराखेँ। त्यतिबेला झाडापखाला अस्पताल भन्थ्यो टेकुलाई। तर पैसा दिदैँनथ्यो। उनीहरुलाई पनि डाक्टरको कमि थियो, त्यसैले आऊ भन्थे। 

तर जागिर नपाउनुको कारण म कोइराला हुनु थियो। राजनीतिक परिवार थियो। बेला थियो पञ्चायतको। काम दिँदैनथ्यो। प्रहरी रेकर्ड लिएर आइज भन्थ्यो। तर रेकर्ड दिँदैनथ्यो। 

त्यतिबेला प्रधानमन्त्री तुलसी गिरी  थिए। मेरो केटाकेटीदेखि नै गिरीसँग चिनजान थियो। उहाँले परबाट देखे पनि मलाई चिन्नुहुन्थ्यो। अहिले पनि राम्रो छ। 

एक दिन वीर अस्पतालमा म काम गर्दै थिएँ, फर्स्ट फ्लोरको कोरिडोरमा भेटिनुभयो। शेखर यता आऊ भन्नभुयो। प्रधानमन्त्रीलाई मैले नमस्कार गरेँ। 

तिमी मन्त्रीहरुसित, सचिवहरुसित, डिजीहरुसित झगडा गर्छौ, किन झगडा गरेको भन्नुभयो। 

मैले भने – के झगडा गरेँ। नेपालमा डाक्टर छैन, म जहाँ पनि जान तयार छु। श्री ५ को सरकारले नोकरी दिँदैन, के झगडा गरेको छु? 
प्रधानमन्त्रीले भन्नभुयो – म कहाँ आऊ न, भोलि म गर्दिहाल्छु नि। 

मैले भनेँ – डाक्टर जाबोका लागि म तपाईँकहाँ आउने? म गइनँ। अरु भएका भए जान्थे होलान्। म अक्कड छु। गएको भए गरिदिन्थे होलान्। तर मैले प्रधानमन्त्रीलाई भनेँ, तपाईँले सक्नुहुन्छ भने गर्नुस्। तपाईँको मन्त्रीलाई भन्नुस्। उनले भने, भनेनन्- थाहा छैन। तर मलाई नोकरी दिएनन्। 

वास्तवमा मेरो झगडा परेको थियो । भोलानाथ झा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो। मैले भनेँ, मन्त्री ज्यू तपाईँ त्यो कुर्सी छाड्नुस्, म चलाउँछु। म एकदम अक्कड मान्छे। झगडा गर्नुको एउटै कारण थियो – नोकरी। दिनदिनै बोलाउने, आज आउनुस्, भोलि आउनुस् भन्ने, रिस उठ्दैन? चाबेलमा बस्थेँ । पैसा थिएन। हिँडेर आउनुपर्थ्यो। बस ठूलो ट्रक जस्तो हुन्थ्यो, समातेर चढ्नुपर्थ्यो। टेकु जाँदा म हिँडेर जान्थेँ, बस नभेटेर। चाबेलबाट नयाँ बानेश्वर हिँडेर गएर त्यहाँबाट ट्रली समातेर त्रिपुरेश्वर पुगेर अनि हिँडेर टेकु जान्थेँ।  

मैले जागिर नपाएपछि मेरा साथीहरुले भने, तिमी कोइराला हौ, तिमीले जागिर पाउँदैनौँ। उनीहरुले भने - जाऊ मिसन अस्पताल। अनि मैले एक दिन जाने निधो गरे। अस्पताल थियो – आम पिपल र पाल्पामा। मैले पाल्पा जान्छु भनेँ। किनभने आम पिपल गोर्खामा पर्छ भन्ने थाहा थिएन। 
९ हजार तलब थियो। सरकारले दिने ६ सय ५० थियो। बस्ने क्वार्टर थियो सबै सुविधासहितको। एउटा कोठा थियो फराकिलो। किचेन पनि थियो। बाथरुम पनि थियो। केही गर्न नपर्ने, लुगा पनि उनीहरुले धोइदिने। 

खानामा ६ सय खर्च हुन्थ्यो। नेपाली खाना खाएको भए त २ सय पनि लाग्दैनथ्यो। विदेशी खाना खाएको रेट १२ सय भएपनि मलाई छुट भनेर ६ सय थियो। ब्रेकफास्ट, लञ्च, टोस्ट- दुई अण्डा सबै थियो। उनीहरु सबै सामान एक रुपैयाँमा किन्थे। ड्युटी फ्रीमा सामान आउँथ्यो। नेपाली म मात्र एक जना थिएँ। 

लाइफमा पहिलो पटक क्यामी साबुन देखेको त्यहीँ हो। ब्रिटिस साबुन हुँदो रहेछ। त्यहाँ पार्कर पेन र डटपेन किन्दा पनि हेड एण्ड सोल्डर स्याम्पु किन्दा पनि एक रुपैयाँ पर्थ्यो। जे किन, एक रुपैयाँ।

एकदम रमाइलो गरेँ। डाक्टरी जति सिकेँ त्यहि सिकेँ। सात महिनापछि मलाई नोकरी दिने मान्छे आयो। मैले भनेँ – मेरो त पैसा नै खर्च भएको छैन। एक हजार भए सबै पुग्थ्यो। पाल्पामा कहाँ जाने, घुम्ने ? हिँडेर जाने त हो। बजार गयो, बियर खायो। त्यही १० देखि १५ रुपैयाँ पर्थ्यो। 
अनि दुई दिन रमाइलो घुमफिर भयो। कुरा भयो, बडो रमाइलो भयो। तर मैले छुट्ने बेला त्यो मानिसलाई भनेँ – तिमीसित मैले प्रोमिस गराएको थिएँ तिमीले हुन्छ भन्यौ तर तिमीले कुरै गरेनौ भनेँ। डिनर भेटघाट थियो। 

उसले जवाफ दियो – मलाई याद छ तिमीले भनेका थियौ पोस्ट ग्र्याजुएसन गर्नका लागि एक डेढ वर्षभित्रको समय भनेका थियौ। 
मैले भनेँ – मलाई पासपोर्ट बनाउन समय लाग्छ। दिँदैन मलाई। कोइराला हुँ। 

ब्रिटिस मानिस थियो त्यो। 

उसले भन्यो – तिमी क्रिश्चियन भएको भए हामी दिन्थ्यौँ भन्यो। 

कुरा सकियो। म क्वार्टरमा फर्किएँ।

मलाई लोभ लाग्यो – पढ्न पठाइदिन्छ कि भन्ने। तर धेरै बेर मनमा गन्थन गरेँ। अपरचुनिटी दिइराखेको थियो। एमडी, एमएस गर्न दिन्थ्यो। जे पढ्न मन लाग्यो, पाउने अवस्था थियो। हरेक एंगलबाट हेरेँ मैले । 

अनि लास्टमा मैले डिसिजन लिएँ – मैले राजीनामा गरेँ। एण्ड देन आइ लेफ्ट द जब।

फेरि आएर चप्पल घसेँ। पछि बल्ल वीर अस्पतालमा जब दियो। 

मेरो भोगाईको अर्थ हो, प्रलोभनमा धर्म परिवर्तन गराउन पाइँदैन। हाम्रो संविधानमा लेखेको छ नि – प्रलोभनमा धर्म परिवर्तन गराउन पाइन्न। म आफै प्रताडित हुँ नि त यसबारे। 

त्यस्ता कति होलान्। म कोइराला थिएँ। राजनीतिक परिवारको थिएँ केही बुझेको थिएँ र छोडेँ। 



नेपाली कांग्रेसको स्थापनामा बनाइएको झण्डामा राखिएको चार तारा मध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको हो। मैले के भन्ने गरेको छु म ठ्याक्कै तपाँइहरुलाई भन्छु – हामीहरु चुक्यौँ संविधानमा धार्मिक स्वतन्त्रता लेख्न। नेपाली कांग्रेस चुकेकै हो। कांग्रेसको साइडबाट हेर्दा। हाम्रो आफ्नो इच्छा त थियो नि। मैले त संविधानमा संशोधन प्रस्ताव समेत हालेँ तर सकिएन। 

नेपाली कांग्रेसले यो बिर्सियो कि चार तारे झण्डा मध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको हो भन्ने। दोश्रो कृष्णप्रसाद भट्टराईलाइ पनि बिर्सियो। ४७ सालको संविधान बन्दा बेलायती सांसदहरु भट्टराई कहाँ आए र भने – धर्म निरपेक्ष राख्नुपर्छ देश। 

कृष्णप्रसाद भट्टराईले भन्नुभयो – तिम्रो देशमा प्रोटेस्टेन्ट नै किन प्रधानमन्त्री हुने? किन रानी राजा हुने? किन क्याथोलिक हुन नपाउने? भनेपछि उनीहरु नाजवाफ भएर फर्किए। तर कांग्रेसले किसुनजीलाई पनि बिर्सिए। 

तेश्रो नेल्सन मण्डेला जस्तो व्यक्तिलाई पनि बिर्सिए। मण्डेला २७ बर्षपछि जेलबाट छुट्दा भनेको कुरा हाम्रा नेताहरुले बिर्सिए। तीन जना नेता जसले संविधान बनाउन कांग्रेसको तर्फबाट भूमिका खेले। हामी त मेम्बर मात्र थियौँ। सहभागी त ५ देखि ७ जना न थिए।  

मण्डेलाले भनेका थिए -  म २७ वर्ष अघि जेल जाँदा खेरी जमिन हामीसित थियो। बाइबल ब्रिटिसहरुसित थियो। अहिले २७ वर्षपछि जमिन ब्रिटिससित छ, बाइबल हामीसित छ भन्नुभयो। त्यो पनि बिर्सियौँ। हो मेरो भनाई यो हो। 

तर अहिले जे छ धर्म निरपेक्षता छ। संविधानमा पनि त्यसलाई आधार मानेर अगाडि बढौँ। धर्म र राजनीतिलाई एक ठाउँमा उभ्याउनु हुँदैन। धर्मको राजनीतिको  ठाउँमा उभिन खोजेको छ। यो देश बर्बादी तिर जान्छ। दुनियाँको इतिहासले त्यहि भन्छ। 

संविधानमा सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण गर्दै जाने भनेको छ। 

त्यसो भए अब लेख्नुस् – कानुन बनाउनुस् फटाफट। किन विवाद गर्ने? दोश्रो कुरा संविधानमा के भनेको छ भने – गाई राष्ट्रिय जनावर भनेको छ। कडा कानुन बनाएर जानुस्, गाई मार्न पाइन्न भनेर। 

कुनै पनि देशको राष्ट्रिय जनावर, राष्ट्रिय पंक्षी केहीलाई पनि जथाभावी गर्न पाइन्न भनेको छ। त्यस्तै प्रलोभनमा धर्म परिवर्तन गर्न पाइन्न भनेर लेखेको छ – के हो प्रलोभन भनेको धर्मको सम्बन्धमा, त्यो स्पष्ट गर्दिउँ। धर्म निरपेक्षता गर्ने हो भने यी व्यवस्था तत्काल गरौँ। 

समस्या के देखिराखेको छु भने धर्मको रेलगाडी लिकमा दौडिरहेको छ। यसको एउटा डब्बामा धर्म निरपेक्षता छ। एउटा डब्बामा हिन्दु राष्ट्र छ। एउटा डब्बामा धार्मिक स्वतन्त्रता होला। अन्तिम डब्बबामा राजसंस्था, राजा होला। मुसुमुस हाँसेर बसिराखेको छ। कुन दिन धर्मको रेल दुर्घटनामा पर्छ अनि जुरुक्क उठ्छु भनेर। 



संविधान निर्माणका बेला किन जनमत संग्रह गरियो? अन्तरिम  संविधानमा लेखेको कारणले गरिएको मात्र हो त? जनमत संकलनबाट आएका कुराहरु किन गोप्य राखियो? 

किन लुकाइयो – धर्मको विषय मात्र लुकाइएको कुरा नगरौँ। 

अरु विषयमा पनि चाहे त्यो प्रदेशको विषयमा किन नहोस्। किन लुकाइयो? 


धर्मलाई राजनीतिमा मिसाउनु हुन्न। म त धर्म निरपेक्षता राख भन्छु। यसमा अडेर बस तर संविधानमा लेखेपछि त हिन्दुहरुको पनि सुरक्षा गर्नुपर्यो्। नियम बनाइदेऊ। के हो सनातनदेखि चल्दै आएको धर्मको रक्षा भनेको? कानुन बनाइदेऊ भन्न खोजेको हो। 



देशमा धर्म निरेपक्षता र हिन्दु राष्ट्रको विषय उठेको छ। नेपालका हिन्दुहरु र भारतका हिन्दुमा धेरै फरकपन छ। भारतका हिन्दुहरु हिन्दुत्वको हिसाबमा कडा छन् उग्र छन्। नेपालका हिन्दुहरु फ्लेक्जिबल अझ भनौँ लचिलो छौँ। 

यहाँ नेपालका कट्टर हिन्दुलाई लिनुस् र मोदीकै तुलना गर्नुस् न। फरक स्पष्ट हुन्छ।

यहाँ ८० प्रतिशत त हिन्दु छन्। उनीहरु शान्त बसिराखेका छन्। मैले भन्न खोजेको के भने यहीबेला कानुन बनाएर गयो भने शान्त बस्ने मानिस ८० प्रतिशतबाट झरेपनि ६० देखि ६५ प्रतिशत रहन्छन्। ती त शान्त बस्छन् नि। बाँकीले झगडा गर्लान्। तर म्यानेज त हुन्छ नि। 
अहिले धर्म निरपेक्षताको पक्षधर बिल्कुल पेलेर हिँड्न खोजेका छन्। जे पर्ला पर्ला भनेर विदेशीको आडमा पश्चिमाहरुको आडमा बढेका छन्। 
म त धर्मको राजनीति गर्दिनँ। तर जो धर्मको राजनीति गरिराखेका छन् उनीहरु धेरै पछाडि परिसके नेपालमा। हिन्दुहरुको कुरा गरौँ न। म त के भन्दैछु भने - धर्म भनेको आस्थाको कुरा हो। धर्म र राजनीतिलाई एक ठाउँमा नजोडौँ। कसैलाइ क्रिश्चियानिटी मनपर्ला। कसैले हिन्दु मनपराउला। 

सुशील कोइरालालाई भेट्न एकदिन एक जना मान्छे आए आए। प्रधानमन्त्री हुनु अघिकै कुरा हो। दारी पालेको मुस्लिम कपडा लगाएर आयो। म र सुशील कोइराला बसिराखेका थियौँ। 

सुशील कोइरालाले त्यो मानिसलाई सोध्नुभयो – आप कौन है?

उसले मतर्फ फर्किएर भन्यो –तपाँइ शेखर दा होइन भन्यो। 

सुशील दाले हेरिराख्नु भयो। को रैछ यो भनेर। 

'नही पहचाने आप ने भनेर हिन्दीमा कुरा गर्छ।' 

'अँ चिनिनँ 'भन्नुभयो सुशील कोइरालाले। 

उसले भन्यो – म तपाइँको दाइको छोरा । प्रमोद दाइको छोरा भन्यो। 

सुशील दाईको भतिज मुस्लीम धर्म मान्छन्। कुन धर्म मान्ने भन्ने आस्थाको कुरा हो। 

अब के छ भने राजतन्त्र हिन्दु राष्ट्रसित जोडिएको छ। अहिले पनि जोडिएको छ। राजा पो छैनन् त। म त अझ राजा ज्ञानेन्द्र भन्छु । रेस्पेक्ट गर्छु। उनलाई के लाग्छ भने हिन्दु राष्ट्र अहिले आयो भने राजसंस्था पनि बिउँतिन सक्छ। त्यसमा विदेशीहरु पनि लागेका होलान्। लागिराखेका होलान्। 




धर्मनिरपेक्ष त हामीले बनायौँ अहिले। यसलाई परिवर्तन गर्ने भनेको त संसदबाट हो, संविधान संशोधन, दोश्रो जनमत संग्रह, तेश्रो आन्दोलन हुनुपर्योर हिन्दुको या  चौथो संविधान खारेज हुनुपर्यो । यो बाहेक पाँचौ उपाय छैन। संविधान परिवर्तन नगरी धर्म निरपेक्षता हट्दैन। 
१६ सालमा वीपी कोइराला प्रधानमन्त्री हुँदा संविधान धर्मबारे बोलेकै थिएन। २०१९ सालमा गद्दी बसाउँदा राजा महेन्द्रले धर्मबारे संविधानमा राखेका हुन्। 


मेरो भनाई के हो भने संविधानमा धर्मबारे कोरियो। कोर्न हुँदैनथ्यो। (धर्म निरपेक्षता) गलत कोरियो। 

तर के हो भने कांग्रेसका नेताहरुले अहिले नेतृत्व दिएको होइन। मैले त के भनेको हो भने जे छ अहिलेको संविधानमा छ। हामीहरुले कहाँ चुक्यौँ त्यसलाइ करेक्सन गर्ने उपाय माथिका चारवटा हुन्। 

संविधानमा धर्मको व्यवस्थाको करेक्सनमा म जाने भन्ने होइन। पार्टी जाने भन्ने हो। पहिला त केन्द्रीय समितिले छलफल गर्नुपर्योस। त्यसपछि महासिमितिमा आउनुपर्यो।। कांग्रेसले डिसिजन गर्नुपर्योी धर्म निरपेक्षता हटाउने हिन्दु राष्ट्र राख्ने भनेर। मैले कुनै यो गर भनेको छैन। 

मेरो भनाई के हो भने तत्काल गर्ने हो भने कानुन बनाएर व्यवस्थित गर। देश विकराल अवस्थामा गइसक्यो। 
…..
तराई भन्दा मैले पहाडमा धेरै राजनीतिक तरलता पाएँ। म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, चितवनका चार नम्बर प्रदेश घुमेँ। त्यहाँ उनीहरु हिन्दु राष्ट्र चाहन्छन्। 

म पूर्वमा गएँ त्यहाँ हिन्दु राष्ट्रको कुरा गर्दैनन्। धर्म निरपेक्षताको कुरा गर्छन्। ताप्लेजुङ, पाँचथर, इलाममा निरपेक्षताको कुरा हुन्छ। झापामा हिन्दु राष्ट्रको कुरा बेसी देख्छु। यो कांग्रेस भित्रको कुरा हो। 

मधेसमा हिन्दुहरुको बाहुल्यता छ। हिन्दु राष्ट्र भइदिए हुन्थ्यो भन्छन्। तर बोल्दैनन्। 

गोर्खा, धादिङ, लमजुङ, रसुवातिर क्रिश्चियानिटी फैलिएको छ। उनीहरुले धर्म निरपेक्षता भन्छन्। 

​पूर्वमा चाँही मलाइ लाग्छ बौद्ध धर्मावलम्बी र हिन्दुको अलिकति अप्ठेरो भएर पनि हुनसक्छ निरपेक्षता भन्छन्। धेरै धर्म कन्भर्सन बुद्धिस्टहरु भएका छन्। उनीहरु क्रष्ट्रियानिटीमा गएका छन्। हिन्दुहरु पर्सेन्टेजका हिसाबले कम धर्म परिवर्तनमा गएका छन्। 

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य कोइरालासँग पहिलोपोस्टका लागि मनोज सत्याल र रमेश वाग्लेले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell