चार वर्षअघि 'लुट' सार्वजनिक गरेर हंगामा मचाएपछि चर्चाको पात्र बनेका युवा निर्देशक निश्चल बस्नेत फिल्मकै कामहरुमा व्यस्त छन्। यो बीचमा उनको निर्माण साथै निर्देशनमा थुप्रै हिट फिल्म बने। र उनी यो वर्ष फागुनमा 'लुट-२' मार्फत दर्शक लुट्ने तयारीमा छन्।
केही समयअघि चलचित्र विकास बोर्डले गत वर्ष जेठमा फिल्म बनाउने मापदण्ड तय गर्दा विरोधमा उत्रिएका थिए निश्चल।
'फिल्म निर्माण तथा निर्देशनका लागि बोर्डले तोकेको चलचित्र क्षेत्रको कुनै एक विषयमा कम्तीमा १० वर्ष निरन्तर रुपमा क्रियाशील व्यक्ति हुनुपर्ने' भन्ने नियम उनलाई चित्त बुझेको थिएन।
यस विषयमा निश्चललाई लाग्छ, 'पढेको र फिल्म बुझेको मान्छेले सपनामा देखेकै कुरालाई पनि राम्ररी फिल्ममा प्रस्तुत गर्न सक्छ भने, किन चाहियो उसले धेरै वर्ष काम गरेको प्रमाण? त्यो त उसको फिल्म लिबर्टी हो नि।'
निश्चलले केही संयमित हुँदै भने, 'खोइ क्या फिल्म स्वतन्त्रता खोइ?'
उनलाई लागू नभएका नियमहरु भन्दा पनि सेन्सरको नाममा जथाभावी काटिने फिल्मको दृश्य र संवादसँग समस्या छ।
'जुन काम हामी हाम्रो दैनिक जीवनमा गर्छौं, हाम्रो अवस्था साँच्चै कस्तो छ? त्यो देखाउन पाइँदैन भने फिल्मलाई किन समाजको ऐना भन्नु?'
'कुनै महिलाको शोषण भएको कथा छ भने त्यहाँ ऊमाथि भएको दुर्व्यवहार नदेखाएर स्क्रिप्टमा लेख्ने?'
'कथा लेख्ने, फिल्म बनाउने हरेकको दिमागमा एउटा सोच हुन्छ- आफ्नो कथालाई कसरी प्रस्तुत गर्ने?'
'तर नेपालमा सयौं दिन लगाएर सोचेको कथा, तयार पारेको खाकालाई अगाडि १० जना बसेर पढ्छन् र कति सोचेर तयार गरेको कथा, संवादलाई सेन्सर गरिदिन्छन्।'
निर्देशक बस्नेत भन्छन्, 'सेन्सर त ल केही न केही कारण देखाएर गरिन्छ। तर सेन्सर बोर्डमा फिल्म हेर्न बस्ने कतिले चाहिँ फिल्म बुझेका छन् के?' उनले हाँस्दै थपे,'हलिउड बलिउडका फिल्म ओस्करका लागि छनौटमा पर्दा वाहवाही गर्नेले नै त्यही फिल्मको जस्ता दृश्य नेपाली फिल्ममा हुँदा त्यो छाडा हुन्छ र काटिन्छ।'
बस्नेतले केही गम्भीर हुँदै भने, 'बरु फिल्म प्रदर्शनको क्राइटेरिया बनाइयोस् न। कुन फिल्म कति उमेर समूहकालाई देखाउने, कति उमेर समूहकालाई नदेखाउने। कुन क्षेत्रमा देखाउने, कुन क्षेत्रमा नदेखाउने भनेर।'
लुटपछि फिल्म बन्ने शैलीमा परिवर्तन भएको छ। प्राविधिक पक्षदेखि कथा र विषयवस्तु केही वर्ष यता दर्शकले रुचाएका छन्। तर पुरानै धारका चलचित्र भने बन्न छाडेका छैनन्। निश्चललाई लाग्छ- फिल्म नपढी, नबुझी पैसा मात्र कमाउने होडले फिल्ममा काम गर्नेहरु नेपाली फिल्म इन्डस्ट्रीमा रहुन्जेल, जति नयाँ, राम्रा फिल्म बने पनि पुरानो धारको एउटा झुण्ड रहिरहन्छन्।
उनले थपे,'तर जति मन लाग्छ फिल्म बनोस्, त्यसले राम्रो फिल्मलाई असर गर्दैन। दर्शकले रुचाउने फिल्म बने हिट, नत्र फ्लप।'
उनलाई लाग्छ जनताले के रुचाउँछन् बुझ्न सक्नु नै एउटा तहको उपलब्धि हो।
उनले रमाइलो उदाहरण पनि दिए, 'सानोमा राजेश दाइले हे..... भनेर हात उठाउँदा ताली बजाउँदै उफ्रिन्थ्यौं। अब अहिले राजेश दाइको काम चित्तै बुझ्दैन। त्यस्तै हो हामीले पनि फिल्म दिँदा दर्शकले के मन पराएका छन् के छैनन् भन्ने विषयमा ध्यान दिनुपर्छ।'
बस्नेतको रहर छ नेपाली फिल्मको नयाँपन नेपाली गाउँ गाउँका दर्शकलाई देखाउने। उनी चाहन्छन् गाउँकाले पनि नयाँ कलाकार चिनून्, दयाहाङ, सौगात मल्ल चिनून्। रेखा थापा देखेर उफ्रिनेहरु अहिले फिल्ममा राम्रो काम गरिरहेकाहरु देखेर उफ्रिऊन्।
तर नेपाली हलहरु सहरकेन्द्रित छन्। टिभीमा समय लिएर देखाउन खोजे कम पैसामा फिल्म लिन खोज्छन्। बस्नेत गुनासो गर्छन्, '१० हजार लिएर म मेरो पसिना किन बेचौं?'
फिल्महरुले गरेको कलेक्सनका आधारमा हेर्दा ३ वर्ष अगाडिसम्म एक लाख दर्शक पनि हलमा गएर फिल्म हेर्दैनथे। अहिले केही हदसम्म बढे पनि अझै दर्शकलाई हलसम्म डोर्याउन गाह्रो भएको महसुस गर्छन् निश्चल। त्यसैले भन्छन्, 'नेपाली दर्शकलाई नै फिल्म हेर्ने बनाउन नसके सम्म कुनै पनि फिल्म इन्टरनेसनल भनेर गफ लाउनुको कुनै तुक छैन।'