PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​ब्राजिलका फ्यान ज्ञानेन्द्र भन्छन् - युरो बेल्जियमले जितोस्



गोविन्दराज नेपाल

​ब्राजिलका फ्यान ज्ञानेन्द्र भन्छन् - युरो बेल्जियमले जितोस्

अहिले विश्व फुटबलमा दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। दुवै प्रतियोगिता एकै पटक भएको हुनाले कोपा युरोको छायाँमा परेको देखिन्छ। 

ल्याटिन अमेरिकी महादेशको प्रतियोगिता कोपा पहिलो पटक अमेरिकामा जारी छ भने युरो कप फ्रान्समा। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल  समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्। 



त्यसैमध्येका एक हुन् राष्ट्रिय क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्ल। उनीसँग युरो र कोपाबारे पहिलोपोस्ट टीमले गरेको कुराकानी। 

विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध हुने खेलको लागि हामी तयारीमा छौं। यसैबेला युरोपमा युरो कप र कोपा अमेरिका सञ्चालन भइरहेको छ। हाम्रो टीम भने निरन्तर ट्रेनिङमा व्यस्त छ। युरोका प्रायः खेलहरु बेलुका र राति भइरहेको छ। त्यसले गर्दा सबै खेल त हेर्न भ्याएको छैन। हेर्न नभ्याएका खेलहरुको बिहान हाइलाइट्स हेरेर अपडेट भइरहेको छु।  

दिउँसो टीमसँग ट्रेनिङ क्याम्पमा रहे पनि बेलुका भने म घरमा बस्न जान्छु। घर जाने भएकाले क्रिकेट टीमका साथीहरुसँग हेर्ने अवसर भने पाउँदिन। तर घरमै परिवारसँगै बसेर हेर्नेछु।

दिउँसो ट्रेनिङ गर्ने भएकोले पनि रातिको खेल हेर्न समय नमिलेको हो। बेलुकाको गेम हेर्न भ्याए पनि रातिको गेम चाहिँ हेर्ने गरेको छैन। 
निरन्तर ट्रेनिङ हुने हुँदा आराम पनि चाहिन्छ। त्यसैले गर्दा समय नमिलेको हो। अहिले समूह चरणका खेलहरु भएकाले पनि खासै फलो गरेको छैन। अब नकआउट राउण्डदेखि भने सबै खेल हेरिन्छ होला। 

युरोमा मेरो त्यस्तो फेभरेट टीम भन्ने छैन।  फ्यान फलोइङ हिसाबले गर्दा मलाई मन पर्ने टीम ब्राजिल हो। तर ब्राजिल कोपाबाट बाहिरिसकेकाले केही दुःखी छु। 

युरोमा मैले कुनै टीमलाई पनि समर्थन नगरेकोले यसपटक चाँही बेल्जियमले जितोस् जस्तो लाग्छ। बेल्जियमको टीम राम्रो छ। अहिले गोल्डेन जेनेरेसनको रुपमा चिनिएको बेल्जियन टीमका सबै खेलाडी राम्रा छन्। सायद बेल्जियमको यो टीम अहिलेसम्मकै राम्रो होला। गोलरक्षक, डिफेन्डरदेखि फरवार्डसम्म खेल्ने बेल्जियमका सबै खेलाडी राम्रा छन्। अहिलेसम्म कहिल्यै ठूला प्रतियोगिता जित्न नसकेकोले पनि बेल्जियमले जितोस् जस्तो लागेको हो। 

खेलाडीहरुमा पनि मलाई ब्राजिलियन खेलाडीहरु नै बढी मन पर्छ। उनीहरुको खेल्ने शैली मन पर्छ। सायद पहिल्यै देखि ब्राजिल मन परेको भएकोले होला। 

युरोमा भने तेस्तो मन पर्ने खेलाडी छैन। तर बेल्जियमबाट खेल्ने केभिन डे ब्रुएन, जर्मनीका मेसुट ओजिलको खेल राम्रो लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell