PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चलचित्र विकास बोर्डले रोकेपछि सुटिङ छोडेर सर्वोच्च पुग्यो 'गाँजाबाजा'



स्वेच्छा राउत

चलचित्र विकास बोर्डले रोकेपछि सुटिङ छोडेर सर्वोच्च पुग्यो 'गाँजाबाजा'

काठमाडौँ : दुई बेरोजगार युवक गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था। र, बज्छ जिन्दगीमा बाजा। कथा सामान्य छ, हाम्रो समाजमा भइरहने। समस्या त तब सुरु भयो जब तिनै युवाले तस्करी गर्ने 'गाँजा' शब्दको प्रयोग फिल्मको नाममा भयो।

'गाँजा' शब्दकै कारण निर्देशक गणेशदेव पाण्डेको चलचित्र 'गाँजाबाजा' सेन्सरको रोकमा परेको ६ महिना भयो। निर्माण अनुमति लिन चलचित्र विकास बोर्ड पुग्दा बोर्डले 'गाँजाबाजा' नाम दर्ता गर्न मानेन। बोर्डले 'गाँजा' लागुऔषधको नाम भएकाले फिल्ममा त्यो शब्द राख्न नमिल्ने भनेर 'गाँजा बाजा' दर्ता नगरेको हो। तर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट 'गाँजाबाजा' शीर्षकमा रचनाको दर्ता प्रमाणपत्र समेत पाइसकेको छ।

त्यसैले निर्देशक गणेशदेव पाण्डेले चलचित्र दर्ता अस्वीकार गरेको विषयलाई लिएर बोर्डविरुद्ध सर्वोच्च अदालतमा २०७३ वैशाख २७ गते रिट दायर गरे। निर्देशक पाण्डेले आफ्नो नयाँ चलचित्र ‘गाँजा बाजा’ शीर्षकलाई विकास बोर्डले दर्ता अस्वीकार गरेपछि सोही नाममै चलचित्र बनाइपाऊँ भनी रिट दायर गरेका हुन्। रिट उपर वैशाख २८ गते मंगलबार बल्ल बहस सुरु भएको थियो।



विवाद सुरु भएको ६ महिना र मुद्दा दर्ता गरेको २ महिना पूरा भइसक्दा पनि न्याय पाउन नसकेको गुनासो पाण्डेले गरेका छन्। चलचित्र विकास बोर्डले पनि अदालतसामु आफ्नो तर्फबाट लिखित जवाफ पेश गरिसकेको छ। सर्वोच्चले दुवै पक्षको उपस्थितिमा बहसका लागि आगामी भदौ २७ गतेका लागि पेशी तोकेको छ। त्यही दिन अन्तिम फैसला आउँछ/आउँदैन भन्ने कुरा भने त्यस दिनको बहसमा भर पर्छ। सर्वोच्चले त्यसदिन पनि पेशी सूचीमा स्थगित लिस्टमा पर्‍यो भने उनको न्याय पाउने दिन अझ पछि धकेलिनेछ।

गाँजाबाजामार्फत आजको सामाजिक यथार्थको एउटा पाटोलाई चित्रण गरेको बताउने गणेशदेव पाण्डे भन्छन्, 'लोकतन्त्र र संविधानले मलाई दिएको अधिकारको चलचित्र विकास बोर्डले मजाक उडाउँदै हामीमाथि अंकुश लगायो, त्यही कारण गाँजाबाजा नाम राखेर फिल्म बनाउन नपाउने गलत निर्णय भएको हो।'

चलचित्रको गीतसंगीत र केही दृश्य छायाङ्कनको काम भने भइसकेको छ। सर्वोच्चले अन्तिम फैसला नसुनाएसम्म फिल्मको प्रचार प्रसार गर्न मिल्दैन। त्यसैले फिल्म निर्माण टोली अझै फ्लोरमा उत्रन भने पाएको छैन।

गणेशदेवको अघिल्लो फिल्म 'मञ्जरी' पनि प्रदर्शनअघि विवादमा परेको थियो। चलचित्र विकास बोर्डले मञ्जरीमा १० वर्षीय बालकले कोकाकोलामा पिसाब फेरेको दृश्यलाई कैँची लगायो। दृश्यले बाल मनोविज्ञानमा असर गर्ने भन्दै सो दृश्य चलचित्रबाट हटाइएको हो।
निर्देशक गणेश देव पाण्डेले,'बलात्कार गरेको, बेड सिन, काटमार गरेको दृश्यचाहिँ नराम्रो हुँदैन, देखाइन्छ भने कुनै बच्चाले पिसाब फेरेको दृश्य ब्लर गरेर देखाउनुचाहिँ कसरी नराम्रो भयो ?' भन्दै प्रतिवाद गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell