PahiloPost

May 15, 2024 | २ जेठ २०८१

युरो २०१६ : समूह चरणका १६ विशेषता



गोविन्दराज नेपाल

युरो २०१६ : समूह चरणका १६ विशेषता

फ्रान्समा जारी युइएफए युरो अन्तर्गत समूह चरणका सम्पूर्ण खेलहरु सकिएका छन्। कुल २४ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताबाट १६ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा ८ राष्ट्र बाहिरिएका छन्।
 
६ समुहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा शीर्ष २ मा रहने १२ टीम र तेस्रो स्थानमा रहने ६ मध्ये ४ उत्कृष्ट टीम अन्तिम १६ मा प्रवेश गरेका छन्।
 
पहिलो पटक सहभागी संख्या बढाएर २४ पुर्‍याइएको युरो सुरु हुनुअघि नै यसले केही विशेषता अँगालिसकेको थियो। समूह चरणमा केही यस्ता विशेषता छन्, कोही आशा गरेबमोजित त कोही अप्रत्यासित।  
समूह चरणमा ६ समूहका कुल ३६ खेल भए। ५१ खेलमा अब नकआउट चरणका १५ खेल बाँकी छ। युरोको असली परीक्षा अब हुनेछ।
 

युरो २०१६ का समूह चरणका १६ विशेषता-


. डेब्युटान्ट ४ टीम नकआउट चरणमा


पहिलो पटक युरोमा डेब्यु गरिरहेको ५ मध्ये ४ टीम युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेको छन्। वेल्स, स्लोभाकिया, उत्तरी आयरल्याण्ड र आइसल्याण्डले समूह चरण पार गर्दा अल्बानिया भने अगाडि बढ्न असफल रह्यो।

वेल्स समूह बी को विजेता बन्यो। आइसल्याण्ड समूह एफको उपविजेता बन्यो भने स्लोभाकिया र उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रहेका ६ मम्धे उत्कृष्ट ४ टीममा परेका हुन्। यस्तै आइसल्याण्ड अपराजित रहेको छ। आइसल्याण्ड प्रिक्वाटरफाइनलमा समूह बी को उपविजेता इंग्ल्याण्डसँग खेल्नेछ।
 

. रातो कार्ड खाने पहिलो खेलाडी- लोरिक काना

अल्बानियाका लोरिक काना युरो २०१६ मा रेड कार्ड खाने पहिलो खेलाडी बने। समूह चरण अन्तर्गत स्विट्जरल्याण्ड विरुद्धको खेलमा कानाले रेड कार्ड खाएका हुन्। ३६ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै उनी मैदानबाट बाहिरिएका थिए। यस्तै अष्ट्रियाका अलेकजान्डर ड्रागोभिचले पनि हंगेरी विरुद्धको खेलमा रेड कार्ड पाएका थिए।
 

. पहिलो आत्मघाती गोल

आयरल्याण्डका सियरान क्लार्क युरो २०१६ मा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने। स्वीडेनविरुद्ध भएको समूह चरणको खेलमा एक गोलको अग्रता लिइरहँदा आयरल्याण्डका क्लार्कले आत्मघाती गोल गरे। समूह चरणबाट बाहिरिइसकेको स्वीडेनले समूह चरणमा त्यही गोलमार्फत नै १ अंक जोडेको थियो।
 

. गोल नखाने टीम

युरो २०१६ को समूह चरणमा २ टीमले कुनै गोल खाएनन्। समूह सी मा रहेका जर्मनी र पोल्याण्डले कुनै गोल खाएनन्। जर्मनीले ३ गोल गर्‍यो भने पोल्याण्डले २ गोल मात्र गर्न सफल भयो।
 

. धेरै गोल गर्ने टीम

समूह चरणमा २ टीमले सर्वाधिक ६ गोल गरे। समूह बी मा रहेको वेल्स र समूह एफमा रहेको हंगेरीले समान ६ गोल गरेका हुन्। वेल्सले समूह चरणमा स्लोभाकियाविरुद्ध २, इंग्ल्याण्डविरुद्ध १ र रसियाविरुद्ध ३ गोल गरेको हो। हंगेरीले अष्ट्रियाविरुद्ध २, आइसल्याण्डविरुद्ध १ र पोर्चुगलविरुद्ध ३ गोल हान्यो।
 

. पाका उमेरमा र कम उमेरका खेलाडी


हंगेरीका गाबोर किरली युरोकप इतिहासमै सबैभन्दा बढी उमेरमा खेल्ने खेलाडी बने। समूह चरणको पहिलो खेलमा अष्ट्रियाविरुद्ध मैदान उत्रनेबित्तिकै उनले उक्त रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। अष्ट्रियाविरुद्ध खेल्दा उनको उमेर ४० वर्ष ७४ दिन थियो। उनले यसअघि जर्मनीका लोथर म्याथ्युजको नाममा रहको ३९ वर्ष ९१ दिनको रेकर्ड तोडे। म्याथ्युजले सन् २००० मा उक्त रेकर्ड कायम गरेका थिए।

यस संस्करणको युरोमा मैदान उत्रने सबैभन्दा कान्छा खेलाडी इंगल्याण्डका मार्कुस रासफोर्ड बने। समूह चरण अन्तर्गत वेल्स विरुद्धको दोस्रो खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। वेल्सविरुद्ध खेल्दा उनको उमेर १८ वर्ष २२८ दिनको थियो। यस्तै उनले इंग्ल्याण्डबाट सबैभन्दा कम उमेरमा युरो खेल्ने रेकर्ड समेत राखेका छन्। 
 

. स्टार खेलाडीको अनपेक्षित प्रदर्शन

युरोकप केही स्टार खेलाडीहरु बढी चर्चामा थिए। उनीहरुको प्रदर्शन कस्तो हुने हो र टीमलाई कहाँसम्म लैजाने हुन् भन्नेबारे चर्चा थियो। तर उनीहरुले समर्थकको आशाबमोजिम प्रदर्शन गर्न सकेनन्।

स्टार खेलाडीको नाममा चर्चामा आएका तर प्रदर्शन फितलो रहेका खेलाडीहरुमा जर्मनीका थोमस मुलर, पोल्याण्डका रोबर्ट लेवान्डास्की, इंग्ल्याण्डका ह्यारी केन, फ्रान्सका पउल पोग्वा, स्वीडेनका ज्लाटन इब्राहिमोभिच, एद्रा टुरान हुन्। सर्वाधिक गोलकर्ताको दाबेदारमा समेत अगाडि रहेका मुलर, केन, लेवान्डास्की, इब्रमहिमोभिचले गोलको खाता समेत खोल्न सकेका छैनन्। इब्राहिमोभिचले भने स्वीडेनले समूह चरण समेत पार गराउन सकेनन्।
 

. रोनाल्डोको आलोचना र रेकर्ड

युरो सुरु हुनुअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा स्टारका रुपमा रहेका थिए। उनले ४ सम्भावित रेकर्ड ब्रेक गर्ने सम्भावना थियो। तर समूह चरणको २ खेलमा रोनाल्डोको प्रदर्शन फिक्का रह्यो। यद्यपि समूह चरणको दोस्रो खेलमा उनले पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने सूचीमा लुइस फिगोलाई उछिने। फिगोको १२७ खेलको रेकर्डलाई रोनाल्डोले पछि पारे। अष्ट्रियाविरुद्ध उनले पोर्चुगलका लागि १२८ खेल खेले। त्यही खेलमा उनले पेनाल्टीमा गोल गर्न नसक्दा सर्वाधिक आलोचना भएको थियो।

तर, समूह चरणको अन्तिम खेलमा रोनाल्डोले आफूलाई केही हदसम्म प्रमाणित गरे। हंगेरीविरुद्ध दुई गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याए। युरोको लगातार ४ फरक संस्करणमा गोल गर्ने पहिलो खेलडी समेत बने रोनाल्डो। युरोको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा पुगे। ८ गोल गरेका रोनाल्डो फ्रान्सका मिचेल प्लाटिनीभन्दा १ गोलले मात्र पछि छन्।

रोनाल्डोले सन् २००४ मा २, २००८ मा १ र २०१२ मा ३ गोल गरेका थिए । सन् १९८४ को एकै संस्करणमा प्लाटिनीले ९ गोल गर्दै रेकर्ड कायम गरेका थिए ।
 

. बेलको रेकर्ड


वेल्सका गारेथ बेलले युरो २०१६ को समूह चरण अन्तर्गत खेलेका ३ खेलमा गोल गरे। बेलकै प्रेरणादायी प्रदर्शनको मद्दतमा वेल्स समूह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो। सर्वाधिक गोलकर्ताको सूचीमा पनि बेल स्पेनका अल्भारो मोराटासँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् भने उत्कृष्ट खेलाडीको समेत दाबेदारका रुपमा छन्।

यस्तै बेलले वेल्सबाट एकै प्रतियोगितामा सर्वाधिक गोल गर्ने रेकर्ड समेत कायम गरेका छन्। यसअघि सन् १९५८ को विश्वकपमा इभोर एअचर्चले वेल्सका लागि एकै प्रतियोसगतामा २ गोल गरेका थिए। त्यो नै वेल्सले खेलेको पहिलो ठूलो प्रतियोगिता थियो।
 

१०. इब्राहिमोभिचको सन्यास


प्रतियोगिताअघि स्टारका रुपमा रहेका स्वीडेनका ज्लाटन इब्राहिमोभिचले प्रतियोगिता दौरान अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। समूह चरणको २ खेल खेलेर बेल्जियम विरुद्धको खेलअघि नै उनले युरोकपपछि नै सन्यास लिने बताएका थिए। बेल्जियमविरुद्ध पराजित भएसँगै उनको युरोकप पनि समाप्त भएको छ।

६२ गोल गरेका ३४ वर्षे इब्राहिमोभिच स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन् ।
 

११. तीन पेनाल्टी मिस

समूह चरणको खेलमा कुल ७ पेनाल्टी प्रहार भएका थिए। जसमध्ये ३ पेनाल्टी गोलमा परिणत हुन सकेन भने रोमानियाका बोग्दान स्टान्चु एक्लैले २ पेनाल्टी गोलममा परिणत गरे। यस्तै चेकका तोमस नेसिड र आइसल्याण्ड गिल्फी सिगुरसनले पनि पेनाल्टीमा गोल गरे।

स्पेनका सर्जियो रामोस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अष्ट्रियाका अलेक्जान्डर ड्रागोभिच पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहे। 
 

१२. पायटको उदय


युरोकप सुरु हुनुअघिसम्म फ्रान्सका दिमित्री पायटलाई कमैले चिन्थे। पोग्वा, ओलिभर जिरुड, एन्टोनी ग्रिज्मन, एन गोलो कोन्टे, मार्टिएन जस्ता स्टार नाम भएको फ्रानसेली टीममा पायट पर्ने वा नपर्ने भन्नेमै शंका थियो। जब प्रतियोगिता सुरु भयो तब पायटको उदय भयो।

रोमानिया विरुद्धको उद्घाटन खेलमा फ्रान्सको लागि विजयी गोल गरेका पायटले अल्बानियाविरुद्ध बेच्नबाट आएर फ्रान्सका लागि गोल गरे। यस्तै १ गोलको लागि असिस्ट गरेका पायट गोल्डेन बलको दाबेदार सूचीमा अग्रस्थानमा छन्।
 

१३. मोराटा र बेलको सर्वाधिक ३ गोल


समूह चरणमा २ खेलाडीले सर्वाधिक ३ गोल गरे। वेल्सका गारेथ बेल र स्पेनका अल्भारो मोराटाले समान ३ गोल गरेका छन्। बेलले समूह चरणमा ३ वटै खेलमा गोल गरे भने मोराटाले टर्कीविरुद्ध २ तथा क्रोएसियाविरुद्ध १ गोल गरे ।
 

१४. १२ वर्षपछि स्पेनको हार


समूह चरणमा यदि कुनै खेललाई अनपेक्षित हारको रुपमा लिइयो भने त्यो स्पेन र इटलीको हार नै हो।

डिफेन्डिङ च्याम्पियन समेत रहेको स्पेन समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग २–१ ले पराजित भयो। सर्गियो रामोसले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन क्रोएसियासँग पराजित हुन पुग्यो। क्रोएसियासँग बराबरीले पनि समूह विजेता बन्ने स्पेन हारसँग समूह डी को उपविजेता बन्यो। यति मात्र होइन युरोकपमा स्पेन १२ वर्षपछि पराजित भयो भने लगातार १४ खेलको अपराजित यात्रा समेत समाप्त भयो।

समूहका २ खेल जित्दै समूह विजेता बनिसकेको इटलीले अन्तिम खेलमा आयरल्याण्ड विरुद्ध ८ खेलाडी परिवर्तन गर्‍यो। यसकै कारण खेलको अन्त्यतिर गोल खाँदै इटली आयरल्याण्डसँग १–० ले पराजित भयो।
 

१५. डारिजो श्रनाको लगाव


क्रोएसियाका कप्तान डारिेजो श्रनाले खेल दौरान सबैको मन जिते। समूह चरणको पहिलो खेलमा टर्कीविरुद्ध खेल्दै गर्दा उनको बाबुको निधन भयो। त्यो खबर उनलाई खेलपछि सुनाइयो। उनी तत्कालै क्रोएसिया गए र बाबुको अन्त्येष्टि सकाएर पुन: फ्रान्स फर्के। उनी समूह चरणको चेकविरुद्ध दोस्रो खेलमा क्रोएसियाको कप्तानी गर्दै मैदान उत्रिएका थिए।
 

१६. ८० मिनेटपछि म्याच डिसाइडर गोल, वैकल्पिक खेलाडीको भूमिका

युरो २०१६ को समूह चरणमा कुल ६९ गोल भए। सहभागी टीमको संख्या वृद्धि भए पनि समूह चरणका खेलहरुमा उल्लेख्य मात्रामा गोल हुन सकेन। ३६ खेलमध्ये ११ खेल बराबरीमै टुंगियो भने त्यमध्ये ४ खेलमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेन।

यस्तै ८० मिनेटपछि १९ गोल सम्भव भए। त्यसमध्ये धेरैजसो म्याच डिसाइडर गोल थियो। त्यसमा पनि वैकल्पिक खेलाडीले अधिकांश गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell