'फेसबुक चलाउनु हुन्छ अंकल?,' छिमेकीको घरमा बस्ने ती सानी नानी फेरि आएर सोधिन्।
यो पटक पुरानै पाठ पढाउनु ठीक लागेन। मैले पहिले सम्झाएको कुरा बुझेको भए ऊ दोहोर्याएर सोध्न आउँदैन थिइ। चलाउँछु भनी हाल्न पनि ठीक नलागेर सोधें, 'तिमीलाई किन चाहियो? अस्ति मैले सम्झाएको हैन, बच्चा मान्छेले फेसबुकको कुरा गर्नु हुन्न भनेर?'
'अंकल भन्नु न प्लिज।'
उसो त मलाई केटाकेटी खासै चासो लाग्दैनथ्यो। तर ती सानी नानीले प्लिज भने पछि माया लाग्यो। भनें, अँ चलाउँछु।
ऊ केही नबोली खुरुरु भागेर पर पुगी।
आजकालका केटाकेटीको फेसबुक क्रेज सम्झें। लाग्यो ती नानीले नि चलाउदी हो।
***
पत्रकारिताले सन्तोष मिल्ने अरु केही नदिए पनि फेसबुकमा टन्न साथी दिएको थियो। फोटोमा ३०० लाइक त मजाले कट्थ्यो। त्यसैले नयाँ फ्रेण्ड एसेप्ट गर्न छोडेको थिएँ। आएको रिक्वेस्टको नि मतलब लाग्दैन थियो। तर ती बच्चीले सोधेर गएको साँझ एकपटक चेक गरें। उसको अनुहारसँग मिल्दो कसैको रिक्वेस्ट देखिनँ।
***
एउटा शनिबार बिदाको बहाना घरमै थिएँ। धोएको केही थान लुगा सुकाएर छतमा घाम ताप्दै। तल त्यही नानी देखें। म उसलाई हेरेर हाँसे तर उसले नचिने जस्तो गरी। मैले माथि आउने इशारा दिएँ ऊ तर्की।
जिस्काउनलाई सोधें, ए नानी तिम्रो नाम के हो?
ऊ त डराएर भागी। यसपटक म सतर्क भएँ। कसकी छोरी हो। आमाबालाई बोलाएर ल्याई भने के गर्नु? मनले कतासम्म सोच्न भ्यायो भने, आफैंले लेखेको समाचार याद आयो "बालिकालाई दुर्व्यवहार गरेको आरोपमा युवकले खाए कुटाई।"
'अचानक मै छेउ आएकी फुच्ची कराई, अंकल मेरो नाम सोनिया, तपाईंको के हो?'
एकपटक फिस्स हाँसे, आफू आत्तिएको सम्झेर। र भनें, मनिस। मनिस शर्मा।
त्यो घटनापछि कहिलेकाही देख्थें सोनियालाई ऊ निकै सम्हालिएर मुस्कुराउँथी र आफ्नो बाटो लाग्थी। तर एकदिन नजिकै आइ र डराएर भनी 'तपाईंलाई नयाँ फ्रेन्ड रिक्वेस्ट आएको छ। एसेप्ट गर्नु है।'
***
धेरै पछि कुनै केटीलाई साथी बनाएँ। देखेको अनुहार हो तर कता ठम्याउन सकिनँ। सायद फोटो धेरै एडिट भएकोले होला। फेरि फेसबुकमा नाम पनि अचम्मको थियो "बाबाकी छोरी"।
सुरुको दिन परिचय गरियो। गफाडी रहिछन्, मलाई पनि कुरा गर्न सजिलो भयो। लगातार कुरा हुन थाल्यो पछी मैले उसलाई कान्छी भनेर सम्बोधन गर्न थालें।
एकदिन उसले अचानक सोधी- तपाईंले अस्तिन मलाई किन घुरेर हेरेको?
कहिले? म छक्क परें।
भनिन्,'मैले मेकअप गरी राख्दा झ्यालबाट हेरेको होइन?'
झनक्क रिस उठ्यो सोधें,'हेर्न त म कत्तिको झ्यालमा हेर्छु कत्तिको, कुन झ्याल? कहिलेको कुरा गर्या?'
'पोहोर साल। तपाईंको पल्लो घरको झ्याल।'
धेरै सोचे पछि याद आयो। कान्छीलाई मैले छिमेकीकोमा आक्कलझुक्कल देख्थें।
कुरा गर्दै जाँदा थाहा भयो उसलाई त मैले गर्ने हरेक काम कुरा याद रहेछ। म बिहानै कति बजे निस्कन्छु, बेलुकी कति बजे फर्किन्छु। मैले ठूलो ठूलो स्वरमा गीत गाउने कुरा। ३ हप्तामा एक पटक लुगा धुने कुरा।
एक मनले हाँसो उठे पनि अर्को मनले केही खुशी भएँ। उसँग हरेक दिन फेसबुकमा कुरा हुन थाल्यो। एक अर्काको खाना खाजाको चासो। स्वास्थ्यको चासो। कहिले काही सोध्थी,'हिजो किन ढिला फर्किनु भाको। राति त बाटोमा गुण्डा हुन्छन् है।' उसले यसो भन्दा ऊप्रति खुब माया जागेर आउँथ्यो।
तर फेसबुकमा जति कुरा भए पनि जति माया उर्ले पनि खोई किन हो घरमा हुँदा बाहिर निस्किन्न थि। न त नम्बर दिन नै मान्थी।
भन्थिन्, 'बाबाले मार्नु हुन्छ।'
सधैं च्याट गर्ने बानी परेको थियो। तर अचानक ऊ अनलाइन आउनै छोडी। पहिलो पटक मैले कसैलाई मिस गरेको फिल भयो। पटक पटक ऊ अनलाइन आई कि चेक गरें। पहिले पठाएको मेसेज हेरेको हुन्न थि तर पनि पटक पटक मेसेज पठाई रहें। बेलुकी पनि उसको कोठाको झ्यालमा हेरिरहें। तर फेसबुकको हरियो बत्ती जस्तै उसको कोठाको सिएफएल पनि बल्दै बलेन।
***
कान्छीको घरबेटीसँग छिमेकी नाताले राम्रो सम्बन्ध थियो। एकदिन आँट बटुलेर उनको कम्पाउन्ड भित्र छिरें। मलाई कान्छीको खबर बुझ्नु थियो। तर सोझै सोध्नु ठिक थिएन। अरु अरु कुरा गर्दै थिए। नजिकै घरबेटीकी सानी नानी आइन्। सोधें, नानु सोनिया खोई त?
भनिन्, 'ऊ त गाउँ गई।'
छिमेकी दाइ बोले- सोनियाको आमाले फेसबुकबाट लभ गरी रे। बिचरा दिन भर ज्यामी काम गर्न हिँड्ने बुढोले के गरी थाहा पायो। एक रात नराम्रो सँग कुट्यो र भोलिपल्टै गाउँ लिएर गयो।
***
त्यसदिन छिमेकीको घरबाट फर्के पछी, मैले वरिपरी, छरछिमेक, वल्लो घर पल्लो घर कसैको पनि झ्यालतिर हेर्नै छोडिदिएँ।
(फोटो साभार : पिक्साबे)