PahiloPost

May 15, 2024 | २ जेठ २०८१

मेसीको सन्यास घोषणापछि उब्जिएका प्रश्नहरु



गोविन्दराज नेपाल

मेसीको सन्यास घोषणापछि उब्जिएका प्रश्नहरु

चार फाइनल खेलेर पनि उपाधि जित्नबाट वञ्चित भएपछि मेसीले अर्जेन्टिनी टीमबाट अब नखेल्ने घोषणा गरे। अमेरिकामा सोमबार बिहान सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।

चिलीविरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका तर्फबाट पहिलो पेनाल्टी मेसीले प्रहार गरेका थिए। तर उनको प्रहार पोस्टमाथिबाट बाहिरियो।

लुकास बिग्लियाको प्रहार चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले रोके। अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरोले चिलीको तर्फबाट पहिलो पेनाल्टी प्रहार गरेका अर्टुरो भिदालको पेनाल्टी बचाए पनि त्यसपछि चार प्रहार गोलमा परिणत भयो। नतिजा ४–२ ले चिलीको पक्षमा भयो। चिली लगातार दोस्रो पटक कोपा अमेरिका च्याम्पियन बन्यो।

मेसीको अकस्मात सन्यासको खबर सुरुमा त विश्वभरका फुटबलप्रेमीले विश्वास नै गर्न सकेनन्। तर सत्य यही थियो कि मेसीले सेतो आकाशे जर्सीमा अब नखेल्ने निर्णय गरिसकेका थिए।

सुरुमा युरोकपले गर्दा कोपा अमेरिका छायाँमा परेको थियो तर मेसीको सन्यासले युरोकपलाई नै छायाँमा पारिदियो।

मेसीको सन्याससँगै विश्वभरका फुटबल पण्डित र समर्थकहरु दुई खेमामा बाँडिए। एकाथरी भन्छन्- मेसीले सही समयमा सही निर्णय गरे।

अर्कोथरी भन्छन्- मेसीले नसकेर सन्यास लिए। अझै केही समय मेसीले अर्जेन्टिनाका लागि खेल्नुपर्ने समर्थकहरुको चाहना थियो।

यस्तै मेसीको सन्यासपछि अन्तर्राष्ट्रिय मिडियाहरुमा आएको समाचारहरु पनि फरक-फरक देखियो।

सन् २००५ मा हंगेरीविरुद्ध डेब्यु गरेका मेसीको चिली विरुद्धको खेल अर्जेन्टिनाको जर्सीमा ११३ औं खेल थियो। तर प्रायजसो मिडियाले मेसीले ११२ खेल खेलेर भनेर समाचार प्रकाशित गरे।

मेसीले यस संस्करणको कोपामा ५ गोल गर्दै अर्जेन्टिनाको लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए। उनले गाब्रियल बाटिस्टुटाको नाममा रहेको ५४ गोलको रेकर्ड भंग गर्दै अर्जेन्टिनाका लागि ५५ गोल गरे।

मेसीलाई अर्जेन्टिनाको लागि राम्रो नखेलेको आरोप लाग्दै आएको थियो। क्लब फुटबलमा स्पानिस क्लब बार्सिलोनाबाट सबै खालका उपाधि
थापिसकेका मेसीले कीर्तिमानी पाँच पटक फिफा वर्ष खेलको अवार्ड समेत जितेका छन्।

तर अर्जेन्टिनी जनताहरु नै मेसीको पक्षमा थिएनन्। उनीहरु जहिल्यै मेसीलाई अर्जेन्टिनाको लागि राम्रो नखेलेको भन्दै आरोप लागाउँथे। तर मेसीले नै अर्जेन्टिनालाई लगातार तीन मुख्य प्रतियोगिताको फाइनलमा पुर्‍याए। सन् २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा मेसीकै नेतृत्वमा अर्जेन्टिना फाइनलमा पुगेको थियो। यद्यपि अर्जेन्टिनाले उपाधि भने जित्न सकेन। आखिर फुटबल टीम गेम हो। यहाँ एक खेलाडीले मात्र खेलेर हुँदैन भन्ने कुरा समर्थक र आलोचकले बिर्सेजस्तो छ।

सन् १९८६ को विश्वकपमा म्याराडोनाको एकल प्रयासमा अर्जेन्टिनाले विश्वकप जितेको भनिन्छ। तर तत्कालीन पश्चित जर्मनी विरुद्धको फाइनलमा पनि म्याराडोनाले गोल गर्न सकेका थिएनन्।

यस्तै सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा गोल्ड मेडल जित्दा मेसी त्यस टीमको महत्वपूर्ण सदस्य थिए। यद्यपि ओलम्पिकलाई सिनियर फुटबलमा गणना गरिँदैन।

मेसीको अप्रत्यासित सन्यासबाट अर्जेन्टिनी टिमका सहकर्मी समेत आश्चर्यमा परेका थिए। मेसीसँग एक दशकभन्दा बढी समयसँगै खेल्दै आएका स्ट्राइकर सर्जियो अगुएरोले मेसीलाई ड्रेसिङ रुपमा यस्तो अवस्थामा आफूले यसअघि कहिल्यै नदेखेका बताए।

यस्तै मेसीको सन्यासपछि अब अर्जेन्टिनी टीमको भविष्य कता जान्छ के हुन्छ भन्ने अन्योल भएको छ।

यस्तो अवस्थामा सारा फुटबल समर्थक, अर्जेन्टिनी लेजेण्ड लिएगो मयाराडोनोदेखि अर्जेन्टिनाका राष्ट्रपतिसम्मले मेसीलाई आफ्नो सन्यास फिर्ता लिन आग्रह गरेका छन्।

अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले आफू सधैं मेसीकै समर्थनमा रहेको बताएका छन्। उनले ट्वीटमार्फत 'आफ्नो टीमप्रति अहिलेसम्मकै सबैभन्दा बढी खुसी भएको र विश्वकै उत्कृष्ट खेलाडीले अर्जेन्टिनाका लागि अझै खेलेको हेर्न चाहेको' धारणा व्यक्त गरेका छन्।

म्याराडोनाले सन् २०१८ मा रसियामा हुने विश्वकपमा च्याम्पियन बन्नका लागि मेसीले खेल्नुपर्ने बताएका छन्।

अर्जेन्टिनी टीमका गोलरक्षक सर्जियो रोमेरोले मेसीले स्थितिलाई सम्हाल्न नसकेर सन्यासको बारेमा बोलेको भन्दै यसबारे उनी आफैंले पुनर्विचार गर्नुपर्ने बताएका छन्।

धेरैको आग्रह छ- मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फिर्ता गरुन्। अनि पुन: सेतो र आकाशे जर्सीमा खेलेको हेर्ने समर्थकको चाह छ।

तर के मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट घोषणा गरेको सन्यास फिर्ता लेलान् त?

त्यो आगामी दिनले नै देखाउँनेछ। तर, एउटा कुरा भने निश्चित छ मेसीले बार्सिलोनाका लागि भने खेल्न छाड्ने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell