PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'डिस्कनेक्टेड' बुद्धिजीवी र नेताहरु



'डिस्कनेक्टेड' बुद्धिजीवी र नेताहरु

  • अभय पाण्डे
'अरुलाई दौडन सिकाउने दुइटै खुट्टा नभएको मानिस हो- आलोचक।'
-चयानिङ पोलक
 
मेरो टोलका भुस्याहा कुकुर रातभरि भुकेर हैरान पार्छन्। यस्तो जाबो भुस्याहा कुकुरहरुको व्यवस्थापन गर्न नसक्ने सरकारले भूकम्पपीडितको के व्यवस्थापन गर्ला? देशलाई लोडसेडिङमुक्त कसरी बनाउला? भ्रष्टाचार कसरी मेटाउला? रेल कसरी चलाउला? पानीजहाज मेरो टोलमा कसरी ल्याउला?

भुस्याहा कुकुरको व्यवस्थापन गर्न नसक्ने सरकार टिकिरहनुको कुनै औचित्य छैन!

सरकार! तुरुन्त राजीनामा देऊ!’

*** 
हाम्रो देशको पत्रपत्रिका, अनलाइनमा ‘बुद्धिजीवी आलोचक’हरुले गर्ने तथाकथित आलोचनाको रुप यस्तै हुन्छ। विषय भुस्याहा कुकुरको सट्टा अरु केही होला, त्यो बेग्लै कुरा हो। भुस्याहा कुकुर र पानीजहाजबीच यस्तो सम्बन्ध उजागर गर्छन् आलोचकहरु, त्यस्तो सम्बन्ध त आइन्सटाइनले पदार्थ र ऊर्जाबीच पनि स्थापित गर्न सकेका थिएनन्। रमाइलो कुरो के छ भने टोलका कुकुरहरु गिरिजाबाबु प्रधानमन्त्री हुँदा जन्मे, हुर्केका हुन्, राजीनामा सत्तासीन सरकारसँग मागिन्छ। नगरपालिकासँग पनि के राजीनामा माग्नु? मागे पछि ठूलैको मागौं न। कि कसो?
 
धेरै समय बितेको छैन, बुद्धिजीवीले पानीजहाज र काठमाडौंको सडकमा जम्ने पानीको सम्बन्ध पत्ता लगाएको। चार वर्षअघि बहिनी-ज्वाइँको आतित्थ्यमा डेनमार्कको राजधानी कोपेनहेगेनमा केही समय बिताउने मौका पाएको थिएँ। म बसेको गल्ली ‘एस्प्लानदेन’मा धेरै वर्षा भएपछि सडक पानीमा त्यसरी नै डुब्छ, जसरी काठमडौंको सडक डुब्छ। त्यही ‘एस्प्लानदेन’ गल्लीको एउटा पुच्छरमा संसारको सबैभन्दा ठूलो कन्टेनर शिप्पिङ कम्पनी ‘मर्क्स’को प्रधान कार्यालय छ। कोपेनहेगेनको सडकहरुमा बाढी र ‘मर्क्स’को प्रधान कार्यालय दुवै आफ्नै आँखाले हेर्ने मौका पाएँ। तर त्यहाँका बुद्धिजीवीले सडकमा जम्ने पानी र पानीजहाजबीच अलौकिक सम्बन्ध गाँसेको न पढ्ने मौका पाए, न सुन्ने मौका नै। स्याउ र लसुनको सम्बन्ध जबर्जस्ती गाँसेर कुनै निष्कर्षमा पुग्नु हुन्न भन्ने कुरा त्यहाँका बुद्धिजीवीलाई त परै छोडौं, आम मानिसलाई पनि राम्रो ज्ञान छ। तारिफ त प्रधानमन्त्री ओलीको गर्नैपर्छ, जसले छिमेकीको बन्दरगाह​मा नेपालको पानीजहाज उतार्ने सपना आफ्नै बलबुतामा देखे। नत्र हाम्रा नेताहरु त सडक बनाउने सपना देख्नसम्म पनि ‘उपरवाला’को इसारालाई कुर्ने गर्दछ्न्।
 

प्रोसेसर कहाँ बनेको?

हाम्रा बुद्धिजीवीहरुको बारेमा कम्प्युटरको भाषामा भन्ने हो भने यस्तो विचार मनमा आउँछ- यिनीहरुको ‘हार्डडिस्क’ र ‘मेमोरी’ ‘लेटेस्ट’ नभए पनि, राम्रै ‘क्यापासिटी’को छ। समस्याचाहिँ सायद ‘प्रोसेसरमा’ छ। कसैको प्रोसेसर मेड इन नेपाली कांग्रेस, कसैको मेड इन एमाले, कसैको माओवादी, कसैको मेड इन क्षेत्रीय पार्टी त कसैको मेड इन कुन पार्टी, कसैको मेड इन कुन वाद, कसैको कुन वाद, कसैको मेड इन फाउन्डेसन, कसैको मेड इन डोनर एजेन्सी, कसैको मेड इन रिसर्च एजेन्सी आदिआदि। परिणामस्वरुप उही ‘डाटा’ प्रोसेस गर्दा पनि ‘आउटपुट’चाहिँ भिन्दाभिन्दै निस्कन्छ। आफ्नो विवेक अन्यत्र समर्पण गरेको छ भने छ भने ज्ञान, तर्क र तथ्यांक साहुकारको हितलाई ध्यानमा राखी प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ।
 
आलोचना आफैंमा राम्रो वा नराम्रो होइन। सबै नेता, कर्मचारी खराब नभए जस्तै सबै आलोचक र अलोचना खराब पनि हुँदैनन्। के उद्देश्यले र कस्तो साधन प्रयोग गरेर आलोचना गरिएको हो, त्यसमा निर्भर हुन्छ। सन्तुलित, विवेकपूर्ण, तथ्य , तथ्यांक​ र सुतर्कमा आधारित दबाबमूलक आलोचनाले राज्य र समाजलाई घचघच्याउने काम गर्दछ। तर आफ्नो व्यक्तिगत धारणालाई परम सत्यको रुपमा प्रस्तुत गरिएको, मनगणन्ते, निन्दाले भरिएको, तथ्य र तथ्यांक​रहित, आलोचनाका लागि मात्र आलोचना गरिएको वा दाता र भ्राताबाट प्रभावित भएर गरिएको हो भने त्यसले राज्यलाई हतोत्साहित र समाजलाई निराश बनाउने सिवाय केही पनि काम गर्दैन। आजको गरिब देश भोलि माथि उठ्न सक्छ, तर आजको निराश देश भोलि माथि उठ्न सक्दैन।
 
अर्थशास्त्रमा एउटा सिद्धान्त छ- जसलाई 'ल अफ डिमिनिशिङ रिटर्न्स’ भनिन्छ। यो सिद्धान्त आलोचनामा पनि लागू हुन्छ भन्ने मेरो मान्यता हो। जसअनुसार, आलोचनाले प्रतिफल दिने क्रममा एउटा यस्तो बिन्दु आउँछ, जब प्रतियुनिट अतिरिक्त आलोचनाले (बाँकी सबै कुरा यथावत रहँदा ) क्रमश: ह्रासोन्मुख प्रतिफल दिन थाल्दछ। एउटा अर्को चरण हुन्छ- जसमा प्रतिफल ऋणात्मक हुन्छ, यसलाई 'नेगेटिव रिटर्न’ भनिन्छ। हाम्रो देश सायद त्यही ’नेगेटिव रिटर्न’को चरणमा प्रवेश गरिसकेको छ। किनकि अर्थी, बेअर्थी सबै खाले अलोचना खेप्दाखेप्दा राज्यले आलोचनालाई नै गम्भीरताका साथ लिन छोडिसक्यो। तर अर्कोतिर आलोचनाले समाजमा नैराश्य फैलाएको फैलायै छ। धेरै ख्वाउँदा ख्वाउँदा अब चिनीले तितो फैलाउन थालिसकेको छ।
 
कालो बादलको वरिपरि चाँदीको घेरा त हुन्छ नै। विचारको बजारमा आलोचनाको आपूर्ति जतिसुकै ब​ढे पनि त्यसको मागचाहिँ घट्दैछ। यसको झल्को हेर्न चाहनुहुन्छ भने पछिल्लो एक-डेढ महिनामा विभिन्न चर्चित अनलाइनमामा प्रकाशित लेख र समाचारको शेयर संख्या हेर्नुभए हुन्छ। ठूलै नेता, पत्रकार वा आर्थिक विज्ञहरुले गरेको ‘बौद्धिक विष वमन’को शेयर संख्या कति छ र आशा, भरोसा र सपना जगाउने सकारात्मक खालका लेखहरुको शेयर संख्या कति छ?
 
नेताहरु जस्तै 'डिस्कनेक्टेड' छन् हाम्रा बुद्धिजीवीहरु आफ्ना पाठकहरुबाट।

कुनै जमाना थियो- जब आलोचक इन्टर पास हुन्थे, पाठक अन्डर एसएलसी। अचेल आलोचक र पाठक दुवै समान रुपले शिक्षित छन्। कुनै जमानामा ज्ञानका सौदागर हुने गर्थे आलोचक। गुगल, युट्युब, इन्टरनेट ग्रुप आदिले गर्दा ज्ञानको भाउ कौडीमा झरेको छ। अचेलको जमानामा आलोचक जीवित रहन एउटै विकल्प छ। ज्ञानको मात्र होइन विवेकको पनि प्रयोग गर्ने। तर विवेक प्रयोग गर्न आलोचक आफ्नो सबै आग्रह र पूर्वाग्रहबाट मुक्त हुनु जरुरी छ। ठाउँ कुठाउँ बनेको प्रोसेसर फालेर आफू जन्मँदा साथ लिएर आएको ‘सतचित’ प्रोसेसर पुन: जडान गर्नुपर्ने हुन्छ। हामीले पनि यस्ता बेअर्थी आलोचनालाई निरन्तर बहिष्कार गर्दै जानुपर्छ। होइन भने सधैं नैराश्य, सधैं परिवर्तनको खोजी। एउटा सरकारको सट्टा अर्को सरकारको खोजी। एउटा राजनीतिक व्यवस्थाको सट्टा अर्कोको खोजी। खोज्दै जिन्दगी बित्नेछ हाम्रो, हात लाग्नेछ शून्य।
 

नैराश्यको खेल

पञ्चायत व्यवस्था परिवर्तन भयो, हामी दंग। बीचमा हरेक सरकार परिवर्तन हुँदा, हामी दंग। राजाले निर्वाचित प्रधानमन्त्री बर्खास्त गरे, हामी दंग। २०६२/२०६३ मा क्रान्ति भयो, हामी दंग। राजतन्त्र परिवर्तन भएर गणतन्त्र आयो, हामी दंग।
 
हामी हरेक राजनीतिक परिवर्तन देखेर यति दंग किन पर्छौं? कुरो राजनीतिक, आर्थिकभन्दा पनि मनोवैज्ञानिक छ। र, मनोवैज्ञानिक खेल खेल्न बडा राम्रोसँग जान्दछन् खेलाडीहरु। विज्ञापनकर्मी र मनोविज्ञानको विद्यार्थी भएको कारण यस्तो खेल अलिअलि बुझ्दछु। मनोवैज्ञानिक खेल त हामी विज्ञापनकर्मी पनि खेल्दछौं, तर नैराश्य होइन, आकांक्षा र सपना जगाउँछौ हामी। त्यसो त राजनीति र विज्ञापनमा तात्विक भिन्नता छैन। जे भिन्नता छ, त्यो सतही मात्र हो। दुवैले प्रभाव पार्ने भनेको मानिसको मस्तिष्कमा हो। मस्तिष्कमा विज्ञापन र राजनीति हेर्ने अलग-अलग शाखा हुँदैन। दुवैलाई सञ्चालन गर्ने प्रणाली एउटै हो।
 
हरेक परिवर्तनअघि नैराश्यको कृत्रिम वातावरण पैदा गरिन्छ र एउटा कृत्रिम समाधान प्रस्तुत गरिन्छ। बहालवाला सरकारले देश डुबाउन आँट्यो भनेर कृत्रिम नैराश्य पैदा गर्‍यो र अब आउने सरकारले डुब्न लागेको देशलाई बचाउँछ भनेर कृत्रिम समाधान अघि सार्‍यो। त्यस्तै बहाल राजनीतिक व्यवस्थाले देशबाट गरिबी हटाउन सक्दैन, विकास गर्न सक्दैन, देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सक्दैन भनेर कृत्रिम निराशा पैदा गर्‍यो र अर्को कृत्रिम राजनीतिक समाधान प्रस्तुत गर्‍यो।
 
‘संविधान क्रियान्वयन’ भन्ने भूत पनि खोजेर ल्याइसके बुद्धिजीवीहरुले, हामीलाई तर्साउन! अरु पनि गाडिइसकेका मुर्दाहरु खोजेर ल्याउलान्। एउटा अर्को कृत्रिम तर कर्णप्रिय राजनीतिक धुन फेरि बज्न सक्ला। यसबाट सजग हुनुपर्छ। धुन राम्रो लाग्यो भन्दैमा बाँदर पनि नाचिहाल्दैन। आफ्नो मदारीले बजाएको हो वा दर्शकदीर्घाबाट आएको हो भनेर हेर्छ। हामी त मानिस हौं, मदारीले हात हल्लाएको नाटक मात्र गरेको हो वा धुन पनि आफ्नै डमरूबाट निकालेको हो? त्यो निर्क्यौल गर्ने क्षमता राख्न जरुरी छ।
 

देश अगाडि बढेकै

बुद्धिजीवीहरुले भनेझैं देश न त बिग्रेको छ, न यसको भविष्य​ अँध्यारो नै छ। धिमा गतिमै भए पनि देश अगाडि नै बढेको छ। हरेक वर्ष फेरिने सरकारहरुको कमी कमजोरीका बावजुद पनि। किनकि, यो देश भनेको सरकार मात्र होइन​, सरकारको मात्र पनि होइन। देश भनेको हामी पानि हौं, हाम्रो पनि हो। तेज रफ्तारमा दौडने समाजका मानिसहरुलाई पनि दौडेर पुग्नैपर्ने गन्तव्य कहाँ हो? थाहा पाउनुपर्ने कुरा के हो? त्यसको खासै हेक्का छैन। एउटा दौडेको देखेर अर्को पनि दौडिराखेको छ। इतिहासकार युभाल नोहा हरारी लेख्छ्न्- 'हामी डुंगा, पानीजहाज हुँदै अन्तरिक्ष विमानसम्म पुगिसक्यौं। तर कसैलाई थाहा छैन हामी जाँदैछौ कहाँ?'

खैर! सन् २००० यताको मोटामोटी तथ्यांक​ पेस गर्न चहान्छु, जसले दर्शाउने छ देश अगाडि नै बढेको छ, पछाडि होइन। स्मरण रहोस्, यो १५ वर्षभित्र तथाकथित संक्रमणकाल र द्वन्द्वकालको अंश पनि पर्दछ।
 
आज काठमाडौंभित्र १३ किलोमिटर चल्ने ३२ वटा ट्रली बस अवश्य बन्द भएको छ। तर ट्रली बस पहिलो पटक बन्द भएको साल (२००१) देखि आजसम्म देशभरिको २७ हजार किलोमिटर सडकमा, ६० हजारभन्दा बढी बस, मिनिबस र माइक्रो थपिएका छन्। हिमाल सिमेन्ट कम्पनी अवश्य बन्द भएको छ, तर यसबीचमा देशमा सिमेन्टको वार्षिक उत्पादनमा २९ लाख मेट्रिक टनले बढोत्तरी भएको छ।  १५ वर्षमा देशभरि १२ हजार किलोमिटर सडक थपिएका छन्। नेपालका करिब सबै जिल्ला सडक सञ्जालले जोडिएको छ। उद्योग र कृषि क्षेत्रमा रोजगारी घटेको होला, तर सेवा क्षेत्रमा उल्लेख्य रुपले बढेको छ। हाल निर्माणाधीन चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो तामाकोसीबाट दुई वर्षपछि ५०० मेगावाट बिजुली पैदा भई लोडसेडिङबाट धेरै हदसम्म मुक्ति मिल्नेछ।
 
२००१ मा पुँजी बजार बामे सर्दै थियो। आज नेप्से सूचकांक ४०० बाट बडेर १५०० को हाराहारीमा पुगेको छ। २००१ मा प्रतिव्यक्ति आय २५३ डलर थियो, आज करिब ७६६ डलर छ। गरिबीको रेखामुनि बस्ने मानिसको संख्या ३८ प्रतिशतबाट २४ प्रतिशतमा झरेको छ। मुस्किलले ८/१० नेपाली फिल्म बन्दथे, अहिले वर्षमा करिब २०० फिल्म बन्छ्न्। २००१ मा हामी क्रिकेटको वर्ल्डकप खेल्ने सपना पनि देख्दैन थियौं। यसबीचमा टि २० को वर्ल्डकपमा प्रतिस्पर्धा गर्ने भएका छौं।
 
सामाजिक सूचकांकहरुले पनि देश अघि नै बढेको संकेत गर्दछ। हाम्रो बाल मृत्युदर (५ वर्षमुनि प्रति १००० बालक) २००१ को ९१ बाट घटेर अहिले ३८ मा पुगेको छ, औसत आयु ६२ वर्षबाट बढेर ६८ वर्षभन्दा माथि पुगेको छ। साक्षरता (१५ देखि २४ वर्षसम्मको) ७० प्रतिशतबाट बढेर ८९ प्रतिशत नाघेको छ। मातृ मृत्युदर (प्रति १,००,००० जन्म) ४१५ बाट झरेर १९० मा पुगेको छ।
 
आज देशका ३५ लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारी लिन सक्षम भ​एका छन्। यसमा हामीले हिनाताबोध गर्नुपर्ने कुनै कारण छैन। भूमण्डलीकरणको युगमा पुँजी एउटा देशबाट अर्को देश ढोल पिटेर जान्छ, प्रविधि ढोल पिटेर जान्छ, प्राकृतिक स्रोत र साधन ढोल पिटेर जान्छ भने जनशक्ति एउटा देशबाट अर्को देशमा जाँदा  किन मसाने धुन बजाएर जानुपर्ने? किन उनीहरु जाँदा ढोल पिट्दै नजाने?
 
सिद्धन्तत: यो कुराको विरोध गर्न मिल्दैन। नत्र बुद्धिजीवीकै भाषामा भन्ने हो भने  त्यो 'खोक्रो राष्ट्रवाद' हो। तर सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने न्युनतम वातवरण जस्ता कुराको चाहिँ राज्यले ख्याल राख्नैपर्छ। विडम्बना के छ भने देश डुब्न लाग्यो भनेर नैराश्य पनि फैलाउने अनि युवा विदेशिए भनेर गोहीको आँसु बगाउने? अफसोच, केही बुद्धिजीवी अरबमा रोजगारी गर्न गएका दाजु, भाइ, दिदी बहिनीहरुलाई शिखन्डी बनाएर विरोधीलाई निशाना साँध्ने काम गर्छन्। तर उनीहरु न त शिखन्डी हुन्, न त विचरा नै। ती त कर्मयोद्धा हुन्, आफ्नो सपना पूरा गर्न यथार्थसँग लडाइँ गर्ने कर्मयोद्धा।
 
अस्ट्रेलियामा स्नातकोत्तर गर्ने क्रममा मैले 'क्लिनर'को काम पनि गरेँ। मेरो 'सुपरभाइजर' मलाई सिड्नीको सबैभन्दा राम्रो 'क्लिनर' भन्थे। अस्ट्रेलिया जानुअघि म उद्योगपति एवं उद्योग वाणिज्य महासंघका तत्कालीन सभापति विनोद चौधरी  पिए थिएँ। उहाँ मेरो कामबाट धेरै प्रभावित हुनुहुन्थ्यो। अस्ट्रेलियाबाट फर्केपछि मैले विज्ञापन क्षेत्र रोजे। भगवानको कृपाले कृति अवार्डमा अहिलेसम्म १९ पटक मनोनीत भएर ६ पटक अवार्ड पनि जितेको छु।
 
त्यसैले, एउटा भुक्तभोगीको नाताले विदेशिने दाजु, भाइ, दिदी, बहिनीहरुलाई यति भन्न चाहन्छु: जे काम गर्नुहुन्छ दिल खोलेर गर्नुस्, आफ्नो कामलाई सम्मान  गर्नुस्, जे गर्नुहुन्छ काममा उत्कृष्टता हासिल गर्ने प्रयास गर्नुस्। जे सपना बोकेर जानुभएको छ, त्यो पूरा गर्नुस् र गर्वका साथ स्वदेश फिर्ता आउनुस्। त्यसपछि आफूले बटुलेको सिप र अनुभव आफ्नो र देशको प्रगतिमा लगाउनुस्।
 
 

भविष्य कस्तो? हामीले सोचे जस्तो!

जब म आफ्ना अनुभूतिहरुलाई थाती राख्छु र तथ्यहरु केलाउँछु।
 
हामी निराश हुनुपर्ने आवश्यकता छैन। आवश्यकता छ त सकारात्मक सोच र भविष्यप्रति आशा। आशा र आर्थिक वृद्धिको जुन सम्बन्ध  छ, त्यसको उदाहरण अमेरिका नै छ। अमेरिकाको कुल गार्हस्थ उत्पादनको ७० प्रतिशत हिस्सा कन्जुमर स्पेन्डिङ (उपभोक्ताले गर्ने खर्च) ले ओगट्छ। उपभोक्ताले गर्ने खर्चको मात्राले मूलत: अमेरिकामा आर्थिक वृद्धि वा संकुचनलाई निर्देशित गर्दछ। उपभोक्ता त्यति बेला बढी खर्च गर्छन्, जब उनीहरु भविष्यप्रति आशावादी हुन्छन्। अचेलको बजार र अर्थतन्त्रमा आशा, विश्वास, भरोसा, निराशा, डर जस्ता भावनाहरुले ठूलो भूमिका खेल्दछ। तर यो कुरा परम्परागत अर्थशास्त्रीहरुले बुझ्दैनन्। हामी ‘होमो सेपियन्स हौं, परम्परागत अर्थशास्त्रीहरुले सोचे जस्तो विशुद्ध तार्किक जीव ‘होमो इकोनोमिकस’ होइनौं।
 
कतिपय विज्ञहरु भूत र वर्तमानकालको ज्ञानले ओतप्रोत भएर भविष्यवाणी गर्न आतुर हुन्छन्। आखिर विज्ञहरुको भविष्यवाणी कति सही हुन्छ त? पेन्सल्वेनिया विश्वविद्यालयका प्राध्यापक फिलिप टेट्लकले २८४ जना यस्ता मानिसहरुको अन्तरवार्ता लिए, जसको जीविका राजनीतिक वा आर्थिक दिशाको बारेमा टिप्पणी गरेर वा सल्लाह दिएर चल्दथ्यो। ती विज्ञहरुबाट उनले आफ्नो विज्ञता र विज्ञताबाहिरको विषयमा ८० हजार मध्यम दुरीको भविष्यवाणी संकलन गरे। अनुसन्धानको नतिजा २००५ मा प्रकाशित पुस्तकमा गरेका छन् उनले। नतिजा आश्चर्यजनक थियो। आफ्नो विज्ञता नभएको विषयमा मात्र होइन, विज्ञता भएको विषयमा समेत विज्ञहरुको भविष्यवाणी गैरविज्ञको भन्दा उल्लेख्य रुपमा सही निक्लेन।
 
अर्थशास्त्रमा नोबेल पुरस्कार बिजेता डानिएल काह्नेमनको शब्दमा भन्ने हो भने, ‘जो मानिस कुनै विषयको अध्ययनमा आफ्नो समय बिताउँछ र जसबाट आफ्नो  जीविका चलाउँछ, उसले आँखामा पट्टी बाँधिएका ‘तीर फाल्ने बाँदर’ (डार्ट थ्रोइङ मंकिस) भन्दा कमजोर भविष्यवाणी उत्पादन गर्छ। मैले यो अध्ययन उद्धृत गर्नुको उद्देश्य विज्ञहरुको ज्ञानमा शंका जगाउनु होइन, हाम्रा विज्ञहरुले उत्पादन गर्ने निराशावादी भविष्यवाणी सहजै विश्वास गर्न सकिँदैन भन्ने हेतुले मात्र गरेको हुँ।
 
भविष्य सधैं अनिश्चित हुन्छ।
 

आत्मसमीक्षादेखि आलोचनासम्म

हामी सरकारी अड्डामा जान्छौं, आफ्नो मान्छे खोज्दै हिड्छौं। नहुने काम होस् र हुने काम चाँडै होस् भन्ने चाहन्छौं। त्यसको लागि केही लेनदेन गर्न पनि तयार हुन्छौं। ट्राफिक नियम तोडे अलिकति हातमा हालेर उम्कन कोसिस पनि गर्छौं। पेट्रोल र ग्यास सहज रुपले नपाए कालो बजारमा भए पनि किन्छौं। कसैलाई काम दिनुपरे योग्य होइन पहिले आफ्नो मान्छे खोज्छौं।
 
यी सबै भ्रस्ट आचार नै हुन्।
 
हामी सोच्छौं 'नेपाल जस्तो देशमा यति यताउता त चलिहाल्छ नि'। कुरा त ठिकै हो। यो कुनै स्क्यन्डिनेवियन मुलुक होइन, जहाँ भ्रस्टाचार न्युन छ र समाजमा नैतिकताको स्तर उच्च। फेरि प्रश्न उठ्छ, यति त चल्छ भने कतिचाहिँ चल्दैन? यस्को छिनोफानो गर्ने काम आफ्नो विवेकलाई छोडिदिन्छौं।
 
बुद्धिजीवीहरु पनि त्यही गर्छन्। उनीहरुमध्ये कति जना अन्ना हजारे छ्न्, जसले  अहिलेसम्म एक पैसा पनि घुस दिएका छैनन्, आफ्नो कामको लागि भनसुन गरेका छैनन्, हाहाकार हुँदा ग्यास र पेट्रोलको लागि लाइनमा बस्न छोडेर फोन घुमाएका छैनन्। आफ्नो मान्छेलाई आफ्नो अफिस भए त्यही, नभए साथीभाइ वा हाकिमलाई सिफारिस गरेका छैनन्। उनीहरुलाई पनि लाग्दोहोला कि नेपालमा यति त चलिहाल्छ नि।
 
एउटा निश्चित मात्रामा भ्रस्टाचर, असक्षमता, ढिलासुस्ती, नातावाद, कृपावाद, आशीर्वाद, आदिआदि त हाम्रो जस्तो राज्यमा ‘चल्छ’ नै। यो कुनै स्क्यन्डिनेवियन मुलुक त पक्कै होइन। हाम्रो जस्तो आत्मकेन्द्रित समाज र ‘डेलिभरी क्यपासिटी’ कम भएको राज्यमा कतिसम्मको कमीकमजोरी र विसंगतिलाई आलोचकले नजरअन्दाज गर्ने (कानुनले होइन) र कतिभन्दा माथिकोलाई आलोचना गर्ने? यसको कुनै नियम वा गणितीय सूत्र छैन। त्यसको लागि अलोचकले आफ्नो विवेकको प्रयोग गर्नुपर्ने हुन्छ। तर विवेकको प्रयोग गर्न प्रोसेसरमा 'मेड इन माइ अन्तरआत्मा' लेखिएको हुनुपर्छ न कि मेड इन नेपाली कांग्रेस, मेड इन एमाले,  माओवादी, मेड इन क्षेत्रीय पार्टी वा मेड इन फलाना र ढिस्काना एजेन्सी। किनकि आफ्नो साहुकार सत्तामा हुँदा वा साहुकारले चाहेमा थोरै कमीकमजोरी देख्नुपर्ने र अर्काको हुँदा अतिरन्जित रुपमै बढी देख्नुपर्ने बाध्यता हुन्छ।
 
यस्तो आलोचनाले समाज र राज्यको चरित्र परिवर्तन गर्न सक्दैन। यसले सरकार र राजनीतिक व्यवस्था मात्र परिवर्तन गर्न मद्दत गर्दछ, मुलुकमा ‘नियन्त्रित/अनियन्त्रित अस्थिरता’ फैलाउन खोज्ने शक्तिलाई अन्जानमै भए पनि मद्दत गर्दछ।
 
आफ्नो विवेक प्रयोग गरेर लेखेको आलोचनाले मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छ। आलोचना त्यही हो, जसले साकारात्मक परिवर्तन ल्याउने दम राख्छ।  होइन भने त्यस्तो आलोचना आत्ममैथुन जस्तै हुन जान्छ, जसले आफूलाई आनन्द त दिन्छ, तर न त्यो उत्पादक हुन सक्छ न त परिवर्तनकारी नै। त्यस्तो आलोचनाले देशमा नैराश्य मात्र फैलाउँछ र माथि भने जस्तै एउटा गरिब देश भोलि माथि उठ्न सक्छ तर निराश देश भोलि उठ्न सक्दैन। त्यस्को लागि पर्सिसम्म कुर्नुपर्छ। यही आशमा कि- पर्सि त पक्कै आशा जाग्नेछ। 

(यहाँ प्रयोग गरिएको कार्टुन toonpool.com बाट लिइएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell