PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'क'बाट करिश्मा, 'ब' बाबुराम : एक अभिनेत्रीको नेत्री बन्ने यात्रा



स्वेच्छा राउत

'क'बाट करिश्मा, 'ब' बाबुराम : एक अभिनेत्रीको नेत्री बन्ने यात्रा

 

क-  करिश्मा

नामको अगाडि 'सदाबहार नायिका' विशेषण पाएकी करिश्मा मानन्धर अब अभिनेत्री मात्र रहिनन्। अभिनेत्रीसँगै नेत्री पनि भएकी छिन्। डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिकी केन्द्रीय सदस्य उनि अब भने देश चलाउने काममा पनि योगदान दिन लागिपरेकी छिन्।

ख- खबर

'करिश्मा नयाँ शक्तिमा' भन्ने खबर सुन्दा धेरै मान्छे छक्क परे। अभिनेत्रीकै रुपमा चर्चा कमाएकी उनलाई किन पर्‍यो राजनीति गर्न? भन्ने प्रश्न पनि सामाजिक सञ्जालहरुमा खुब उठेका थिए।

ग-   गर्नुपर्छ

पहिलोपोस्टसँगको कुराकानीमा करिश्माले भनिन्, 'कला क्षेत्रमै भएको राजनीतीले मलाई राजनीतिको आवश्यकता बुझायो।' कलाकारितामा मात्र हुँदा उनले राजनीतिमा खासै चासो राख्दिन थिइन्। तर यति पक्कै बुझेकी थिइन् कि देशमा सबैभन्दा खराब अवस्था राजनीतिको छ। उनले आफ्नो क्षेत्रमा पनि खराब राजनीतिले निम्त्याएको खराब अवस्थाहरुको सामना गर्नुपर्‍यो। भनिन्,'चलचित्र विकास बोर्डभित्रै भएको राजनीतिले मलाई राजनीतिमा तान्यो। राजनीतिमा केही गर्नै पर्ने रहेछ भन्ने बनायो।'

घ-   घटनाको सम्बन्ध

उनलाई लाग्छ आफ्नो क्षेत्रमा कुनै पनि पार्टीको झण्डा नओड्ने दुई-चार जना कलाकार सधैं पर थिए। राजनीति सफा हुनुपर्छ भन्ने उनमा सोच आयो। 'म नेपाली कला क्षेत्रलाई तल पार्न चाहन्न त्यसैले यहाँभित्र कस्ता घटना घटे भन्न चाहन्न। तर म कलाकार हुनु र राजनीति सुरु गर्नुमा ठूलो सम्बन्ध छ', उनले सुनाइन्।

च- चेतमाथि प्रश्न

राजनीति गर्छु भनेर नयाँ शक्तिमा देखिन त थालिन् तर उनको राजनीतिक चेतमाथि लगातार प्रश्न उठ्न थाल्यो।  २०७३ जेठ ३१ गते भएको नयाँ शक्ति पार्टी घोषणाका दिन त कार्यक्रम सञ्चालिकाकै रुपमा प्रस्तुत भएकी उनको अस्पष्ट नेपाली र अशुद्ध अङ्ग्रेजीका कारण सामाजिक सञ्जालमा उनको मजाक उडाउँदै र गाली गर्दै थुप्रै पोस्टहरु भए। मानन्धरले आलोचनालाई आफूले सकारात्मक रुपमा लिएको र आफैंलाई सुधार्ने मौका मिलेको भन्दै प्रष्ट पनि पारिन्। तर पटकपटक उनलाई अनावश्यक गाली, तथ्यहीन समाचार र नकारात्मक टिकाटिप्पणी भइरहेपछि भने फेसबुक स्टाटसबाट आक्रोस पोखिन्।
 
उनले भनिन्,'आफूमाथि पटकपटक प्रहार हुँदा सहनु अपराध हो। त्यसमाथि विज्ञ, विद्वानले आफूलाई संकेत गरेर भनेको त सहन नै हुन्न।'
 
उनलाई लाग्छ विद्वान भनाउँदाहरु खोक्रा हुन्छन्। उनीहरु लाचार छन् किनकि उनीहरु भावशून्य छन्। थपिन्,'जब मान्छेमा भावनाको कमी हुन्छ तब ज्ञानले मात्र मान्छे पूर्ण हुँदैन।'
 

- समय छ, क्षमता छ

उनले चुनौती दिएको भावमा थपिन्,'मैले ३० वर्षमा कमाएको दर्शकको माया कसैले कमाएर देखाओस् म उसलाई सलाम गर्छु।' उनलाई लाग्छ पिएचडीको सर्टिफिकेट कमाउन उनीसँग अझै समय छ। क्षमता छ।
 

- जवाफ आलोचनाको

सुरु सुरुमा उनको आलोचना हुँदा, नकारात्मक समाचारको सिकार हुनुपर्दा त आक्रामक भएर जवाफ दिन्थिन्। त्यस समय उनलाई डाक्टर भट्टराईले प्रतिवाद नगर्न भन्थे। आजकाल करिश्मालाई बल्ल थाहा भएको छ, चुप लाग्नु नै चुप पार्ने अचुक औषधि हो। 
 

झ- झण्डामुनि बस्दाका दुःख

करिश्मा अहिले एउटा पार्टीको झण्डामुनि छिन्। तर त्यहाँ पनि उनले सुख पाएकी छैनन्। उनले सुनाइन्,'आलोचना गर्नमा सामाजिक सञ्जालका विद्वान मात्र होइन पार्टीभित्र पनि प्रतिस्पर्धा छ। किनकि सबैलाई पद चाहिएको छ।' उनलाई चित्त दुखाइ रहेछ, उनको कलाकारिताको अपमान गर्दै कसैले,'काम न काजको कलाकार पार्टीमा' भनेकोले।

तल्लीन

'एउटा मान्छेमा हजारौं गुण हुन्छन्। ममा पनि छ', करिश्मा भन्छिन्,'म भित्रैबाट एउटा आँटिलो र दरिलो आइमाई हुँ।'
 
फिल्म इन्डस्ट्रीदेखि नयाँ शक्तिको हरेक अभियानमा सक्दो योगदान पुर्‍याउन लागिपरेकी उनी आफू आम महिलाको प्रेरणाको स्रोत बन्न सक्ने विश्वास राख्छिन्। एक महिला प्रतिनिधि हुन चाहन्छिन् जो देशलाई समृद्धि र विकासको बाटोमा धकेल्न तल्लीन हुन्छ।
 

थ- थप ऊर्जा

उनी भन्छिन्,'मलाई स्वार्थरहित राजनीति गर्नु थियो। र त्यो गुण मैले डाक्टर साहेबमा पाएको थिएँ।' उनले थप भनिन्,'पार्टीमा न म न बाबुरामजी, हामी सबै नयाँ हौं। सबै नयाँ बनेर काम गर्दा सजिलो हुन्छ।' पार्टी एक्लो प्रयासले चल्ने कुरा हैन। र नयाँ शक्ति बाबुराम भट्टराईको मात्र होइन भन्ने आभास उनले हरेक कार्यकर्ता र सदस्यलाई दिनाले पनि करिश्मा थप ऊर्जा दिन्छ।
 

द- दस्तावेजमा मात्र लोकतन्त्र

उनी चाहन्छिन्, 'देश राम्रो होस्, समृद्ध होस्, युवा नबाहिरिऊन्। नीति नियम बनाउने ठाउँमा पुग्न सके यो सब हामी गरेर देखाउँछौं। लोकतन्त्र आयो संविधान आयो तर आम जनताले लोकतन्त्र महसुस गरेका छैनन्। भनिन्, 'कागजी दस्तावेजमा मात्र लोकतन्त्र आएर हुँदैन। अब म  करिश्मा मानन्धर नयाँ शक्तिको तर्फबाट सक्दो प्रयास गर्छु जनतालाई नेपाली जनता हुनुको राम्रो आभास दिलाउन।'
 

ध- धकेलिन्छ महिलालाई

समाजमा अझै पनि महिला महिला भएकै कारण उनीहरुको कमजोरीलाई सुधार्न मद्दत गर्नुको सट्टा कमजोरीमा प्रहार गरिन्छ, धकेलिन्छ। करिश्माले सोही कुरा पार्टीभित्र पनि अनुभव गरेकी छिन्। उनी भन्छिन्,' मेरो राजनीतिक यात्राको एउटा गन्तव्य हो, हरेक महिलाको लागि प्रेरणा बन्नु। म सक्दिनँ, म बुझ्दिनँ भन्ने हरेक महिलालाई अगाडि बढ्न प्रोत्सहान गर्न चाहन्छु।'
 

- नयाँ शक्ति नै किन ?

करिश्माले राजनीति सुरु गर्नेबारे सोचेलगत्तै उनले नेपाली राजनीतिज्ञहरुलाई पढ्न थालिन्। उनीहरुको भिजनबारे चासो राखिन्। उनलाई बाबुराम भट्टराईको आइडियोलोजीले प्रभावित गर्‍यो। नयाँ शक्तिबारे बाबुराम भट्टराईले विभिन्न भेटहरुमा भन्दा करिश्मा झन् आकर्षित भइन्। मानन्धरलाई लाग्यो, देश विकासको खम्बा बन्ने क्षमता भएको व्यक्तित्वलाई अवश्य समर्थन गर्नुपर्छ।
 

प- पार्टी

उनी स्थापित पार्टीमा पनि लाग्न सक्थिन् तर उनलाई शून्यदेखि सुरु भएको पार्टीमा लाग्दा आफूले धेरै सिक्ने अवसर पाउने विचार आयो। त्यसमाथि बाबुराम भट्टराई जस्तो केही गर्न प्रेरित गर्ने मान्छे उनले अरु पार्टीमा भेटेकी थिइनन्।
 

फ- फरकका लागि

करिश्मा भन्छिन्,'मलाई कसैले नयाँ शक्तिमा आइज भनेर बोलाएको होइन। बाबुराम सरलाई समर्थनको खाँचो थियो। म आफैं बाबुराम भट्टराईलाई साथ दिने सोच बनाएर फरकका लागि फरक पार्टीमा लागेकी हुँ।'
 

- बाबुराम भट्टराई करिश्माको नजरमा

बाबुराम भट्टराई एक्लोको पार्टी होइन नयाँ शक्ति। करिश्मा मानन्धर लगायत थुप्रैको साथ समर्थन रह्यो र पार्टीले एउटा स्वरुप पायो।
 
करिश्मालाई लाग्छ नयाँ पार्टीमा पनि हजारौंको समर्थन हुनु भनेको बाबुराम भट्टराईको भिजनले साथ पाउनु हो। उनी भन्छिन्, 'बाबुराम साधारण छन्। त्योभन्दा बढी उनी निस्वार्थ छन्।' 
 
'हामी जस्तो सिक्दै काम गर्नेहरुका लागि उहाँ गुरु हो। डाक्टर साब प्रयास गर्नुलाई पनि एउटा तहको सफलता मान्नुहुन्छ,' उनले सुनाइन्।
 
उनी छक्क परेकी छिन् भट्टराईले रेस्ट्लेस काम गरेको देखेर। उनलाई लाग्छ, बाबुरामको उद्देश्य र लगनशीलताका कारण मान्छे कमाएका छन्।
 
करिश्माले उत्साहित हुँदै सुनाइन्,'गोर्खाली जनाताको आँखामा छर्लङ्ग देखिन्छ उहाँप्रतिको विश्वास। उहाँको फोटो राखेर पढ्ने विद्यार्थीहरु देखेर म निकै खुसी भएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell