PahiloPost

May 15, 2024 | २ जेठ २०८१

​यस्तो छ युरो २०१६ को सेमिफाइनल पुगेका चार टोलीको विशेषता



गोविन्दराज नेपाल

​यस्तो छ युरो २०१६ को सेमिफाइनल पुगेका चार टोलीको विशेषता

फ्रान्समा चलिरहेको युरोकप २०१६ को सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ। सेमिफाइनलसम्म पुग्ने क्रममा केही अप्रत्यासित नतिजा आए। उपाधि दाबेदार केही टोली सेमिफाइनलसम्म नपुग्दै आउट भइसकेका छन्। 

डिफेन्डिङ च्याम्पियन स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरियो। अर्को पूर्व विजेता इटली क्वाटरफाइनलबाट अघि बढ्न सकेन। स्पेन सँगै इटली गत संस्करणको फाइनलिस्ट हो।

अर्का उपाधि दाबेदार इंगल्याण्डको यात्रा पनि प्रिक्वाटरफाइनलबाट अघि बढ्न सकेन। उपाधि दाबेदारका रुपमा हेरिएका यी तीन टोली बाहिरिएसँगै अन्य नयाँ टोलीले सेमिफाइनलमा स्थान बनाएका छन्। 

आयोजक फ्रान्ससँगै सर्वाधिक तीन पटकको च्याम्पियन जर्मनी, नवप्रवेशी वेल्स र पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएका छन्। 
सेमिफाइनलमा पुगेका चार मध्ये जर्मनी र फ्रान्सलाई मात्र सुरुमा च्याम्पियन बन्न सक्ने टोलीको रुपमा हेरिएको थियो।

उपाधि चुम्नबाट दुई खेल मात्र टाढा रहेका यी चार टोली कसले उपाधि जित्ने हो त्यो अहिल्यै भन्न गाह्रो छ। तर के चाहिँ पक्का छ भने यी चार मध्ये एकले पक्कै पनि उपाधि जित्नेछ। 

फ्रान्स युरो २०१६ को सेमिफाइनलमा पुगेका चार टोलीको युरो इतिहास र जारी युरोको प्रदर्शन र विशेषताहरु यस्ता छन्।

पोर्चुगल 

फ्रान्समा युरो खेलिरहेको सबैभन्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टीम हो पोर्चुगल। प्रतियोगिता सुरु हुनु अघि रोनाल्डोको नामले नै पोर्चुगल उपाधिको दाबेदार थियो। तर जसै प्रतियोगिता अघि बढ्दै गयो, एक समय पोर्चुगल समूह चरणबाटै बाहिरिरिने खतरामा थियो। तर त्यसो भएन। अन्त्यमा रोनाल्डोले नै पोर्चुगलको उद्धार गरे। पोर्चुगल समूह चरणको तीन वटै खेल बराबरी गर्दै नकआउट चरणमा प्रवेश गर्यो। पहिलो खेलमा आइसल्याण्डविरुद्ध एक एकको बराबरी खेलेको पोर्चुगल दोस्रो खेलमा अष्ट्रियासँग गोलरहित बराबरीमा रोकियो। यति खेर रोनाल्डोको आलोचना सुरु भइसकेको थियो। हुन पनि किन नहोस् रोनाल्डोले नै अष्ट्रिया विरुद्धको पेनाल्टी गोल गर्न सकेनन् तर तेस्रो खेलमा रोनाल्डोले सबै आलोचकलाई जवाफ फर्काइदिए। हंगेरी विरुद्धको खेलमा तीन पटक पछि परेर पनि पोर्चुगलले बराबरी गर्यो र यसमा नायक बनेका रोनाल्डोले दुई गोल गरे।

समूह चरणमा तीन वटै खेल बराबरी गरेपछि तेस्रो बनेको पोर्चुगल तेस्रो स्थामा रहने ६ मध्ये उत्कृष्ट चारमा पर्दै नकआउट चरण पुग्यो। समूह चरणमा सबै खेल बराबरी खेलेको पोर्चुगलले त्यसपछिका दुई खेलमा पनि निर्धारित ९० मिनेट भित्र खेल जित्न सकेको छैन।
प्रिक्वाटरफाइनलमा उसको प्रतिद्धन्दी थियो क्रोएसिया। क्रोएसिया समूह चरणमा डिफेन्डिङ चयाम्पियन स्पेनलाई हराउँदै विजेता बनेको थियो र उपाधिको दाबेदारको रुपमा देखिएको थियो। तर पोर्चुगलले क्रोएसियालाई प्रिक्वाटरफाइनलबाटै घर फर्कायो । यो पटक नायक बनेका रिकार्डो क्वारेस्माले अतिरिक्त समयको २७ औं मिनेटमा एक मात्र निर्णायक गोल गरे। 

क्वाटरफाइनलमा पोर्चुगलको भेट पोल्याण्डसँग भयो। फेरि एक पटक पोर्चुगलले ९० मिनेटमा नतिजा निकाल्न सकेन। निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ५–४ ले खेल आफ्नो पक्षमा पार्दै पोर्चुगल युरो २०१६ को सेमिफाइनलमा पुग्यो। 

पोर्चुगल युरो कपको सेमिफाइनलम पुगेको यो पाँचौ पटक हो। सातौ पटक सहभागिता जनाइरहेको पोर्चुगलले यसअघि चार पटक सेमिफाइनल खेल्दा उपाधि एक पटक मात्र फाइनल पुगेको थियो। सन् २००४ मा धरेलु भुमिमै भएको युरोमा फाइनलसम्म पुग्नु नै पोर्चुगलको अहिलेसम्मको उपलब्धी हो। फाइनलमा पोर्चुगल ग्रिससँग पराजित भएको थियो। सन् २०१२ मा पनि सेमिफाइनल पुगेको पोर्चुगल पेनाल्टीसुटआउटमा स्पेनसँग हारेको थियो। 

वेल्स

वेल्ससँगै यसपटक पाँच राष्ट्रले युरोकपमा डेब्यु गरेका थिए। जसमध्ये अल्वानिया समूह चरणबाटै आउट भयो भने बाँकी चार टोली नकआउट चरणमा पुग्यो। 

अनि उत्तर आयरल्याण्ड र स्लोभाकिया प्रिक्वाटरफाइनलबाटै बाहिरियो। आइसल्याण्ड पनि क्वाटरफाइनलबाट आउट भयो र डेब्यु गर्ने मध्ये वेल्स मात्र सेमिफाइनलमा पुग्न सफल रह्यो।

डेब्यु सहभागितामै सन् १९९२ पछि युरोकपको सेमिफाइनलमा पुग्ने वेल्स पहिलो टोली बनेको छ।

वेल्सले खेल्दै गरेको यो दोस्रो ठुलो फुटबल प्रतियोगिता हो। सन् १९५८ मा विश्वकप फुटबल खेलेको ५८ वर्षपछि वेल्सले युरोमा डेब्यु गर्ने अवसर पायो। र त्यस अवसरलाई गज्जबले सदुपयोग गर्दैछ वेल्स। 

सेमिफाइनलसम्म पुग्ने क्रममा वेल्सले सबैको मन जित्ने प्रदर्शन गरेको छ। त्यसमा वेल्समा गारेथ बेल र आरोम रामसे मज्जाले जमेका छन्। यि बाहेक पनि वेल्सको टीम गेम नै राम्रो छ। इंगल्याण्ड र रसिया जस्तो युरोपियन पावरहावस सम्मिलित समूहमा परेको वेल्स समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। स्लोभाकियालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको वेल्स दोस्रो खेलमा एक गोलको अग्रता बनाएर पनि इंगल्याण्डसँग पराजित भएको थियो तर समूहको अन्तिम खेलमा रसियालाई हराउँदै वेल्स नकआउट चरणमा पुगेको थियो।

प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई हराउन संघर्ष गरेपनि क्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै वेल्सले सनसनी मच्चाइसकेको छ।
वेल्स र आइसल्याण्ड जारी युरोको सबै खेलमा गोल गर्ने टीम हुन्। 

सन् १९५८ मा पहिलो पटक कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको वेल्स ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको थियो। तेतीखेर ब्राजिलका लागि पेलेले एक मात्र निर्णायक गोल गरेका थिए।

युरो सुरु हुनु अघि नै फुटबल पण्डितहरुले वेल्सलाई अन्डर डग टोलीका रुपमा विश्लेषण गरेका थिए। जुन अहिले आएर प्रमाणित भइसकेको छ। जसरी सुरुमा वेल्स गारेथ बेलको वान मेन टीम भनेर परिचित थियो अहिले आएर तयो पनि चेन्ज भएको छ। वेल्स बेल भन्दा पनि केही हो भन्ने भएकमो छ। समग्रमै टीम गेम राम्रो छ।

जर्मनी

विश्व फुटबलमा जर्मनी चर्चित नाम हो। ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि जितेपनि सबैभन्दा धेरै पटक विश्व कप र युरो कपको फाइनल पुग्ने रेकर्ड जर्मनीको नाममा छ। 

स्पेनसँगै सर्वाधिक तीन पटकको युरो च्याम्पियन समेत रहेको जर्मनी तीन पटक उपविजेता बनेको थियो। सबैभनदा धेरै पटक युरो कप खेल्ने रेकर्ड पनि जर्मनी कै नाममा छ। सुरुका तीन संस्करणमा भाग नलिएको जर्मनीले सन् १९७२ देखि निरन्तर युरो खेल्दै आएको छ। डेब्युमै युरो उपाधि जितेको जर्मनीले १९८० र १९९६ पनि युरो उपाधि जितेको थियो।

जारी युरोकपको प्रिक्वाटरफाइनलसम्म गोल नखाएको जर्मनी सबैभन्दा कम गोल खाने टीम हो। क्वाटरफाइनलमा इटली विरुद्ध खाएको गोल नै जर्मनीले खाएको एक मात्र गोल हो। त्यो पनि पेनाल्टीमा ।

जर्मनीले पहिलो पटक इटलीलाई मुख्य प्रतियोगितामा हराउन सफल भयो र कीर्तिमानी नवौं पटक युरो कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। 

इटलीलाई पनि मुख्य प्रतियोगिताको नवौ खेलमै हराउन सफल जर्मनीले समग्रमा इटली विरुद्ध पनि ९ जित हात पार्यो। 

समूह चरणमा जर्मनीले युक्रेन र उत्तरी आयरल्याण्डलाई समान २–० ले हराएके थियो भने पोल्याण्डसँग गोलहित बराबरी खेलेको थियो। यस्तै प्रिक्वाटरफाइनलमा स्लोभाकियलाई ३–० ले पराजित गरेको जर्मनीले क्वाटरफाइनलमा इटलीलाई पेनाल्टसिुटआउटमा ६–५ ले हराएको हो।
सन् २०१४ मा ब्राजिलमा भएको विश्व कप जित्दाका १४ खेलाडी रहेको जर्मनीको टीम युरोमा सबैभनदा सन्तुलित टोली हो। तर मुख्य स्ट्राइकर मारियो गोमेज बाँकी खेलबाट बाहिरिनु, माट्स हुमेल्स सेमिफाइनलमा निलम्वन हुनु, सामी केडिरा र कप्तान बास्टिन स्वाक्ष्स्टाइगर पुर्ण फिट नहुनु जर्मनीका लागि समस्या बनेको छ।

फ्रान्स

घरेलु भूमिमा खेल्नुको यसै पनि फाइदा हुन्छ। घरेलु समर्थक, घरेलु मैदान। यती मात्र होइन फ्रान्सलाई यसअघि पनि घरेलु मैदान निकै फापेको उदाहरण छ। फ्रान्सले युरो कप आयोजना गरिरहेको यो कीर्तिमानी तेस्रो पटक हो। सन् १९६० को पहिलो संस्करणनै आयोजना गरेको फ्रान्सले सन् १९८४ मा दोस्रो पटक आयोजना गर्दा उपाधि जितेको थियो। यस्तै फ्रान्सले जितेको एक मात्र विश्वकप उपाधि पनि सन् १९९८ मा घरेलु भुमिमै हात लागेको थियो।

त्यसैले पनि आयोजक राष्ट्र बन्दा फ्रान्सलाई फाइदा पुग्दै आएको छ। र यसको अर्को उदाहरण अहिले चलिरहेको युरोकप पनि हो। सन् २००० मा दोस्रो पटक युरो उपाधि जितेको फ्रान्स त्यसपछि पहिलो पटक सेमिफाइनलमा पुगेको छ र तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको कीर्तिमान बराबरी गर्ने दाउमा छ।

समूह चरणमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनी फ्रान्सले नकआउट चरणमा भने केहि सुधारिएको प्रदर्शन गरेको छ। समूह ए को विजेता बन्ने क्रममा फ्रान्सले रोमानियालाई २–१ ले र अल्वानियालाई २–० ले हराएको थियो । तर समूहको अन्तिम खेलमा भने फ्रान्स स्विट्जरल्याण्डसँग गोलरहित बराबरीमै रोकियो।

प्रिक्वाटरफाइनलमा फ्रान्सले आयरल्याण्डले २–१ ले हराएको थियो। एक गोलले पछि परेको स्थितीमा २ गोल गर्दै फ्रान्सले खेल आफ्नो पक्षमा पारेको थियो। 

२०१२ को संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीको सामना गर्दैछ।  सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनीसँगै क्वाटरफाइनलमा पराजित भएके फ्रान्सको लागि यसपटक उक्त हारेको बदला लिने मौका समेत मिलेको छ। 

प्रतियोगिता सुरु हुनु अघि सबैभन्दा ठुलो स्टारका रुपमा हेरिएको पउल पोग्वा खासै जम्न नसकेपनि क्वाटरफाइनलमा गोल गर्दै फर्ममा फर्केको संकेत गरेका छन्।

आयोजकको नाताले छनोट चरण नै नखेली सिधै युरोकपमा सहभागी भएको फ्रान्स घरेलु भूमिमा युरोकपको उपाधि जित्दै गत नोभेम्वरमा भएको पेरिस घटनाले पुर्याएको घाउमा मलम लगाउने योजनामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell