PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

फेसबुकबाटै हिरो खोजिन् सुस्मिताले आफ्नो फिल्मको लागि



स्वेच्छा राउत

काठमाडौं : सुस्मिता केसी एकदिन फेसबुक चलाउँदै थिइन्। फेसबुक पेजमा राखिएको मोडलको फोटोमा उनी आँखा डुलाइरहेकी थिइन्। अचानक उनको आँखा टक्क रोकियो- आकाश श्रेष्ठको फोटोमा।
 
फिल्मका लागि नायकको भूमिका निर्वाह गर्ने 'चकलेटी हिरो' खोजिरहेकी सुस्मितालाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो। तिनै 'देउता' थिए, हाउस अफ फेसनले आयोजना गरेको मोडल हन्ट २०१४ को विजेता।
 
आकाशलाई देखेर हिरोका लागि चयन गर्ने मन बनाएकी सुस्मिताले आफ्ना छोरा अनमोललाई देखाइन्। अनि सोधिन्, 'बाबु यो केटा नायक बन्न लायक छ?'
 
अनमोलले तुरुन्तै जवाफ दिए, 'हुन्छ मामु।'
 
तर फोटोकै भरमा भने सुस्मिताले आकाशलाई फिल्मका लागि ओके गरिनन्। आकाशलाई अडिसनका लागि निम्तो दिइन्।
 
फेसबुकमा भेटिएका आकाश फिल्म 'म त तिम्रै हुँ नि' को मुख्य भूमिकाका लागि सेलेक्ट भए। त्यसो त सुस्मिताले नायिका ज्योत्सना योगीलाई पनि अडिसन लिएर मात्रै फिल्मका लागि मौका दिएकी हुन्।
 
आकाशलाई लिनुअघि सुस्मिताले छोरा अनमोललाई खेलाउने योजना बनाएकी थिइन्। अनमोलले स्क्रिप्टसमेत पढ्न भ्याइसकेका थिए। तर उनैले सुझाए, नयाँ कलाकार लिनका लागि।
 
फिल्ममा अनुबन्धित भएपछि आकाशले पनि अनमोलले जस्तै सुस्मितालाई 'मामु'को सम्बोधन गर्न थाले। सम्बन्धहरु बाक्लिँदै गए। उनको काम गर्ने तौरतरिकाले सुस्मितालाई निकै प्रभाव पार्‍यो। पछिपछि त उनले 'छोरा' नै भनेर बोलाउन थालिन् आकाशलाई।
 
'अनमोल र आकाश मेरा करण-अर्जुन हुन्,' सुस्मिताले पहिलोपोस्टसँगको कुराकानीमा खुलाइन्।
 
आकाश दाङबाट हिरो बन्नकै लागि काठमाडौं आएका थिए। मोडलिङमा करियर बनाइरहेका उनी हिरो बन्न चाहन्थे। त्यही उनको सपनालाई सुस्मिताले साकार  बनाइदिइन्।

सुस्मिताले फेसबुकमा मोडलिङको फोटो देख्नु नै संयोग बन्न पुग्यो।
 
त्यसो त आकाशलाई अगाडि पनि कैयौं फिल्ममा खेल्न अफर आएको थियो। तर उनका परिवार जस्तो पायो त्यस्तो फिल्ममा डेब्यु नगर्न सुझाइरहेका थिए।
 
'मेरो जन्म दिने आमा एउटी हुनुहुन्छ, कर्म दिने आमा अर्को,' आकाश भन्छन्, 'सुस्मिता मामुले मलाई कर्म दिनुभयो।'
 
आकाशसँगै फिल्ममा अभिनय समेत गरेकी छिन्, सुस्मिताले। तर फिल्ममा भने आमाछोराको भूमिका छैन। बरु आफूभन्दा जेठी सुस्मितासँग प्रेम गर्छन् आकाश। चलचित्रको कहानी यही कथावस्तुको वरिपरि घुमेको छ।
 
फिल्ममा अनमोलले मौका पाएनन् तर लिड रोलमा नयाँ कलाकार लिए पनि उनले मामुलाई सहयोग भने गरिरहे।
 
'फिल्मको र सङ्गीतको कामामा पनि अनमोलकै सुझाव लिएको छु,' सुस्मिता सुनाउँछिन्,' 'फिल्म निर्माण गर्ने कम्पनी मेरो भए पनि कम्पनीको नाम अनमोल क्रियसन नै छ।' यसले पनि झल्काउँछ सुस्मिताको पुत्रप्रेम।
 
यति बेला उनी 'म त तिम्रै हुँ नि' को प्रोमोसनमा व्यस्त छिन्। टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनहरुमा अन्तरर्वाता दिनमा पनि उनको व्यस्तता बढेको छ।
 
'धेरैपछि फिल्ममा फर्किएर होला, मिडियाको सिम्प्याथी पनि भयो। फिल्मको प्रचार राम्रै छ,' उनी ढुक्क छिन्, 'तपाईंहरु र दर्शकको मायाले अवश्य सफल हुन्छु भन्ने आशा छ।'
 
'म त तिम्रै हुँ नि' साउन ७ गतेदेखि हलमा लाग्दैछ। यसको निर्देशन भने श्रीराम महतले गरेका हुन्।

(फोटो सुस्मिताको फेसबुक पेजबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell