PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ग्रिजम्यानको ट्याटुबाट मोहित कृति, रोनाल्डोसँग सेल्फी खिच्न चाहने मोनालिसा

ग्रिजम्यानको ट्याटुबाट मोहित कृति, रोनाल्डोसँग सेल्फी खिच्न चाहने मोनालिसा


आइतबार मध्यरात युरो कपको उपाधि जित्नका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच भिडन्त हुँदैछ। उपाधि एक, दावेदार दुई। खेलाडी र सम्बन्धित देशका नागरिकहरुमात्र हैन, फ्यानहरु पनि दुई कित्तामा बाँडिएका छन्। यी मध्ये एक समूह खेलपछि खुसी हुनेछ भने अर्को उपाधि गुमाउनु परेकोमा दुःखी। 

राजधानीको एक कलेजमा आइटी पढ्दै गरेका कृति खरेल र मोनालिसा पराजुली पनि युरो कप फुटबल 'क्लोजली' फलो गरिरहेका छन्। 
रनवे ब्युटी प्याजेन्टमा रनरअप भएकी कृतिको सपोर्ट फ्रान्सलाई भने एउटा म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी मोनालिसाको सपोर्ट पोर्चुगललाई छ। दुवै मिल्ने साथी भए पनि एक अर्काको टोलीको विरोधमा कुनै कुरा सुन्न चाहन्नन्। 

एन्टोनियो ग्रिजम्यानको आँखा र ट्याटुबाट लोभिएकी छिन् कृति। उनी आफैले पनि छातीमा ट्याटु खोपेकी छिन्। उनी भन्छिन् - 'म ग्रिजम्यान नै हाइएस्ट स्कोरर होस् भन्ने चाहन्छु।'

त्यसो त युरोकप इतिहासमै हाइएस्ट स्कोरर मिचेल प्लाटिनीसँग बराबरी गोल गरेका पोर्चुगलका रोनाल्डोले थप गोल गरेर इतिहास कायम गरुन् भन्ने चाहाना छ मोनालिसाको। उनी भन्छिन्, 'रोनाल्डोलाई भेटेर सेल्फी खिच्ने मेरो सपना छ।' 

कृति हाँस्दै सुनाउँछिन् - 'मैले रोनाल्डोबारे केही भन्यो भने यो त रिसाइहाल्छे।'

कृतिले मोडलिङ करियर सुरु गरेको एक वर्षमात्र भयो भने मोनालिसाले सुरु गरेको डेढ वर्ष भइसकेको छ। उनीहरु दुवैले रनवे ब्युटी प्याजेन्टमा सहभागितासमेत जनाइसकेका छन्। दुवै मिलेसम्म सँगै बसेर फुटबल हेर्छन्। त्यसो त उनीहरु परिवार र साथीहरुसँग पनि कहिले खाजा बाजी त कहिले मुभी टिकटका लागि बाजी राख्दै फुटबल हेर्छन्।

इलिट जोशीले खिचेका फोटोहरु-


ट्रेन्डिङ पोस्ट

Ncell