PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लर्डसमा खेल्ने क्रिकेट टीमलाई कीर्तिपुरबाट बिदाई, एमसीसीसँग खेल्न पाउने भएपछि सबै उत्साहित

लर्डसमा खेल्ने क्रिकेट टीमलाई कीर्तिपुरबाट बिदाई, एमसीसीसँग खेल्न पाउने भएपछि सबै उत्साहित

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : सँधै जसो नेपाली क्रिकेट टीम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा नक्सालस्थित क्राउन प्लाजा होटेलबाट बिदाई गर्ने चलन थियो। बिदाई समारोहमा क्यानका पदाधिकारीहरु लगायत खेलकुदका अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहन्थ्यो। तर बेलायत भ्रमण जान लागेको नेपाली क्रिकेट टोलीको आइतबारको बिदाई फरक रह्यो। 

सन्दर्भ थियो बेलायतको लर्डसमा हुने मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँग खेल्ने नेपाली टोलीको बिदाई। अनि समारोह थियो त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुर क्रिकेट मैदानको इन्डोर हलमा। कार्यक्रममा बेलायत जाने खेलाडी, प्रशिक्षक, टेक्निकल एनालिस्ट, फिजियो र खेलकुद मन्त्रालयका प्रवक्ता चुडामणि पौडेलको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन क्यान सिइओ पदबाट राजीनामा दिइसकेकी भावना घिमिरेले गरेकी थिइन्। 

नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानलाई आइसीसीले निलम्बन गरेपछि नेपाली क्रिकेट टोली पहिलो पटक विदेश भ्रमणमा जान लागेको हो। त्यसैले पनि क्रिकेट टोलीको बिदाई केही भिन्न रहन पुग्यो। खेलकुद मन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता पौडेलले खेलाडी र प्रशिक्षकलाई खादा लगाएर बिदाई गरे। 

क्रिकेटको मक्का मानिने लर्डस् एमसीसीसँग खेल्न पाउने भएपनि नेपाली क्रिकेट टोली उत्साहित बनेको छ।

बिदाई कार्यक्रममा कप्तान पारस खड्काले लर्डमामा खेल्न पाउनु भाग्यको कुरा रहेको बताए। हामी १५ जना सेलेक्ट भएर लर्डसमा खेल्ने अवसर पाएका छौं। नन टेष्ट प्लेइङ नेसनबाट लर्डसमा खेल्न पाउने नेपाल नै पहिलो टीम बन्नेछ, पारसले भने। यस्ता अवसर बारम्बार नआउने र त्यस्तो अवसरलाई सदुपयोग गर्दै राम्रो खेल्ने पारसले बताए। 

राम्रो खेल्दै सारा विश्वलाई देखाउन सक्दो प्रयास र मेहनत गर्नेछौं, हामीहरुको लक्ष्य नै जसरी हुन्छ राम्रो खेल्ने र नेपाली क्रिकेटलाई माथि पुर्‍याउने हो, उनले भने।  

यस्तै प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट टोलीका लागि युके टुर निकै महत्वपूर्ण हुने बताए। 'प्लेअरहरु मेन्टल्ली स्ट्रोङ छन्, वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स विरुद्ध खेल्नु अघि हाम्रो लागि यो राम्रो अवसर हुनेछ', टमाटाले भने।

लर्डसमा खेल्न पाउनु आफूहरुको लागि गोल्डेन अपरचुनिटी भएको बताउँदै टमाटाले जसरी हुन्छ राम्रो खेल्ने र आफ्नो बेटर पर्फरमेन्स दिने बताए। 

यस्तै पहिलोपटक सिनियर टोलीमा स्थान बनाएका बिक्रम सोबले लर्डसमा खेल्न पाउने भएपछि एकदमै गर्व महसुस भइरहेको बताए।
नेपालले जुलाई १९ मा क्रिकेटको मक्का मानिने लर्डसमा एमसीसीसँग मैत्रिपूर्ण खेल खेल्दैछ। त्यसअघि दुई टी ट्वान्टी र दुई एक दिवसीय म्याच पनि नेपाली क्रिकेट टोलीले खेल्नेछ। नेपाली क्रिकेट टोली सोमबार बिहान बेलायत प्रस्थान गर्नेछ।

युके टुरलाई आगामी अगस्टमा नेदरल्याण्ड्सविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ।

लर्डसमा खेल्न लागेका भाग्यमानी नेपाली क्रिकेट खेलाडी

पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, अनिल मण्डल, करण केसी, राजेश पुलामी मगर, सन्दिप लामिछाने, राजु रिजाल, बिक्रम सोव

सन्दिपलाई एक लाख पुरस्कार

युवा दिवसको अवसरमा नेपाली क्रिकेट टीमका युवा स्पिनर सन्दिप लामिछानेले एक लाख पुरस्कार पाउने भएका छन्। 

हरेक वर्ष युवा दिवसको दिन प्रदान गरिँदै आएको पुरस्कार यसपटक लामिछानेलाई दिन लागिएको खेलकुद मन्त्रालयका प्रवक्ता पौडेलले बिदाई कार्यक्रममा घोषणा गरेका हुन्। नेपाली क्रिकेट टोलीले आगामी दिनमा राम्रो प्रदर्शन जारी राखे पुरस्कार दिन कुनै कन्जुसाईँ नगर्ने पनि उनले बताए। 

​हरेक क्षेत्रमा बहादुर नेपालीको पहिचान बनाएका उदाहरण दिँदै पौडेलले नेपाली क्रिकेट टोलीलाई पनि लड्र्समा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए।


ट्रेन्डिङ पोस्ट

Ncell