PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​न नाम न दाम, केको सर्वनाम? ६ जनाले छाडे थियटर



स्वेच्छा राउत

​न नाम न दाम, केको सर्वनाम? ६ जनाले छाडे थियटर

काठमाडौँ : साढे ४ वर्षदेखि 'सर्वनाम' नाटक घरमा कलाकार,  निर्देशक, प्राविधिक, कार्यक्रम उद्घोषक तथा संयोजकको भूमिका निर्वाह गर्दै आएका दीपेश पौडेलले फेसबुकमार्फत् सर्वनाम थियटर छोडेको जानकारी दिए। 

फेसबुकमा स्टाटस लेख्दै उनले औपचारिक रुपमा आफ्नो सर्वनामसँगको यात्रा र संवादहिनाको पीडा पनि सँगै पोखे। दिपेशले सो पोस्टमा आफूले साढे ४ वर्षमा सर्वनामबाट के के पाए र कमाए भन्ने तथ्यगत विवरण पनि राखेका छन्। 

उनले नाटक घर छोड्नुको कारण खुलाउँदै लेखेका छन्, 'कलाको खोजमा प्रशिक्षार्थीका रूपमा सर्वनामसँग जोडिन पुगेँ र रङमञ्चमा विशुद्ध कलाकर्म गर्ने उद्धेश्यले लागिपरें। तर अप्रत्याशित रूपमा गरिएको बेवास्तापूर्ण व्यवहार, अनाधिकारिक व्यक्तिहरुले गरेको गलत सूचना प्रवाह, अस्पष्ट सञ्चार प्रणाली र संवादहिनताले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिले गर्दा काम गर्ने वातावरण रोकिन पुग्यो।'  

उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'पैसा कमाउँछु, प्रसिद्ध बन्छु भन्ने कुनै उदेश्य थिएन। संस्थामा आवद्ध रहेर काम गरुन्जेल सबैसँग मिलेर गर्छु भन्ने थियो। तर त्यो वातावरण रहेन। संस्थाभित्र नै एक अर्काको कुरा बुझ्नै गाह्रो भयो।'

उनलाई एउटै नाटकघर भित्र रहेर काम गर्दा पनि एक अर्काको कुरा नसुन्ने, व्यक्तिगत निर्णय हावी हुने जस्ता कुरामा चित्त नबुझेको रहेछ।
केही वर्ष यता बढ्दो नाटक क्रेजले काठमाडौँका पाँच नाटकघरलाई दर्शक प्रशस्तै दियो। सँगै युवा जमातको आकर्षणका कारण नाटक हेर्ने मात्र होइन सिक्ने युवाको संख्यासमेत ह्वात्तै बढ्यो। 

त्यसैले नाट्य प्रशिक्षणका लागि कुनै पनि नाटक घरमा प्रशिक्षार्थीका रुपमा कोही आउनु, नाटक कला सिक्नु, केही समय नाटक घरका लागि काम गरेर निस्कनु सामान्य प्रक्रिया हो। तर सर्वनामबाट दिपेशसँगै अरु ५ जनाले पनि एकैपटक बिदा लिएको घोषणा गरे। स्टाटसमार्फत् आफ्नो लगायत श्याम खड्का, शिशिर सिवाकोटी, अर्जुन न्यौपाने, कौशल पण्डित र दिपेश पौडेलले सर्वनामसँगको यात्रा रोकिएको जानकारी दिइन् कलाकार साधना भण्डारीले। 

चार वर्ष लामो सर्वनाम यात्रामा उनले एक दर्जन भन्दा बढी नाटकमा कलाकारको भूमिका निर्वाह गरिन्। तर अहिले सर्वनाम भित्र निम्तिएको संवादहिनता र सिर्जना भएका भ्रमका कारण उनि आफ्नो नाट्य यात्रामा ब्रेक लाउन बाध्य भइन्।

उनले भनिन्, 'कुरा, भावना, उदेश्य नमिलेर छुट्टिने काम प्राय संस्थामा हुन्छ। सर्वनाममा पनि भएको हो। फरक यति हो, हामीले यो कुरा बाहिर ल्याउने काम गर्यौं। यसले गर्दा सर्वनाममा आउँने नयाँ पिढीलाई सहज वातावरण बन्न सक्छ।'

पेशाले नर्स साधना कला प्रेम र नाटकप्रतिको आकर्षणकै कारण सर्वनाममा प्रशिक्षार्थीका रुपमा छिरेकी थिइन्। सर्वनामबाट निस्किए पनि उनी नाटकलाई भने निरन्तरता दिने मुडमा छिन्। भनिन्,'संस्था छोडेकी हुँ नाटक होइन।'

उनलाई लाग्छ व्यक्तिको मुडको आधारमा संस्था चल्नु कुनै पनि हालतमा ठीक हुनै सक्दैन। 

​कौशल पण्डितले पनि व्यवस्थापन खस्किएको र नाटक घर भित्रै हुने कम संवाद र त्यसले सिर्जना गर्ने भ्रमका कारण सर्वनाम छोडेको जानकारी दिए। पहिलोपोस्टसँग भने, 'कला प्रस्तुत गर्ने ठाउँ मात्र त फेर्न लागेको हुँ। अब केहि समय फोटोग्राफी र पढाईलाई समय दिएर नाटकमा फर्कन्छु।'
आधा दर्जन प्रशिक्षार्थी एवंम् कलाकारले एकैपटक रङ्गमन्च छोड्दा संयोजक अशेष मल्ल भन्छन्, 'सर्वनाम सबैभन्दा पुरानो नाटक घर हो। यहाँ कति मान्छे आउँछन्, जान्छन्। ती सब सामान्य कुरा हो। तर सर्वनाम अझ वर्षौ निरन्तर चलिरहन्छ।'

फोटो साभार : प्रवीण अधिकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell