PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​डा. केसीले भने, ‘अनसन तोडाउन लोकमानतन्त्र हैन लोकतन्त्र मान्ने भएर आउनुस्’

​डा. केसीले भने, ‘अनसन तोडाउन लोकमानतन्त्र हैन लोकतन्त्र मान्ने भएर आउनुस्’

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौँ : संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठलाई मेडिकल शिक्षा क्षेत्रका विकृति अन्त्यको माग राखेर नौ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीले लोकमानतन्त्र छोडेर लोकतन्त्र मान्ने अवस्था आए र आफ्ना चारवटै माग पूरा भए मात्र अनसन तोड्ने बताएका छन्।

सभापति श्रेष्ठ लगायत समितिका सदस्यहरु डा. केसीको स्वास्थ्य स्थिति बुझ्न अनसन स्थल पुगेका थिए। लोकतन्त्रको रक्षा गर्छु भन्नेहरुनै लोकमानतन्त्र मान्न थालेर मेडिकल शिक्षामा विकृति फैलिएको भन्दै त्यसलाई सुधार गर्न यसको अन्त्य हुनुपर्ने उनले बताए। 

‘उहाँहरु आउनुभयो, आएर मेरो आन्दोलनमा ऐक्यबद्धता जनाउनुभयो र हाम्रो सोलिडारिटी छ भन्नुभयो,’ अनसनमै रहेका डाक्टर केसीले भने, ‘मैले तपाईँहरु लोकतन्त्रको रक्षक भन्नुहुन्छ, अहिले लोकतन्त्र खतरामा परेको छ, लोकमानतन्त्र हावी भएको छ लोकमानतन्त्र  अन्त्य गर्नुस् अनि मात्र लोकतन्त्रको रक्षा हुन्छ भनेँ।‘ 

उनले आफूले चारवटा माग राखेको जानकारी दिँदै ‘ती माग पूरा भए मात्र अनसन तोड्छु’ भनेको जानकारी दिए। त्यति भनिसकेपछि उनले ‘मेरो सास बढ्छ अहिले यति मात्र गरौँ है’ भन्दै आफ्नो भनाई अन्त्य गरे। 

के भने सभापति श्रेष्ठले?

सभापति सुशीलकुमार श्रेष्ठले डाक्टर केसीले उठाएका विषय आम नेपाली समाजले स्वीकार गरिसकेका र सरकारले पनि स्वीकार गर्दै सम्झौता गरिसकेका विषय भएको बताए। 

‘समस्या सरकारले सम्झौता पालना नगरेका कारण आएको हो,’ सभापति श्रेष्ठले भने, ‘सरकारले माग ठीक थिएनन् भने किन सम्झौता गर्यो्? सम्झौता गरिसकेका विषयमा किन पटक-पटक अनसन बस्नुपर्ने अवस्था आयो?’ 

उनले सामाजिक न्याय तथा मानव अधिकार समितिले यस विषयमा चाँडै छलफल थाल्ने बताए। 

‘जुन इस्युमा डाक्टर केसी अनसनमा हुनुहुन्छ त्यो इस्यु जायज हो भनेर देशले स्वीकारेको विषय हो र सरकारले स्वीकारेर सम्झौता गरिसकेको विषय हो।’ 

उनले भने, ‘त्यसैले म संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको तर्फबाट माग पुरा गर्नेका लागि यहीबाट सरकारलाई निर्देशन दिन्छु, सम्झौता कार्यान्वयनमा अब ढिला गर्नुहुँदैन।’ 

उनले सरकार नै अस्थिर भएको अवस्था भए पनि डाक्टर केसीको जीवन रक्षाका लागि ढिला गर्न नहुने बताए। ‘नवौँ दिनको अनसनसम्म आउँदा उहाँको अवस्था चिन्ताजनक देखिएको छ’ सभापति श्रेष्ठले भने ‘उहाँलाई हेरिरहनुभएका डाक्टरहरुले पनि अवस्था गम्भीर रहेको बताउनुभएको छ।’ 

उनले सरकारले अन्य विषयभन्दा यो विषयलाई प्राथमिकतामा राखेर डाक्टर केसीको जीवन रक्षामा लाग्नुपर्ने बताए। ‘उहाँले उठाएका विषय सिस्टमलाई स्टाव्लिस गर्ने विषय हुन्,’ उनले भने, ‘त्यसकारण हामी त्यसलाई व्यवस्थित गर्नका लागि लाग्छौँ।’

सभापति श्रेष्ठले डाक्टर केसीले उठाएका विषय समितिमा विगतदेखि नै छलफलको विषय बनिरहेको भन्दै माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरेर मेडिकल शिक्षा क्षेत्रलाई रेगुलेट गर्नु आवश्यक भएको बताए। 

‘जुन इश्युलाई लिएर डा. केसी संघर्षमा हुनुहुन्छ, त्यो विषयमा देशका विभिन्न ठाउँमा भएका अनियमितता र भ्रष्टाचारलाई रोक्नु पर्छ र विद्यार्थीको भविष्य अन्योलमा पर्न दिनु हुँदैन भनेर हामीले समितिमा बहस गरेकै हौँ,’ उनले भने ‘अझ माथेमा आयोगको प्रतिवेदन आइसकेपछि त यसलाई रेगुलेट गर्नै पर्छ भनेका हौँ। अब सरकारले त्यसलाई कार्यान्वयन गर्न तयार हुनुपर्दछ।’ 

उनले महाअभियोग लगानुपर्ने विषय आक्रोशको परिणाम भएको भन्दै बाँकी विषय तत्काल पूरा गर्नुपर्ने पनि बताए। ‘महाअभियोगको कुरा भन्दा पनि उहाँले हिजोदेखि उठाउनुभएको मेडिकल शिक्षा क्षेत्रको सुधारका चारवटा विषय सबैले स्वीकार गरेका विषय हुन्’ उनले भने, ‘मानिस गरेका सम्झौता कार्यान्वयन भएनन् भने आक्रोशित हुन्छ। त्यतिबेला अरु विषय कडा रुपमा पनि उठाउन सक्छ।’ 


ट्रेन्डिङ पोस्ट

Ncell