PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'अख्तियारको विहेमा सांसद्हरु जन्त'

'अख्तियारको विहेमा सांसद्हरु जन्त'

स्वेच्छा राउत/पहिलोपोस्ट


‘१,२,३,४ कहिलेसम्म भ्रस्टाचार?’ 
‘अख्तियारको विहेमा सांसद्हरु जन्त’

काठमाडौँ : मेडिकल शिक्षा क्षेत्रका विकृति अन्त्यका लागि सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको विरोधमा प्राध्यापक डाक्टर गोविन्द केसी नौ दिन देखि आमरण अनसनमा छन्। उनै अनसनरत केसीलाइ भेट्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सांसदहरु सोमबार त्रिवि शिक्षण अस्पताल पुगे। सांसदहरु देखेपछि विद्यार्थीले घेराबन्दी अनि माथिका नारा लगाए।

विगतमा पटक पटक आमरण अनसनबाटै दवाव दिएपछि सुशील कोइराला सरकारले डाक्टर केसीसँग संम्झौता गर्दै माथेमा आयोग गठन गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको साटो एउटा मेडिकल कलेजको स्वीकृतिका लागि संसद्मै प्रतिष्ठान विधेयक लगेपछि पुन: आमरण अनसनमा छन्।

 
सोमबार संसदको सामाजिक न्याय र मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ समितिका सदस्यहरुसहित डाक्टर केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन त्रिवी शिक्षण अस्पताल पुग्दा विद्यार्थीले सांसद्हरुलाई नै व्यंग्य गर्दै नारा घन्काए।
 
‘अख्तियारको विहेमा सांसद जन्ति, सांसद् ज्यू ढिला भएन?’ सांसद्हरु पुग्दै गर्दा प्लेकार्डसहित हाते सांङ्लोमा बाँधिएका आन्दोलनकारी नारा घन्काए। तर समितिमा रहेका एमालेका सांसदहरु भने केसीलाइ भेट्न पुगेनन्।

प्लेकार्ड बोकेर अस्पतालका विद्यार्थीहरु एक अर्काको हात समाएर बसेका थिए। सामाजिक न्याय तथा मानवअधिकार समितिको टोली पुगेपछि विद्यार्थीले नारा थप चर्काए। समितिका सभापति सुशील कुमार श्रेष्ठ र समितिका सदस्यहरुले गोविन्द केसीसँग कुराकानी गरिरहँदा विद्यार्थीहरुले चिच्याउँदै नारा लगाए 'आज त सांसद घेर्ने हो'।
 
नारावाजीलाई बेवास्ता गर्दै भित्र छिरेको सांसद्हरुको टोली करिव २० मिनेट लामो छलफल पछि बाहिरियो। लगत्तै नाराबाजी चर्किन सुरुभयो।

'१,२,३,४- कहिलेसम्म भ्रष्टाचार?' 

विद्यार्थीको जुलुसले घेरे पछी सभापति सुशीलकुमार श्रेष्ठले माइक समाए।  माइक समाएर स्पष्टिकरण दिन बाध्य भए। उनले भने,'संसद अझै मौन भए हामी आज यहाँ हुने थिएनौं।' 


जानकी मेडीकल कलेजका १०१२ विद्यार्थी पढ्न नपाएर विजोग हुँदा कलेजलाई सिस्टममा ल्याउने काम आफ्नै समितिले गरेको र डाक्टर केसीको मागलाई सम्बोधन गर्न पनि आफूले योगदान पुर्याउने जानकारी श्रेष्ठले दिए।

सभापति श्रेष्ठले डाक्टर केसीको माग सम्बोधन गर्ने र आजको तीन दिनमै डाक्टर केसीले उठाएका विषय संसद्मा उठाउने आश्वासन पनि दिए।
 
सेतो एप्रोन लगाएका विद्यार्थीले पाखुरामा विरोधको संकेत स्वरुप ‘कालो पट्टी’ बाँधेका थिए। सहभागीहरुको लुगामा नारा कोरियको थियो - ‘घैंटे, चरी मर्दा संसदनै उर्लिएर आउने, डा केसीको समर्थनमा भने सबै चुप?’,  ‘सांसदको लगानी ठुलो कि जनताको स्वास्थ्य?’, ‘तपाईंलाई जनताले चुनेको कि माफियाले?’
 
मन्तव्य सुनेर ताली बजाउँदै शान्त भएको आन्दोलनकारीको भिड सभापति श्रेष्ठ र समितिका सदस्यहरु गाडीमा चढे पछी फेरी उद्धेलित भयो।

‘सांसदको चिल्लो कार, कति गर्यौ भ्रष्टाचार?’  नारा थपियो।

सायद सभापति सहितका सांसद्हरुले उनीहरुका नारा सुनेनन् वा सुनेर पनि बेवास्ता गरे। 


ट्रेन्डिङ पोस्ट

Ncell