PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​जसले पानी छान्ने फिल्टर किन्न ६० लाखमा घर बेचे



स्वेच्छा राउत

​जसले पानी छान्ने फिल्टर किन्न ६० लाखमा घर बेचे

काठमाडौँ : झाडापखाला लागेर पनि मान्छे मर्दा रहेछन् भन्ने थाहा पाउँदा जाजरकोट पुगेका डाक्टर दिलजान मन्सुर अचम्भित भए। चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसनरत गोविन्द केसीको साथ लागेर पहिलोपटक जाजरकोट टेकेका मन्सुरलाई यत्ति एउटा तथ्यले असह्य बनायो।
 
उनी अवस्था देखेर अलमल्ल परे। जाजरकोट रहँदा मन्सुरले डाक्टर केसीको साथ लागेर बिरामीको उपचार त गरे, तर उनको मन यत्तिमा थामिएन।

केसीको साथ लागेर जाँदा औषधी बोकेर गएका मन्सुर काठमाडौं आउँदा रित्तो हात फर्किएनन्। साथमा बोकेर ल्याए – जाजरकोटमा स्थानीयले पिउने मूलको पानी।

मन्सुरले पानीलाई ल्याबमा टेस्ट गराए। परीक्षणको रिजल्टमा देखियो – संक्रमण। मन्सुरले थाहा पाए जाजरकोटको मृत्युको कारण झाडापखाला र हैजा थियो। अनि कारण थियो दुषित पानी।

तराईमा जन्मिएका मन्सुरलाई दुर्गम पहाडी जिल्ला जाजरकोटको पखालाले रुवायो। शुद्ध पानी पिउन नपाउँदा देशको एउटा जिल्ला झाडापखालाबाट ग्रस्त हुन्छ भन्ने सत्य उनलाई सहनै गाह्रो भयो।


अनि मन्सुरले सुरु गरे अभियान - 'मिसन जाजरकोट'।

जाजरकोटमा पानी सुद्धिकरण गर्न फिल्टर लगायतका सामान पुर्‍याउनु उनको मिसन थियो। सुरुवातमा उनले सामाजिक संस्था गुहारे। होमो सेपियन्समार्फत् सहयोगको अपिल गरे, च्यारिटी सो गरे।

तर सहयोग रकम जुट्न सकेन। ‘एक लाख खर्च भएको कार्यक्रममा सहयोग स्वरुप १२ सय रुपैयाँ मात्र उठ्यो’, मन्सुरले राजधानीमा मंगलबार आफ्नो विगत सम्झिए। तर डा. मन्सुरले हार मानेनन्। उनको अभियानमा साथ दिन वाचा गरेका केहीले त बीचमै छाडे।
 
मिसनमा तल्लिन देखिएका मन्सुरले काठमाडौंका गल्ली गल्लीमा नाच्ने, टिसर्ट बेच्नेदेखि अन्य कला देखाउँदै सहयोग अपिल गरे। तैपनि अहँ उनको टोलीले रकम जुटाउन सकेन।

अन्तत: मन्सुर अभियान थेग्न आफ्नै सम्पति बेच्ने निर्णयमा पुगे। किनकी उनलाई जाजरकोटको पीडा दुखेको थियो। ‘ तराईको पुर्ख्यौली घर बेचिदिएँ, उदेश्य त पूरा गर्नु नै थियो। जाजरकोटमा फिल्टर लैजाने मैले निधो गरेको थिएँ। आफन्तलाई मेरो निर्णय स्वीकार्य थिएन’, मन्सुरले आफ्नो अभियानलाई सम्झिए।

‘तर मैले ६० लाखमा आफ्नो घर बेचेँ’, मन्सुरले अभियानका लागि आफूले गरेको योगदान सुनाए। 

रकमको आधा पैसा भूकम्प पीडितको लागि खर्च गरे। अनि बाँकीले जाजरकोटको लागि फिल्टर, साबुन, बोत्तल, पियुस आदी किने र लागे होमो सेपियन्स टिमका साथ  जाजरकोटको खगेकोट।
 
तीन दिन लाग्यो डाक्टर दिलजानको टोलीलाई हिँडेर खेगकोट पुग्न। जब मन्सुर खेगकोट पुगे स्थानीय अचम्भित भएर भने – ४२ वटा गधाले बोक्ने सामना ल्याउनु भएछ।

हुन पनि मन्सुरको टोलीले ३० गाविसका ३६ विद्यालयलाई पानी शुद्ध बनाउने फिल्टर लगेका थिए साथमा जसलाई उनीहरुले हस्तान्तरण गरे।

दिलजानले आफ्नो अभियानको उपलब्धि सुनाउँदै भने, 'करिव ५० वर्ष टिक्ने फिल्टर सहयोग गरेका हौं। मेरो आफ्नै दाइ, भाइ, परिवार भएर दिएको हैन। मैले मान्छे हुनुको धर्म निभाएको हुँ। नेपाली हुनुको कर्तव्य पूरा गरेको हुँ।'
 
मन्सुरको मिसन जाजरकोट सफल त भयो। तर मन्सुर रोकिने मूडमा छैनन् । उनी छिट्टै राजधानीको बत्तीमुनिको अँध्यारोमा परेको काभ्रेको माझी बस्तीमा स्वास्थ्य र शिक्षा सबैक लागि भन्ने अभियान लिएर जाँदैछन्। तर उनी भन्छन् – ‘अहिले न मसँग पैसा छ न अरु केही, मसँग साथ दिने केही साथी मात्र छन्।‘

डाक्टर मन्सुरको मिसन जाजरकोटको सुरुवातदेखि अन्त्यसम्मको निर्माण र सम्पादन गरेका छन् लक्ष्मण पौडेलले। मन्सुरले गरेको संघर्ष, जुटाएको सहयोग आदीको छोटा छोटा भिडियो फुटेजहरु मिलाएर पौडेलले बनाएको डकुमेन्ट्री मंगलबार सार्वजनिक गरिएको छ। 'सेफ वाटर सेभ लाइफ' नाम दिइएको डकुमेन्ट्रीमा दिलजानको टिमवर्क, उनीहरुको संघर्ष, भोग्नु परेको समस्यादेखि सामान हस्तान्तरण गरे पछिको खुशीलाई समेटिएको छ। भिडियोको रेकर्ड आर्यन विमली र दीपक केसीले गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell