PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

लर्डसमा चल्यो नेपाली बलरको जादू, एमसिसी ४१ रनले पराजित



लर्डसमा चल्यो नेपाली बलरको जादू, एमसिसी ४१ रनले पराजित

बेलायतको लर्ड्स क्रिकेट मैदान भएको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

जवाफमा ४७.२ ओभरमा एमसिसी १७६ रनमै समेटियो। 

एमसिसीका तर्फबाट एडेरले शतकीय पारी खेले। तर बाँकी खेलाडीहरुमध्ये क्लार्कको १६ र विल्किन्सनको २० रन बाहेक कुनै पनि ब्याट्सम्यानलाई नेपाली बलरहरुले दोहोरो रन पनि बनाउन दिएनन्। 

सागर पुनले १० ओभरमा २ मेडन राख्दै ३५ रन दिएर ३ विकेट लिए। वसन्त रेग्मीले पनि तीन विकेट लिए भने सोमपाल कामीले दुई रन लिए। शक्ति गौचनले ७ ओभर बलिङ गरी २१ रन दिएर १ विकेट लिए। सन्दीप लामिछानेले पनि एक विकेट लिए। 
  
नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए। कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, राजु रिजालले २४ र सोमपाल कामीले २० रन बनाए। बसन्त रेग्मी २४ रनमा नटआउट रहे। 

ऐतिहासिक खेल

क्रिकेटको घर र क्रिकेटको मक्का भनेर चिनिने लर्डस मैदानमा खेल्ने हरेक क्रिकेटरको सपना हुन्छ। नेपालको राष्ट्रिय टिमले खेल्दा लर्डसमा खेल्ने पहिलो एसोसिएट टिमको रेकर्ड पनि राख्यो। त्यसमाथि नेपालको जितले यसलाई अझ उपलब्धिमूलक बनाएको छ। 

योसँगै नेपालले अभ्यास खेलसहित इंग्ल्यान्ड टुरका सबै चार खेलमा लगातार विजय हासिल गरेको छ।  वर्ल्ड क्रिकेट लिगको टपमा रहेको नेदरल्यान्डससँग उसकै मैदानमा दुई खेल खेल्नुअघिको तयारी खेलका रुपमा यी खेललाई लिइएको छ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell