PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

​पल्सर स्पोर्टस अवार्ड : नवयुग र फुपु उत्कृष्ट, नबितालाई पिपुल च्वाइस अवार्ड



गोविन्दराज नेपाल

​पल्सर स्पोर्टस अवार्ड : नवयुग र फुपु उत्कृष्ट, नबितालाई पिपुल च्वाइस अवार्ड

काठमाडौं : फुटबलर नवयुग श्रेष्ठ र जुडोकी फुपु ल्यामु खत्री वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा नवयुग पुरुषतर्फ र फुपु महिलातर्फ उत्कृष्ट बन्दै अवार्ड जित्न सफल भएका हुन्।

यस्तै टेबल टेनिसकी नबिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड हात पारेकी छिन्। एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा उत्कृष्ट घोषित भएकी नबिताले सर्वाधिक मत प्राप्त गरिन्। वर्षको उत्कृष्ट बनेका नवयुग, फुपु र नबिताले एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे।

गत वर्ष नेपालले फुटबलमा २३ वर्षको खडेरी तोड्दै दुई अन्तर्राष्ट्रिय उपाधि जित्दा फुटबलर नवयुग श्रेष्ठ नेपाली फुटबलमा नवयुग बनेर उदाएका थिए। बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गरी कुल तीन ह्याट्रिक गरेका नवयुग बंगबन्धुमा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी समेत बनेका थिए।

यस्तै साग गेममै फुपु ल्हामु खत्रीले नेपाललाई महिलातर्फ जुडोमा पहिलो स्वर्ण पदक दिलाएकी थिइन्। उनले २१ वर्षपछि नेपाललाई सागमा स्वर्ण दिलाएकी हुन्। 

पुरुषतर्फ उत्कृष्ट बनेका नवयुगले आफ्नै टीममेट विकेश कुथु, भारोत्तोलनका विकास थापा, तेक्वान्दोका वीरबहादुर महरा र उसुका राजेश चौधरीलाई पछि पारे।

यस्तै महिलातर्फ उत्कृष्ट बनेकी फुपुले उसुकी नीमा घर्ती मगर, पोडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीलाई पछि पारिन्।

पिपुल च्वाइस तर्फ अवार्ड प्राप्त गरेकी नबिताले १ लाख ५० हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन्। उक्त अवार्डमा दोस्रो बनेकी भलिबलकी प्रतिभा मालीले १ लाख १६ हजार र तेस्रो बनेका नवयुगले १३ हजार मत प्राप्त गरे।

यी तीनसँगै क्रिकेटका सन्दिप लामिछाने र भारोत्तोलनकी तारा देवी पुन पनि पिपुल च्वाइसको अवार्डमा मनोनयनमा परेका थिए।
फुटबलमय बनेको अवार्ड कार्यक्रममा फुटबलर अन्जन श्रेष्ठले उत्कृष्टको युवा खेलाडीको अवार्ड हात पारे। उनले क्रिकेटका सन्दिप लामिछाने,

पौडीकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर र जुडोकी मनीता श्रेष्ठ प्रधानलाई पछि पारे।

यस्तै फुटबलकै बालगोपाल महर्जनले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे। उनैको प्रशिक्षण नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने क्रममा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। बालगोपालले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्ने क्रममा फुटबलकै राजुकाजी शाक्य, क्रिकेटका गत टमाटा, जुडोका दलबहादुर गुरुङ र उसुका प्रकाश महर्जनलाई पछि पारे।
 
लाइफटाइम अचिभमेन्टको अवार्ड फुटबलका पूर्व खेलाडी श्रीराम रन्जितकारलाई प्रदान गरियो। सन् १९८४ मा नेपालले पहिलो दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दाका सदस्य रहेका रन्जितकारले नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतियोगिताका चार संस्करण खेलेका थिए।

रन्जितकारले खेलाडीसँगै, पूर्व रेफ्री, रेफ्री इन्स्ट्रक्टर, रेफ्री एसेसर, एथ्लेटिक्स र पौडीका वरिष्ठ टाइमकिपरका रुपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन्।

स्पेसल अवार्ड फुटबलकै ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त प्रदान गरियो। थ्रीस्टार क्लबमा अध्यक्ष र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष रहेका श्रेष्ठको २०७२ साल जेठ २९ गते निधन भएको थियो।

पारा एथ्लेटतर्फको अवार्ड तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरिन्। ६ वर्षकै उमेरमा अगेना छेउमा खेल्ने क्रममा एउटा हात गुमाएकी भण्डारीले २८ वर्षको उमेरमा पुग्दा एसिया र विश्व स्तरको खेलकुदमा पदक जित्दै राष्ट्रकै गौरव बन्न सफल भएकी छिन्।

वर्षको उत्कृष्ट पुरुष, उत्कृष्ट महिला र पिपुल च्वाइस अवार्ड विजेता बाहेक अन्य सबै विजेताले जनही ५० हजार प्राप्त गरे। यस्तै सबै विजेता तथा मनोनयनमा परेका हरुले डिसहोमको सेटअप बक्स, टाइमेक्स घडी लगायत विभिन्न उपहार प्राप्त गरेका छन्।

राष्ट्रिय फुटबल टीमलाई टीम अफ दि इअर अवार्ड

नेपाली राष्ट्रिय फुटबल टीमलाई एनएसजेफ टीम अफ दि इअर २०७२ द्वारा सम्मान गरियो। गत वर्ष नेपालले अन्तर्राष्ट्रिय स्तरमा २३ वर्षको खडेरी तोड्दै २ उपाधि जितेको थियो। बंगलादेशमा भएको बंगबन्धु गोल्डकप च्याम्पियन बनेको नेपालले भारतमा भएको दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो। दक्षिण एसियाली खेलकुदमा पनि नेपालले २३ वर्षपछि नै फुटबलमा स्वर्ण पदक जितेको थियो। अवार्ड कार्यक्रममा नेपाली राष्ट्रिय टीमका उपकप्तान विराज महर्जनले अवार्ड ग्रहण गरेका थिए भने अन्य खेलाडीहरुको समेत उपस्थिति रहेको थियो।
फोटो : रोशन सापकोटा/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell