PahiloPost

May 15, 2024 | २ जेठ २०८१

यस्ता छन् स्पोर्टस् अवार्डका अफबिट प्रसङ्ग



गोविन्दराज नेपाल

यस्ता छन् स्पोर्टस् अवार्डका अफबिट प्रसङ्ग

काठमाडौं : बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेफले प्रदान गरेको १३ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड फुटबलमय बन्यो। ट्रिबुट टु सुमन भोम्जन भन्दै कुल ९ विधामा प्रदान गरिएको अवार्ड मध्ये ६ विधामा फुटबलले नै बाजी मार्यो।

जसमध्ये पाँच व्यक्तिगत अवार्ड र एक टीम अवार्ड थियो। नेपाली राष्ट्रिय फुटबल टीमका फरवार्ड नवयुग श्रेष्ठले वर्ष २०७२ का उत्कृष्ट खेलाडीको अवार्ड हात पारे। राष्ट्रिय टीमकै युवा स्टार अन्जन विष्टले वर्ष २०७२ का उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए।

यस्तै प्रशिक्षकतर्फ पनि फुटबलकै बालगोपा महर्जन उत्कृष्ट चुनिए। पुराना फुटबलर पूर्व रेफ्रि श्रीराम रञ्जितकारले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदा पुरै फुटबल टोली एनएफजेफ टीम अफ दि इअर २०७२ बाट सम्मानित भयो। मनोनयनमा पनि फुटबलकै वर्चस्व रहेको थियो। नवयुगसँगै उत्कृष्ट खेलाडी पुरुषमा गोल रक्षक विकेश कुथु मनोनयनमा परेका थिए भने प्रशिक्षकमा राजु काजी शाक्य पनि मनोनयनमा थिए। यस्तै एन्फाका कार्यवाहक अध्यक्ष सम्म भएका थ्रीस्टारका अध्यक्ष समेत रहेको ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्डबाट सम्मान गरियो।

यसकारण पनि वर्ष २०७२ को पल्सर स्पोर्ट्स अवार्ड अलिकति फुटबलमय बनेको भन्न सकिन्छ।

त्यसका लागि फुटबल लायक पनि थियो। गत वर्ष नेपालले फुटबलमा दुई अन्तर्राष्ट्रिय स्तरको उपाधि मात्र जितेन २३ वर्षपछिको अन्तर्राष्ट्रिय उपाधिको खडेरी समेत तोड्यो। नेपाली फुटबल टोलीले दुई महिनाको अन्तरमै दुई प्रतियोगितामा च्याम्पियन बन्यो। सुरुमा बंगलादेशमा बंगबन्धु गोल्डकप त्यसपछि भारतमा १२ औं दक्षिण एसियाली खेलकुद साग मा स्वर्ण पदक।

यी छ बाहेक अन्य तीन खेलाडीले पनि पल्सर स्पोर्ट्स अवार्ड हात पारे। जुडोकी फुल ल्हामु खत्री उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् भने टेबल टेनिसकी नबिता श्रेष्ठले पिपुल चवाइसको अवार्ड प्राप्त गरिन्। यस्तै सीता भण्डारीले पारा एथलेटको अवार्ड प्राप्त गरिन्।
अवार्ड प्रदान बाहेक अरु के के भयो त स्पोर्ट्स अवार्डमा?

नेपाली खेलजगतकै प्रतिष्ठित अवार्ड हो पल्सर स्पोर्ट्स अवार्ड। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शनको आधारमा यस अवार्ड प्रदान गरिन्छ। वि स २०५३ सालबाट थालनी गरिएको अवार्डको यो १३ औं संस्करण हो। अवार्ड बाहेक पनि अन्य केही मनोरञ्जनात्मक र रोचक गतिविधि अवार्ड समारोहमा देखियो।

नाकाबन्दी र विनाशकारी भूकम्पका कारण गत वर्ष अवार्ड भएन। मञ्चकै सदस्य सुमन भोम्जनको भुकम्पमा परी निधन भएकाले पनि अवार्ड सम्भव भएन। त्यसैले यो पटकको अवार्ड अ ट्रिबुट टु सुमन भोम्जन थियो।

अवार्डको सुरुमै कलाकार कमलमणि नेपालले उक्त भूकम्प सम्बन्धी एक प्रस्तुतीमा अभिनय गरेसँगै अवार्ड सुरु भएको थियो।

५ सञ्चालक

करिब दुई घण्टा चलेको अवार्ड समारोह ५ जनाले सञ्चालन गरेका थिए। पवन आचार्यले सुरु गरेका कार्यक्रम सिवानी थापा, निरन्जन अधिकारी, सन्जीव शिल्पकार र सरिता श्रेष्ठले अन्त्य गरेका थिए।

नवयुगको नाम उच्चारण गर्न कठिनाई

नवयुग श्रेष्ठ नेपाली फुटबलकै नवयुग बनेर उदाए गत वर्ष। अहिले नवयुगको नाम हर कोहीको मुखमा झुण्डिएको छ। सबैको मनमा बस्न सफल भएका छन्। नवयुगले बिहीबार वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते। तर उक्त अवार्डको विजेता घोषणा गर्न एआईपिएस एसियाका अध्यक्ष मोहम्मेद क्वासेम स्टेजमा पुगे। तर उनलाई नवयुगको नाम उच्चारण गर्न कठिन भयो। उनले नवयुग श्रेष्ठलाई नम्यङ उच्चारण गरेका थिए।

विनय र मेनुकाको रेशम फिलिली

उत्कृष्ट खेलाडी पुरुषको अवार्ड घोषणा हुनु अघि नायक विनय श्रेष्ठ र नायिका मेनुका श्रेष्ठले नृत्य प्रस्तुती दिए। विनयले निर्माण गरेको चर्चित फिल्म रेशम फिलिलीको पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो बोलको गीतमा यी दुईले नृत्य गरे। उनीहरुलाई कार्टुन क्रुजका सदस्यले साथ दिए।

गौरिकाको सट्टा मनिता उच्चारण

वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड वितरणका लागि मनोनयनमा परेका पाँच मध्ये ४ खेलाडी उपस्थित थिए। जुडोकी फुपु ल्हामु खत्री, जुडोकी निमा घर्ती मगर, तेक्वान्दोकी रेजिना कार्की र ट्रायथलनकी रोजा केसी स्टेजमा थिए। तर मनोनयनमा परेकी पौडीकी गौरिका सिंह वैदेशिक प्रशिक्षणका कारण त्यहाँ थिइनन्। कार्यक्रम सञ्चालन गरिरहेकी सरिता श्रेष्ठले गौरिकाको सट्टा मनिता श्रेष्ठको नाम लिँदै उनी वैदेशिक प्रशिक्षणमा रहेको बताइन्। मनिता उत्कृष्ट युवा खेलाडीको मनोनयमा परेकी थिइन्।

सरितालाई सन्जीवको साथ

सन्जीव शिल्पकार र सरिता श्रेष्ठ एकैपटक कार्यक्रम सञ्चालन गर्न स्टेजमा देखा परे। तर सरिताको माइकमा आवाज आउन छाड्यो। स्टेजबाट तल झर्ने क्रममा सरितालाई केही अप्ठ्यारो पर्‍यो। यसबेला उनीसँगै रहेका सन्जीवले सरितालाई तल झर्न साथ दिए। स्टेज दुई तहको थियो।

९ सय येल्लो कार्ड, २५ रेड कार्ड

एनएसजेफले पल्सर स्पोर्ट्स अवार्डका पुर्व फुटबलर श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्यो। अवार्ड पाएपछि रञ्जितकार केही बोल्न अगाडि बढे। उनी पुर्व रेफ्री समेत हुन्। त्यसैले उनले रेफ्री बारे पनि कुरा निकाले। आफूले रेफ्री हुँदा करिब ९ सय भन्दा बढी येल्लो कार्ड र २५ वटा रेडकार्ड दिएको अनुभव सुनाए।

अवार्ड दिन भुल्दा

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड वितरणका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र खेलकुद तथा युवा मन्त्रालयका सह सचिव तथा प्रवक्ता दीपेन्द्रनाथ शर्मा अगाडि आए। उनीहरुले उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जनको नाम घोषित गरे। महर्जन बंगलादेशमा रहेका कारण उनकी श्रीमतीले अवार्ड ग्रहण गरिन्। तर विष्ट र शर्माले मनोनयनमा परेका बाँकी प्रशिक्षकलाई अवार्ड नदिई फर्कन लागेका थिए। महर्जनसँगै क्रिकेटका जगत टमाटा पनि उपस्थित थिएनन् भने स्ट्जमा प्रकाश महर्जन, दलबहादुर गुरुङ र फुटबलका राजुकाजी शाक्य स्टेजमा थिए। पछि उनीहरुले फर्केर मनोनयनको अवार्ड लिएका थिए।

गायक अमात्यको सेक्सी मौसम

आफ्नै शैलीका गीतका कारण गायक योगेश्वर अमात्य चर्चित छन्। अवार्ड सुरु भएको केही समयपछि नै उनी स्टेजमा देखा परे। अवार्ड सुरु हुनु अघि समारोहस्थल बाहिर पनि पानी परिरहेको थियो। अमात्यले पनि गीत गाउनु अघि पानी कै कुरा गरे। अनि रोमाञ्चित हुँदै भने यो मौमस सेक्सी मौसम जस्तै हो। उनले म क्यारम र जब सन्ध्या हुन्छ जस्ता गीत गाएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell