PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विक्षिप्त बनेर गाउँ फर्किएको पाइला एकाएक मोडिएपछि : कमल खत्रीको सांगीतिक संघर्ष



स्वेच्छा राउत

विक्षिप्त बनेर गाउँ फर्किएको पाइला एकाएक मोडिएपछि : कमल खत्रीको सांगीतिक संघर्ष

काठमाडौं : स्कुल पढ्दाताका कमल खत्री गाउँ डुल्दै खुब गीत गाउथेँ। त्यति बेला आफ्नै बुवाले ठट्टैठट्टामा हो या साँच्चिकै 'गाइने' भनेर जिस्काएको अझै सम्झिन्छन् उनी।

'बुवाले त्यसो भन्दा झन् ऊर्जा मिल्थ्यो,' किनकि उनी ठान्थे-  गाइने र गायक उस्तै हुन्।


‘आत्मामा’ गीतसँगै चर्चामा आएका गायक कमल खत्रीलाई अहिले युट्युबमा सुनिन जति सहज छ, उनको गायन यात्रा भने त्यति सहज रहेन।
  
'आज नभए पनि भोलि त गाउन पाऊँला भनेर पाँच वर्ष स्टुडियोको सोफामा सुतेँ,' गायक बन्ने हुटहुटीले समाउँदाको क्षण सम्झिए उनले, 'होटलको खाना खाएर काठमाडौंमा धन्न टिकेँ।' 
 

गायक बन्ने धुन


२०५८ सालमा सांस्कृतिक कार्यक्रममा गाएपछि उनका लागि गायक बन्ने ढोका खुल्यो। हेटौंडामा हुर्केका उनलाई रेडियो नेपालमा स्वर परीक्षाको लागि काठमाडौं ल्याएका थिए, संगीताकार सुशील विश्वकर्माले।
  
परीक्षामा कमल सामेल पनि भए। नतिजा के भयो होला भनेर उनले सिंहदरबारबाहिर दुई वर्षजति सुशील विश्वकर्मालाई भेटिरहे। कहिलेकाहीँ भेट हुन्थ्यो सुशीलसँग तर नतिजा कहिल्यै आएन।
  
पढ्न भनेर रत्न राज्यलक्ष्मी क्याम्पस भर्ना भए पनि गीत गाउने चक्करले उनलाई पढ्न दिएन। न त गायक बन्ने सपना मार्न सके। सधैं आफन्तको घरमा बसेर गायक बन्छु भन्दै हिँड्नु र घरबाट पैसा मगाउनु पनि ठिक लागेन।
 
दुई वर्षसम्म गाउने ठाउँ र सहयोग गर्ने मान्छे खोजेरै बितेपछि भने उनले कठोर निर्णय लिए।
 
सपना देखाएर काठमाडौं ल्याउने उनै सुशीललाई भेटे र भने, 'दाइ, मलाई जस्तो काम भए पनि हुन्छ। खानबस्न पुग्ने पैसा कमाउने व्यवस्था मिलाइदिनुपर्‍यो।'
 
केही समयमै उनले रेकर्डिङ स्टुडियोमा जागिर पाए तर तलबबिनाको। 

गीत रेकर्ड गर्न आउनेको माइक, कुर्सी मिलाइदिए बापत स्टुडियोमै सुत्न र खान पाउने सुविधा भने मिल्यो उनका लागि। 
 

बन्द माइकमा गीत गाउँदा

स्टुडियोमा गायक-गायिका आउँथे, गीत रेकर्ड गर्थे र जान्थे। कतिपयलाई भने उनी गीत सुनाउँथे पनि। धेरैले उनको मौलिक स्वरको तारिफ गरे। 'तर, म पनि गायक बन्छु भन्दा सहयोग गर्ने कोही भएनन्,' त्यो संघर्षपूर्ण दिनतिर उनी फर्किन्छन्, 'जब म राति एक्लै हुन्थेँ। माइक समाएर गीत गाउँथे। तर माइक बन्द भइसकेको हुन्थ्यो।'
 
काठमाडौं गएको तीन वर्ष हुँदा पनि छोराको गीत सुन्न नपाउँदा भने घरमा आमाबुवा चिन्तामा परे। उनीहरुमा छोरा बिग्रेर पो हिँड्यो कि भन्ने पीर थियो।
 
स्टुडियोका धेरै दिन त रेकर्ड गर्न आउनेलाई पानी खुवाएरै बित्यो। राति सोफामा खुम्चिएर बिताए पनि उनमा गायक बन्ने एकखालको जुनून् छँदै थियो।
 
घरबाट फोन आउँदा उनको जवाफ हुन्थ्यो, 'अँ बा सबै ठिकै छ।'  तर भित्री मनमा भने डर थियो, कतै बुवाले घरतिरै बोलाउने पो हो कि।
 
'गायक बन्न आको मान्छे म अरुको माइक मिलाएर बस्या छु भन्ने कुराले सुरुसुरुमा निकै पोल्यो,' निकै नोस्टालजिक बन्दै कमल सुनाउँछन्, 'तर त्यो पनि जीवनले सिकाउने पाठ रहेछ।'
  

घरमा गीत सुनाउँदा आमा खुसी

कमललाई लाग्यो- गायक नबनी फर्कनुपरे आमाले के भन्लिन्? बाबाले अनि गाउँलेले के भन्लान्?
 
२०५८ सालमा गायक बन्न हिँडेका कमल २०६२ सालसम्म भौंतारिइरहे। गायक बन्नका लागि कुनै सुर समाउने भेउ नै पाएनन्। तर जब २०६२ सालमा रेडियो नेपालमा आधुनिक गीत प्रतियोगितामा भाग लिने मौका पाए, त्यसपछि भने उनमा धेरै आशा जाग्यो।
 
सुशील विश्वकर्माले उनलाई गीत सिक्नदेखि टेक्निकल कुराहरु सिकाउँदै लगे। पछि त कमल उत्कृष्ट १० मा पर्न सफल भए।
 
रेडियोमा भ्वाइस टेस्ट गर्न गाएको गीत घरमा सुनाउँदा आमा निकै खुसी बनेको क्षण सम्झँदा उनी अहिले पनि भावुक बन्छन्।
 
प्रतियोगिता लगत्तै उनलाई जन्डिसले सतायो। बिरामी भएपछि उनी स्टुडियोबाट निकालिए। मामाहरुले उनको उपचारमा निकै सहयोग पनि गरे। तर घरमा फोन गरेर 'छोरो कामबिना बराल्लिएर हिँडेको छ। घरतिरै बोलाउनु' भनेर मामाले नै भनेपछि उनको मुटुमा च्वास्स केही बिझिहाल्यो।
 
 त्यहाँबाट पनि बिदा लिएर उनी पुगे, गायिका पुजा गुरुङको शरण लिन।
 
पूजालाई उनले स्टुडियोमै भेटेकी थिए। उनको घरमा रहेर उनले २०६३ बाट इथोस ब्यान्डसँग 'नक्कली मैंया' बोलको गीतको लागि काम गर्न थाले। अरुको गीतमा कोरस गरेर जम्मा भएको पैसा लगानी गरे। बीचमा अरु केही गीत रेकर्ड गराउन त भ्याए। तर न कुनै म्युजिक कम्पनी उनको साथ थियो न उनको लागि लगानी गरिदिने मान्छे नै।
 

टर्निङ प्वाइन्ट


कतैतिरबाट पनि सहयोग र साथ नपाएपछि उनी विक्षिप्त बनिसकेका थिए। 'अब मैले हारेँ भन्ने भयो। घर जानको लागि झोला बाँधेँ र पूजा दिदीसँग बिदा मागेँ,' कमल रसाएका आँखा पुछ्दै त्यो कठोर दिन सम्झन्छन्।
 
भोलिपल्ट घर जान हिँडेका कमललाई साथीहरुले सुनाउ, ‘तिम्रो स्वर गगन प्रधानले मनपराउनु भएको छ।'  रिबेल क्रिएशनका संयोजक प्रधानले कतै सहयोग पो गर्लान् कि भन्ने पनि सोचे उनले। गाउँ जान हिँडेका कमलको पाइला एकाएक मोडियो रिबेल क्रिएसनतिर। त्यहाँ पुग्दा प्रधानले भने, ’तिमीलाई भेट्न निकै कोसिस गरेँ।'
 
कमलले लेखेको सबै गीत हेरेपछि उनले एल्बम निकाल्न सहयोग गर्ने बताए। गीत सिक्न पठाए। उनको गीत रेकर्ड हुने भयो। त्यस समय उनको लागि गीत हिट हुनुभन्दा पनि गीत बाहिर आउनु नै ठूलो कुरा थियो।
 
'कमाउन सकिएन तर त्यो बेलाको सन्तुष्टि म बयान गर्न सक्दिनँ,' उनी भन्छन्।
 
आफ्नो गीत सार्वजनिक गरेर फुर्किएका उनले तीन वर्ष क्लासिकल गीत सिके। सन् २०१२ मा 'आत्मामा' सार्वजनिक भयो। गीतको भिडियोको लागि अमेरिकामा रहेका साथीले सम्पूर्ण लगानी गरिदिए। गीट सुपरहिट भयो। स्रोताको आत्मामा बस्न सफल भए कमल।
 
त्यस यता उनको फ्लप भएको पुराना गीतहरु ‘सुस्तरी’, ‘झ्यालैमा’ ‘तेरो र मेरो’, 'कोरेर प्रेम पत्र’ गीत पनि खोजिन थाले, सुनिन थाले।
 
२०१२ पछिका नयाँ गीतहरुबाट उनी सफल हुँदै गए। 'पहिले जसको लागि माइक मिलाइदिन्थेँ,' उनी खुसी हुँदै भन्छन्, 'उहीसँग स्टेज शो गर्न पाउँदा निकै खुसी लाग्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell