PahiloPost

Jul 6, 2022 | २२ असार २०७९

उनी सभासद थिए, मैले मन्त्री बनाइदिएँ : पात्र-संवादमा राजेन्द्र पराजुली



उनी सभासद थिए, मैले मन्त्री बनाइदिएँ : पात्र-संवादमा राजेन्द्र पराजुली

राजेन्द्र पराजुली नेपाली कथा लेखनमा स्थापित नाम हो। चालीसको सुरुवाती दशकदेखि कथा लेख्दै आएका उनका चार कथा संग्रह (विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स र शुक्रराज शास्त्रीको चस्मा), ‘अनायिका’ उपन्यास र ‘भ्रष्ट संवेदना’ कविता संग्रह प्रकाशित छन्।
 
राजनीतिक विषयवस्तु समातेर त्यसभित्रको विकृति, विसंगति र नेताहरुको प्रवृत्तिको भण्डाफोर गर्न माहिर पराजुलीको नयाँ कथा संग्रह हो, ‘शुक्रराज शास्त्रीको चस्मा’। घटना र चरित्रचित्रणमा बढी ध्यान दिने उनका कथाका पात्रहरु यथार्थ र सजीव लाग्छन्। प्रस्तुत छ, पहिलोपोस्टका लागि उनीसँग फणीन्द्र संगमले गरेको पात्र-संवाद :
 
बढीजसो राजनीतिक पात्र नै हुन्छन्, तपाईंका कथामा। कसरी ल्याउनुहुन्छ ती पात्रलाई?
कुनै पनि विषयले दिमागमा चट्याङ हानेपछि झिल्का उत्पन्न गराउँछ। त्यसपछि प्लट बनाउँदै उपयुक्त पात्रको खोजीमा लाग्छु म। मलाई त्यसरी झिल्का उत्पन्न गराउनमा मेरै वरिपरिका पात्रहरुले प्रेरित गरिरहेका हुन्छन्। मेरो लेखनको धेरै हिस्सा राजनीतिक नै भएकाले म जसलाई भोट दिन्छु, उसलाई नै पछ्याइरहेको हुन्छु। एउटा नागरिकले दिएको भोटको बदलामा उसले के दियो? पदमा पुगेकै आधारमा उसले कति सम्पत्ति कमायो र कस्तोकस्तो गाडी फेरिरहेको छ? ती सबै गतिविधिलाई म कथाकारको हैसियतबाट निगरानी गरिरहेको हुन्छु। र, कथाको पात्रका रुपमा भित्र्याउँछु।
 
धेरैजसो म पात्रहरुकै निकटमा रहँदै उनीहरुको भाषालाई जस्ताको तस्तै टिप्न खोज्छु। लेखकले अर्ति-उपदेश दिनुहुन्न भन्ने मान्यता भएकैले मचाहिँ बढीजसो पात्रलाई नै बोल्न लगाउँछु। किनकि घटना शो गर्ने त पात्र नै हुन् नि।
 
बढीजसो कथामा त काठमाडौं केन्द्र वा काँठ क्षेत्र नै हाबी भएको देखिन्छ नि। त्यहाँभित्रका पात्रले तपाईंका कथामा किन प्रवेश पाए?
पहिल्यैदेखि म हेरिरहेको छु। कोटेश्वर उतातिर एकदमै पातलो बस्ती थियो। बस्ती विस्तार नहुँदादेखि नै ती क्षेत्रमा हुने राजनीतिक चर्चा त्यसको लहर बदलिएको छैन। अहिले काँठलाई पनि सहरको रङले छोइसक्यो। त्यहाँका चियापसल वा भट्टीहरुमा कस्ता गफ हुन्छन् भने- बाराक ओबामादेखि नरेन्द्र मोदीसम्मका। अमेरिकाको राष्ट्रपतिमा हिलारी क्लिन्टनले जित्लिन् कि डोनाल्ड ट्रम्पले? यस्तायस्ता कुरा भइराखेका हुन्छन्। तर यस्ता गफ पिट्नेमा सर्वसाधारण होइन, पार्टीकै कार्यकर्ताहरु बढी हुन्छन्। प्रचण्ड, देउवा वा ओलीको कुरा पनि मच्चिइमच्चिई गरिरहेको देख्छु।
 
म यही क्षेत्रमा हुर्किंए, यहाँका यस्ता घटनाक्रमहरु देख्दै आएँ, र नै मलाई यस्ता पात्रहरुप्रति मोह जाग्यो। यसरी गफ लडाउनेहरुले दिएको भोट पाएर जित्नेहरु सांसद-मन्त्री भइसके तर यिनीहरु वर्षौंदेखि यसरी नै राजनीतिक गफ गरेर बसिरहेका छन्।
 
कतिपय त्यस्ता पात्र छन्, जसलाई धेरै समय पछ्याइरहनुभयो!
मेरो घर नजिकै एक जना सभासद बस्थे। कतिसम्म लाचार थिए भने सडकमा जुत्ता पोलिस गर्न बस्नेसँग ब्रस माग्थे, जुत्तामा आफैं पुछपाछ पार्थे र खुरुक्क हिँड्थे। उनलाई मैले केही समय पछ्याएँ। उनी त पान पसलमा गएर सित्तैमा पान चपाउँदै हिँड्दा रहेछन्। साह्रै चासो लागेपछि एकदिन पसलेसँग सोध्दा उनी भन्थे, ‘उनी त सभासद हो। मन्त्री हुन्छु भन्दै थिए, किन पैसा लिने?’
 
सभासदको खोल ओडेर सामान्य नागरिकलाई कसरी ठगिरहेका छन् भन्ने योभन्दा ठूलो प्रमाण के हुन सक्छ?
 
तिनै सभासदले एकदिन नाङ्लोमा पसल थापिरहेकी बूढीआमैसँग केही रुपैयाँको सुपारी किनेको देखेँ। उनले सोधे, ‘आमै एक टुक्रा सुपारीबाट कति नाफा हुन्छ?’
 
गरिबीमाथिको त्योभन्दा ठूलो व्यंग्य अरु केही हुन सक्छ? ती आमै झनक्क रिसाएर फतफताउन थालिन्, उनी त्यहाँबाट लुसुक्क हिँडे।
 
‘शुक्रराज शास्त्रीको चस्मा’भित्रको ‘गुलाफी सुट’मा आउने शंकरकुमार त्यही पात्र त होइन?
हो। उनी समानुपातिकमा छानिएर नयाँ बानेश्वर आइपुगेका थिए, अरुचाहिँ नखुलाऔं। उनी सभासद थिए, मैले कथामा मन्त्री नै बनाइदिएँ। उनीसँग मैले केही समय संसर्ग पनि गरेँ, पछि बुझेछन् क्यारे पन्छिन थाले। उनलाई पात्र बनाएर लेखेको अर्को ‘बेतुक’ कथा ‘सपनामा मार्क्स'भित्र संगृहीत छ।
 
यदि उनले कथा पढेका भए त आफूलाई पात्र बनाएको पक्कै थाहा हुँदो हो। उनीबाट प्रतिक्रिया आयो कि आएन?
उनले पढे/पढेनन् थाहा छैन। तर ‘जुँगा’ कथा लेखेपछि भने एक जना राजनीतिक कार्यकर्ताले मलाई बेस्मारी गाली गरेका छन्। मेरै निर्वाचन क्षेत्रका एक नेतामाथि लेखिएको यो कथा ‘सपनामा मार्क्स’भित्र राखेको छु। उनी पहिले थोरै जुँगा राख्थे, त्यही बेला चुनाव भिडे तर जित्न सकेनन्। अर्कोपालि अलि लामो जुँगा पाले तर फेरि हारे। मैले कथामा उनलाई ज्योतिषकहाँ पठाइदिएँ। ज्योतिषको सल्लाहअनुसार उनले अर्को चुनाव जित्नका लागि झन् लामो जुँगा पाल्ने भए, तर हालत उही दोहोरियो। पछि 'दाह्रीजुँगा पूरै पाले जित्ने पक्का' भन्ने ज्योतिषको भविष्यवाणी पनि फेल खायो।
 
यो कथा एउटा एफएमले पढ्नेक्रममा ती नेताका कार्यकर्ताले सुनेछन्। उनले त आफ्नै नेतामाथि लेखिएको भन्ने बुझिहाले। पछि ‘मेरो नेतामाथि जथाभावी लेख्ने, यस्तो पनि कथा हुन्छ?’ भनेर सक्दो गाली ओकले।
 
कथाकारलाई कुनै यथार्थ घटनालाई ट्वीस्ट गरेर कलात्मक र द्वन्द्वात्मक बनाउन त छुट होला तर कसैको व्यक्तित्वमाथि अन्याय हुने पनि देखिने रहेछ नि त?
म त बढीजसो भिलेन पात्रमै बढी खेल्न रुचाउँछु। मेरा कथाका अधिकांश नायक नै खलनायक हुन्छन्। उसको व्यक्तित्वभन्दा पनि प्रवृत्तिमाथि प्रहार र नकारात्मक कामको खोजीनीति गर्ने हो। प्रवृत्तिमाथि लेख्दा पात्रलाई अन्याय हुन्न कि!
 
सामान्य पात्रको लागि त न्यायका लागि लडिरहेको हुन्छु आफैं पनि। जो अन्याय र पीडामा छ उसको दुःखको भित्री तहसम्म पसेर पीडाको संवेदना छाम्न खोज्छु। खलपात्रको शोषण, दमन र नकारात्क पाटो खोतलेर किनारीकृत पात्रहरुमाथि न्याय होस् भन्ने उद्देश्यले नै लेखिरहेको हुन्छु।
 
कतै पत्रकार, कतै सम्पादक त कतै लेखककै रुपमा 'म' पात्रलाई उठान गर्नुभएको छ। कतिपय कथामा राजेन्द्र पराजुली नै 'म' का रुपमा आएको त होइन भन्ने पनि लाग्छ। आफूलाई नै चिनाउने गरी संकेत गर्नु लेखकको कमजोरी होइन र?
कमजोरी नै भन्ने त लाग्दैन। आफ्नो क्षेत्र वा ज्ञानमा जति जानकार हुन्छ लेखक अरु टाढाको विषयमा उसले धेरै लेख्न सक्दैन। मैले पत्रकारिताका विभिन्न बिटमा रहेर लामो समय बिताएँ, यो क्षेत्रमाथि लेख्दा म न्याय गर्न सक्छु। काठमाडौंमै बस्ने भएकाले यहाँभित्रका धेरै कुराबारे म जानकार छु। तर हिमाली क्षेत्रका बारेमा त म लेख्न सक्दिनँ। तराई बसाइको केही अनुभव भएकाले थोरै लेख्न सक्छु। अनुभवले पनि लेखनमा सहयोग गर्ने भएकाले पत्रकार, लेखक वा सम्पादक पात्रलाई मैले स्थान दिएँ। त्यहाँ म स्वयं छैन तर केही अनुभव त पक्कै छन्।
 
लेखक कतिसम्म हाबी हुँदो रहेछ कथामा?
कुनै घटना–दृश्यले छोयो भने लेख्न बसिन्छ। लेख्ने क्रममा वा एकदुई पटक रिराइट गर्दा बुद्धिको चलखेलमात्र भयो भने लेखक बढी हाबी हुन्छ। यदि घटना र पात्रप्रति जोड दिएर स्वतन्त्र रुपले लेख्ने हो भनेचाहिँ पात्रहरु नै सक्रिय हुँदा रहेछन्। कुनैकुनै कथामा आफू बढी प्रस्तुत हुँदा पात्रहरुले न्याय नपाएका हुन् कि भन्नेचाहिँ महसुस गरेको छु।
 
तपाईं आफू सबभन्दा बढी सन्तुष्ट भएको कुनै कथा छ, त्यहाँका पात्रको क्रियाकलापले तपाईं आफैंलाई प्रभावित बनाएको छ।
‘वृद्धाश्रम’ कथाभित्रको गजेन्द्रबहादुर। ऊ जस्तै अरु समकालीनहरु भेटघाट गर्छन्, तास खेल्छन्, रमाउँछन्। पछि उसलाई छोराबुहारीले वृद्धाश्रम पुर्‍याउँछन्, उसको त्यहीँ हृदयाघातले मृत्यु हुन्छ। आफ्नै सन्तानबाट तिरस्कृत हुने तमाम गजेन्द्रहरुको दारुण चित्रलाई कथामा देखाउन खोजेको छु। अहिलेको हाम्रो समाजको दुःख यही होइन र?  ऊ त पहिलेको पत्रकार पनि। कतै मैले आफैंलाई गजेन्द्रमा आरोपित गरेँ कि! मेरो भविष्यलाई नै त्यो अवस्थासम्म कल्पना गरेँ कि!

पछिल्लो कथामा मलाई छोइरहने पात्र यही गजेन्द्र नै हो।
 
‘शुक्रराज शास्त्रीको चस्मा’मा एक युवकलाई सहिद घोषणा गर्नका लागि राजनीतिक दलबीच नै तानातानको अवस्था सिर्जना गर्नुभएको छ। पछि उसको सालिक पनि बन्छ। गुन्डागर्दी गर्ने, व्यापारीबाट हप्ता असुल्ने खालको उसको पृष्ठभूमि देखाउँदा अरु सहिदप्रतिको अपमान भएन र?
सबै सहिदलाई एकै ठाउँमा राख्न खोजिएको होइन। राजनीतिक पार्टीहरु आफ्नो स्वार्थका लागि कसरी जोसुकैलाई सहिद बनाउन उद्यत हुन्छन् भन्ने प्रवृत्तिमाथिको कथा हो यो। यहाँ जुन पात्रलाई सहिदका रुपमा चित्रण गरेको छु, त्यो त राजनीतिक विसंगतिको यथार्थ नै हो।

नयाँ ‘सहिद’को सालिक देखेपछि नै मलाई मलाई दिमागमा झड्का हान्न सुरु गरेको हो। उनको पृष्ठभूमिबारे थोरबहुत म जानकार नै थिएँ। पछि दोस्रो जनआन्दोलनमा उनी मारिए, सहिद घोषित भए, परिवारले लाखौं क्षतिपूर्ति पायो, सालिका ठडियो। पार्टीप्रति योगदान नहुनेहरु, जनताप्रति गैरजिम्मेवार र समाजमा कुनै भूमिका नहुनेहरु मारिँदैमा तिनलाई सहिद घोषणा गर्न कुनै पार्टीलाई किन हतारो हुन्छ? यही कारण पनि सहिद शब्दको अवमूल्यन हुँदै गएको छैन र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell