PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'फनटास्टिक वन्डरफुल' गीत 'पानी पर्‍यो असिना झर्‍यो'को जन्म-कथा



स्वेच्छा राउत

'फनटास्टिक वन्डरफुल' गीत 'पानी पर्‍यो असिना झर्‍यो'को जन्म-कथा

काठमाडौं :
‘पानी पर्‍यो असिना झर्‍यो
दाइको रुमाल भाउजूलाई मनपर्‍यो…’
 
यी शब्द सुन्दा पुरानै लागे पनि नयाँ सुरताल दिएर बनाइएको गीत अहिले धेरैको मुखमा झुन्डिएको छ। युवायुवती मात्र होइन, पाका उमेरका र बालबालिकाहरु पनि यो गीत गुनगुनाइरहेका भेटिन्छन्।
 
युट्युबको 'भ्यु'देखि पार्टी, पसल हुँदै सार्वजनिक सवारी साधनमा यही गीत गुन्जिरहँदा गीतको लोकप्रियताबारे प्रस्ट हुन्छ।
 
‘फनटास्टिक वन्डरफुल’ बोलको सो गीतको भिडियोमा देखिएका छन्, गायक तथा संगीतकार अल्मोडा राना उप्रेती।
 
उनीसँगको भेटमा रमाइलो के भयो भने, पानी झमझम परिरहेको थियो।
 
गीतकै चर्चा भइरहँदा उनी जुरुक्क उठे र भने, ‘कस्तो नाच्न मन लाग्यो।'  एक छिनमै उनी आफूमात्र नाचेनन् हामीलाई पनि नचाइछाडे।
 
नाच्नु-गाउनु उनको बच्चैदेखिको सोख हो। सानोमा अल्मोडा हरेक साँझ हजुरआमासँग हनुमानढोकामा हुने भजन मण्डलीमा सामेल हुन्थे। अरुले हार्मोनियम, मादल, तबला बजाएको देखेर उनलाई पनि बजाउन मन लाग्थ्यो। तर गएर एक ठाउँमा थपक्क बस्थे र थपडी बजाउँथे। किनकि उनलाई बजाउन आउने थपडीबाहेक केही थिएन।
 
'आएन भनेर सधैं भजनको तालमा तालीमात्र बजाउने पक्षमा भने म थिइँन,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भने।
 
केही न केही नयाँ कुरा सिक्ने हुटहुटीले उनलाई भजन गाउनदेखि हार्मोनियम बजाउन सिक्न लगायो। हजुरआमासँग गएर भजन सुन्ने 'फुच्चे' केटो केही समयपछि आफैं गाउन-बजाउन थालेपछि अरुले गरेको तारिफ उनी अझै सम्झिन्छन्।
 

बढ्दो सांगीतिक क्रेज


आफ्नो सानैदेखिको संगीत क्रेजलाई उनले मर्न दिएनन्। बाल्यावस्थामै हार्मोनियम, किबोर्ड चलाउन सिके। अलि हुर्कंदै गएपछि गितार, ड्रम बोकेर कन्सर्ट धाउन थाले। पढाइमा पनि अब्बल उनको प्रतिभा विस्तारित हुँदै जान थालेपछि सबै खुसी थिए। बुवाआमाको इच्छा भने छोरा इन्जिनियर बनोस् भन्ने थियो। तर प्लस टुपछि उनले बुवाआमामाथि 'बेइमान' गरे र साइन्स पढ्दापढ्दैको बाटो मोडेर आर्ट विषयमा संगीत लिन थाले।
 
'जेमा सानैदेखि रुचि थियो, त्यही नपढेको भए आज अल्मोडा राना उप्रेतीलाई युट्युबमा किन खोजिन्थ्यो र?' गर्विलो आवाजमा उनी यसो भन्छन्।
 
त्यस बेला उनी दु:खी थिए, बुवाआमाको चित्त दुखाएकोमा। अहिले खुसी छन्, उनीहरुलाई गर्व गर्ने ठाउँ दिन सकेकोमा।
 

‘फनटास्टिक वन्डरफुल’को जन्म


‘फनटास्टिक वन्डरफुल’ बोलको गीत निकाल्नुमा उनको बाल्यकालदेखिको संगीत-प्रेम सम्बन्ध नै मुख्य कारक रहेछ।
 
गीत-संगीतले दिने मनोरन्जन र सामाजिक-मनोवैज्ञानिक असर कस्तो हुन्छ भन्नेबारे उनले केही पढेका थिए। थोरबहुत उनीसँग अनुभव पनि थियो। 'गीत सोचेको भन्दा केही ढिला निस्कियो। तर मैले जे सोचेको थिएँ त्यो कुरा पूरा भयो,' उनी सुनाउँछन्।
 
२०७२ सालको भूकम्पका कारण बालबालिकाको मनोविज्ञानमा परेको असर कम गर्न उनी बच्चाहरु भुलाउन रमाइलो खालको गीत निकाल्ने योजनामा थिए। चाहन्थे- भूकम्पअघि आफ्नै संगीत संयोजन रहेको 'जालमा'जस्तै कुनै क्याची गीत सार्वजनिक गर्न। तर सोचेजस्तो शब्द र समय भेट्टाउन अलिकति ढिला भयो। 'भूकम्पको ह्याङ् कम भएपछि मात्र गीत निस्कियो,' तर उनलाई पछुतो छैन, 'खुसी छु, गीतको ह्याङ् धेरैमा चढेको छ।'
 
बालकालिकाहरुका लागि गीत बनाउने सोच बनाए पनि उनको गीतले अहिले सबैलाई उत्तिकै रमाइलो प्रदान गरिरहेकै छ। गीतको शब्दअनुसार वर्षाको समय गीत सार्वजनिक हुनु पनि निकै फाइदाजनक बन्यो।
 
२००५ मा ‘नेपाल स्टार’ नामक कार्यक्रममा तेस्रो भएदेखि सांगीतिक यात्रामा लागेका अल्मोडा एकाएक २०१६ मा चर्चामा आए। गीतको भिडियोमा नाच्नाले पनि उनलाई धेरैले चिन्न थाले। तर अल्मोडाको लागि सबैभन्दा खुसीको कुरा हो, साना भाइबहिनीले पनि गीतमाथि राम्रो प्रतिक्रिय दिनु।
 
दुई वर्ष अघिसम्म उनी स्कुलका विद्यार्थीका लागि गीत लेख्थे, संगीत रच्थे र सिकाउथे पनि। यस अर्थमा 'पानी पर्‍यो असिना झर्‍यो' निकाल्नुको उद्देश्यले उनलाई एक असल संगीतकारसँगै असल गुरु पनि साबित गर्छ।
 
'आफू सानो हुँदा चाहेको भजन माइकमा गाउन नपाउँदा दुखी हुन्थेँ,' उनी भन्छन्, 'अहिले आफ्नो गीत साना नानीहरुले गाएको सुन्दा एक छिन उभिएर सुन्छु अनि मात्र आफ्नो बाटो लाग्छु।'
 
उनका प्राय: गीत बालबालिकाले रुचाउने खालका हुन्छन्। चाहे त्यो गीत उनले गाएको होस्, संगीत भरेको होस् वा संयोजन गरेको। उनले कभर गरेको 'जुन त लाग्यो ताराले', 'तिहार', 'पानी पर्‍यो' जस्ता गीत प्राय: साना नानीहरुले मन पराएको उनी बताउँछन्।
 
'मेरो र बालबालिकाको कुनै किसिमको सम्बन्ध छ कि जस्तो लाग्छ,' उनले महसुस गरेका छन्, 'जुन मेरो गीत वा संगीतमा कतै न कतै झल्किएको हुन्छ।'
 
उनमा विश्वास छ, गीत-संगीतले हरेक उमेर समूहको भावना र विचारम असर पुर्‍याओस्। झन् बाल मस्तिष्कमा त संगीतले धेरै प्रभाव पार्नुपर्छ भन्ने ठान्छन् उनी।
 
कार्यक्रममा साना भाइबहिनीहरु अटोग्राफ लिन आउँदा उनलाई खुब खुसी लाग्छ। तर अटोग्राफ दिनभन्दा पनि एक छिन उनीहरुसँग खेलेर झन् रमाउन चाहन्छन् उनी।
 
'मेरो गीत त अहिले मात्र होइन, पछिसम्मका भाइबहिनीलाई पनि मन पर्छ होला,' उनी ढुक्क छन् यति बेला।
 
गीतको भिडियोमा उनी आफैं पनि नाचेका छन्। 'पछि नाति-नातीनालाई 'ल हेर तिम्रो हजुरबुवाले आफैं गाएर, आफैं नाचेको गीत कति रमाइलो छ' भन्दा मलाई कति खुसी लाग्ला,' यसरी पनि आफ्नो गीत सार्वकालिक हुनेमा उनी विश्वस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell